Comments Add Comment

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानी मुख्य एजेन्डा

२१ पुस, हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो ।

प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ ।

प्रदेशसभाको आजबाट सुरु हुने बैठकको मुख्य एजेन्डा प्रदेशको नाम र राजधानी हुने बताइएको छ ।  प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, प्रदेश ३ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ । केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ कायम गर्न निर्देशन दिए पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै नेताहरू रुष्ट छन् । खासगरी नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । आइतबार प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा राख्न पार्टी सचिवालयले गरेको निर्णय अनुमोदन गराउन नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसे पनि बिनानिष्कर्ष मंगलबारसम्मका लागि स्थगित भएको छ ।

उता, प्रदेश ३ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने यसबारे अझै अन्योलमा छ । पार्टी केन्द्रसँगै प्रदेश कमिटीले समेत यसबारे निर्णय गर्न सकेको छैन । कांग्रेसको प्रदेश ३ संसदीय समितिका अनुसार यसबारे छलफल गर्न सोमबार बिहान बैठक बोलाइएको छ ।

प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ । प्रदेश ३ को ११० सदस्यीय सभामा ८० सांसद् नेकपाका छन् । यो संख्या प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ । प्रदेश ३ को प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १/१ सांसद् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment