Comments Add Comment

मेलम्चीको पानी असारमा आउँछ !

१ फागुन, काठमाडौं । बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्ची कहिले सम्पन्न हुन्छ ? यही प्रश्न वर्षेदेखि काठमाडौंबासीको मनमा खेलिरहेको छ ।

सरकारले पटक–पटक मेलम्चीको पानी काठमाडौं आइपुग्ने मिति सुनाइरह्यो । तर यसअघिका कुनै पनि मितिमा पानी आएन ।

गत दशैंमा त पक्का पानी काठमाडौं आइपुग्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीदेखि खानेपानी मन्त्री बीना मगरले सम्म ठोकुवा गरे । तर काम सकिने भनेर तोकिएको मिति अगावै इटलियन ठेकेदार कम्पनी सीएमसीले काम नै छाड्यो ।

सीएमसीले काम छाडेपछि सरकारले अहिले चिनियाँ कम्पनी सीनो हाइड्रोलाई बाँकी काम गर्न जिम्मा दिएको छ । चिनियाँ ठेकेदारको प्रारम्भिक कार्यसम्पादन सन्तोषजनक नै भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशकुमार खत्री बताउँछन् ।

ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीब्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने उनको दावी छ । बिहीबार समितिले मेलम्ची आयोजनाको बारेमा जानकारी दिन श्वेत पत्र पनि सार्वजनिक गरेको छ ।

असार महिनामा सुन्दरीजलसम्म पानी खसे पनि काठमाडौंका घरघरमा कहिले पानी पुग्छन भन्ने विषयमा भने अन्योल नै छ । श्वेतपत्र सार्वजनिक पछि मन्त्री बीना मगरले आयोजना कहिले भन्ने विषयमा खुलेर बोलिनन् ।

खानेपानी मन्त्री मगरले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा आयोजनाको श्वेतपत्र सार्वजनिक गरिन् । उनले सार्वजनिक गरेको श्वेतपत्रमा असारमसान्तसम्म सुन्दरीजलसम्म पानी झर्ने उल्लेख गरिएको छ ।

यद्यपि, मन्त्री मगरले पानी कहिले काठमाडौं आइपुग्छ भन्ने विषयमा भने बोल्न चाहिनन् । उनले केवल भनिरहिन्, ‘अब चाडै मेलम्चीको पानी आउँछ ।’

यस्तो छ प्रगति

आयोजनाको प्रगति सन्तोषजनक रहेको कार्यकारी निर्देशक खत्री बताउँछन् । इटालीको ठेकेदार कम्पनी सीएमसीले स्थानीय श्रमिक, आपूर्तिकर्ता, सब–कन्ट्याक्टरहरुलाई रकम नदिई गएपछि केही समय काममा अवरोध भएको कार्यकारी निर्देशक खत्रीले बताए ।

यद्यपि, अहिले भने काम रफ्तारमा अघि बढिरहेको उनको दावी छ । हालसम्म आयोजनाको ९५ दशमलव १२ प्रतिशत भौतिक प्रगतिसमेत हासिल गरिएको उनले बताए ।

उनका अनुसार आयोजनाको कुल बजेट ३१ अर्ब ३६ करोडमध्ये २८ अर्ब १२ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ । जुन ८९ दशमलव ७० प्रतिशत वित्तीय प्रगति हो ।

असारमा आउला त पानी ?

गत १२ असोजमा सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क (बाँधस्थल) निर्माणको लागि १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ । सोही कम्पनीसँग सरकारले सुरुङमार्गको बाँकी काम १२ महिनामा सक्ने गरी सम्झौता गरेको थियो ।

आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ । छिटो काम सकेमा बाँकी दिनको गणना गरेर प्रतिदिन ठेक्का रकमको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ । यदि काममा ढिलाइ भए सिनोले पनि ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यतिकै दरले जरिवाना तिर्नुपर्नेछ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

हेडवर्कसतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्नेछ ।

समय अगावै सके प्रोत्साहन बोनस पनि आउने भएकाले काम २/३ महिना अघि नै सम्पन्न हुने आयोजना प्रमुख खत्री बताउछन् । स्वेतपत्रमा आर्थिक वर्ष ०७६/७७ भित्र अर्थात आगामी असार मसान्तसम्म मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ । ‘ड्याम सक्नका लागि केही समय लाग्छ तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्छ, निर्माण कम्पनीले २/३ महिना पहिले काम सक्नेमा म विश्वस्त छु’ कार्यकारी निर्देशक खत्रीले भने ।

असार महिनामा सुन्दरीजलसम्म पानी खसे पनि काठमाडौंका घरघरमा कहिले पानी पुग्छन भन्ने विषयमा भने अन्योल नै छ ।

श्वेतपत्र सार्वजनिक पछि मन्त्री मगरले आयोजना कहिले भन्ने विषयमा खुलेर बोलिनन् । ‘स्पीडमा काम गर्नका लागि हामीले विशेष ध्यान दिएका छौं,

मन्त्रालयको टिमले विशेष ध्यान दिएको छ’ मन्त्री मगरले भनिन्, ‘हामीले धेरै वर्ष पर्खिसक्यौ, काम चाडो भन्दा चाडो सम्पन्न हुन्छ ।’

के हो मेलम्ची आयोजना ?

यो आयोजनाको सम्भाव्यता अध्ययन ०४१ तिरकै भए पनि ०५२ सालमा पहिलोपटक मेलम्ची खानेपानी लिमिटेड स्थापना गरेर काम थालिएको थियो । यसलाई जिम्मा थियो, लगानीकर्ता खोज्ने । तर, कम्पनीमार्फत काम नहुने देखेपछि ०५५ मा विकास समितिमा लगियो ।

एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ०५७ सालमा ऋण सम्झौता पनि भयो । त्यसबेला ०६४ सालमै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, त्यसअनुसार काम नै सुरु भएन । एक वर्षपछि नै एडीबीले आयोजना सम्भाब्य नभएको भन्दै हात झिक्ने धम्की दियो । ०६१ सालसम्म आइपुग्दा नोर्डिक र सिडा मेलम्चीमा लगानी गर्ने सम्झौताबाट पन्छिए ।

विकास साझेदारसँग ०६३ तिर सरकारको मनमुटाव भयो । खानेपानी संस्थानले उपत्यकाको खानेपानी व्यवस्थापन गर्न नसक्ने भन्दै बेलायती कम्पनी ल्याउने एडीबीको जोडबलका कारण विवाद चर्किएको थियो । यही क्रममा चिनियाँ कम्पनी सीआरसीसीले ०६५ सालमा ठेक्का पायो । त्यसबेला ०७० सालसम्म काम सक्ने लक्ष्य लिइएको थियो ।

तर, चिनियाँ कम्पनीको काम निकै सुस्त रह्यो । म्याद सकिन एक वर्ष मात्रै बाँकी हुँदा पनि ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले एकतर्फी रुपमा ठेक्का तोड्ने घोषणा र्गयो । यसले आयोजना निमार्ण थप अनिश्चित भयो । नयाँ ठेक्काका लागि सरकारले ठूलै मेहनत गर्नु पर्‍यो ।

पछि ०७० सालमा इटालियन कम्पनी सीएमसी बाँकी सुरुङ खन्न तयार भयो र ०७३ मा काम सक्नुपर्ने गरी सम्झौता पनि भयो । तर सीएमसी कम्पनीले पनि काम पूरा नहुँदै आयोजना छाडेको थियो । अहिले भने चिनियाँ कम्पनी सीनो हाइड्रोले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment