Comments Add Comment

युवा पुस्ताबाट सूचना प्रविधिको दुरुपयोग भएको छ : पूर्वराष्ट्रपति यादव

वीरगञ्जमा क्यान इन्फोटेक मेला सुरु

९ माघ, वीरगञ्ज । प्रथम राष्ट्रपति डा. रामवरण यादवले सूचना प्रविधिको दुरुपयोगलाई कम गर्दै यसबाट लाभ लिन सक्नुपर्ने बताएका छन् ।

वीरगञ्जमा बिहीबार शुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन गर्दै उनले युवा पुस्ताबाट सूचना प्रविधिको दुरुपयोग पनि भइरहेको भन्दै यस्ता विकृति कम गर्दै शिक्षामा जोड दिनुपर्ने बताएका हुन् ।

‘म त खासै अपडेट छैन । तर युवा वर्ग यसमा जोडिएका छन् । अझै जोड्दै जानुपर्छ’ उनले भने ‘तर सूचना प्रविधिको युवा पुस्ताले दुरुपयोग गर्ने गरेको पनि सुनेको छु । विकृतिलाई कम गर्दै शिक्षामा कसरी जोड्ने ? स्वास्थ्य, कृषि, यातयात, वन पर्यटन क्षेत्रको विकासमा कसरी लाभ लिने ? यसतर्फ लाग्नुपर्छ ।’

सूचना प्रविधिबाट लाभ लिएर मुलुकको विकासमा योगदान गर्न सकिने पूर्वराष्ट्रपति यादवले बताए । ‘आजको युगमा सूचना प्रविधिको बढी लाभ लिएर देशको विकासमा योगदान लिन सकिन्छ । नागरिकलाई अपडेट गरेर संसारसँग जोड्दै अगाडि बढ्नुपर्छ ।’

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले सूचना प्रविधिको विकासबाट मात्रै समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा हुने बताए । ‘यातयात लगायत हरेक क्षेत्रमा सूचना प्रविधि जोडिनुपर्छ, आधारभूत तहबाटै सूचनाप्रविधिको शिक्षा दिईनुपर्छ । टोल टोलमा डिजिटल साक्षरता अभियान चलाइनुपर्छ’ उनले भने ।

विकसित मुलुकले ४० वर्ष अगाडि सूचना प्रविधि मार्फत सेवा प्रवाह गरेकै कारण आजको स्थानमा आएको उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, नेपाली कांग्रेसका नेता जर्नादन सिंह क्षेत्री, भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदूत नितिश कुमारलगायतले प्रविधिले सहजतासँगै विकृति समेत ल्याएको बताए ।

इन्फोटेकमा विद्यार्थीले बनाएको रोबर्टद्वारा रिवन काटिएको थियो भने विद्यार्थीले नै बनाएको ड्रोन प्रदर्शन गरिएको थियो ।

माघ १३ गतेसम्म सञ्चालन हुने इन्फोटेकमा आइएसपी, कम्युटर सफ्टवेयर, हार्डवेयर, बैंकिङ, इन्स्योरेन्स, मोबाईल, एन्टीभाइरसका ६० वटा स्टल राखिएको छ ।

रोबोट प्रतियोगिता, आईटी म्युजियम, आईसीटी छात्रवृत्ति, छुट दरमा विभिन्न उपकरण मेलाको आकर्षण रहेको क्यान महासंघका महासचिव दिपेन्द्रराज सिंह गिरीले जानकारी दिए ।

मेलामा हरेक दिन सूचना र प्रविधिका विभिन्न क्षेत्रका बारेमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनीसमेत राखिएको क्यान पर्साका अध्यक्ष दीपक साहले बताए ।

२८ वर्षअघि स्थापना भएको क्यानले ६० जिल्लामा शाखा विस्तार गरिसकेको छ । यसवर्ष ७ वटै प्रदेशमा क्यान इन्फोटेकको आयोजना गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment