Comments Add Comment

खामतेलमा स्वास्थ्य शिविर तथा वित्तीय सचेतना कार्यक्रम

२१ माघ, काठमाडौं । खोटाङको तत्कालिन राजापानी गाविस हाल हलेसी तुवाचुङ न. पा. ११ मा जन्मेर हुर्किएका र हाल काठमाडौंमा विभिन्न पेशा व्यवसायहरुमा संलग्न व्यक्तिहरु आवद्ध संस्था खामतेल विकास मञ्चको आयोजनामा स्वास्थ्य शिविर तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको आयोजना तथा भीमेश्वर हस्पिटल, सैलुङका सञ्चालक भोजराज आचार्यको संयोजकत्वमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । हलेसी तुवाचुुङ नगरपालिकाका मेयर मेयर इवन राईले कार्यक्रमको उद्घाटन गर्दै मात्रिभूमिको सेवा गर्नमा मञ्चबाट सबैले पाठ सिक्नुपर्ने बताए ।

स्वास्थ्य शिविरसँगै स्वास्थ्य सचेतना कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरको मञ्चले जनाएको छ । मञ्चले आयोजना गरेको स्वास्थ्य शिविरबाट ३५० जना लाभान्वित भएका छन् ।

लाभान्वित हुनेमा अधिकांश महिला रहेको मञ्चका अध्यक्ष डा. भागवत आचार्यले जानकारी दिए । शिविरमा मुटुरोग, स्त्री तथा प्रसुती रोग र सामान्य चिकित्सा सेवा सम्बन्धी लाभ स्थानीयले लिएको अध्यक्ष आचार्यले बताए ।

मञ्चले गत वर्ष पनि सोहि ठाउँमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । गत वर्ष आँखाको उपचार समेतको सुविधा राखिएका कारण ५ सय बढीले सेवा लिएका लिए । यस पटक भने मञ्चको समन्वयमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोलीले स्वास्थ्य सम्बन्धी सचेतना गराएको थियो । सोहि अवसरमा वित्तीय साक्षरता कार्यक्रम समेत मञ्चले सम्पन्न गरेको छ ।

माछापुच्छ्रे बैंकको स्थानीय शाखाको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम समेत राखिएको हो । यस कार्यक्रममा मञ्चका अध्यक्ष डा. आचार्य तथा बैंकका ब्रान्च मेनेजर खगेन्द्र श्रेष्ठले सचेतना सम्बन्धी प्रस्तुति राखेका थिए ।

सोहि अवसरमा मञ्चले हरेक वर्ष प्रदान गर्ने गरेको नारायण नर्वदा पुरस्कार, वासुदेव डोरनिधि पुरस्कार, परशुराम टीकाकुमारी पुरस्कार, लेखबहादुर कृष्णकुमारी पुुरस्कार श्रीज्योती माविका प्रतिभाशाली तथा जेहेन्दार र गरिब विद्यार्थीलाई प्रदान गरिएको थियो । कार्यक्रमकै अवसर पारेर नवनिर्मित सरस्वती मन्दीरको समेत उद्घाटन गरिएको छ । कार्यक्रमका लागि हलेशी डेकाेर तथा मेडिसिटी अस्पतालले सहयाेग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment