Comments Add Comment

हाम्रो त्यो पहिलो भ्यालेण्टाइन !

गृहिणी भएकाले शनिबार मेरा लागि विशेष हुने गर्छन् । हाटबजार जानु, तरकारी किन्नु, घर आएर भान्छाको काम गर्नु त्यसपछि लत्ताकपडा धुनु र घरको हेरचाह गर्नु आदि आदिले शनिवार व्यस्ततामै बित्ने गर्छन् ।

यसै सन्दर्भमा माघ दोस्रो साताको शनिवारे सबै काम सकेर छोरीको प्रश्ताव अनुसार स-परिवार बजारको एउटा रेष्टुरेन्टमा खाना खान निस्कियौं ।

बजारमा निक्कै चलेको त्यो रेष्टुरेन्ट पुग्दा अपरान्ह चार बजेको हुँदो हो । प्रायः टेबुल प्याक भइसकेका रहेछन । कुनामा खाली रहेको एउटा मात्रै टेबुल त्यहीँ बसेर मेनु हेर्दै खानेकुरा मगाएर खान थाल्यौं । निक्कै लामो समय पश्चात स-परिवार बाहिर निस्केकाले होला निक्कै फुर्सदिला भएको भान भइरहेको थियो ।

फाट्टफुट् गर्दै वल्लो पल्लो टेवुलमा बसेकाहरु उठ्ने र नयाँ आउने क्रम चलिरहृयो । करिब तीनघण्टा पछि अव घर जानु पर्छ भन्दै उहाँ पैसा तिर्न काउण्टरतिर लाग्नुभयो । म छोरी लिएर उठ्न लाग्दा पल्लो टेबुलमा परिचित जस्तो अनुहारले मलाई राम्ररी नियालिरहेझैं गर्दै मुस्कुरायो ।

हट्टाकट्टा शरीर निक्कै शालीन देखिने ती व्यक्तिले परिचित जस्तो हाउभाउ देखाउनासाथ प्रायः हाँसेरै बोल्ने बानी परेकी मैंले पनि चिनेजस्तै गरेर मुसुक्कै हाँसिदिएँ ।

यत्तिकैमा काउण्टरमा पैसा तिरेर बाहिर निस्कनुभएका श्रीमानले मोटर साइकल स्टार्ट गर्न लाग्नुभयो म पनि नानीको हात समातेर उनलाई हेर्दै चिनेँझै लाग्यो, बिर्सिएँ कि ? भन्दै बाहिरिन लागेँ । ढोकामा पुग्दा मलाई पनि त्यस्तै लाग्यो भन्ने आवाज आयो ‘उहाँ हतार गर्दै हुनुहुन्छ, हामी लाग्यौ है’ भन्दै निस्किएँ अनि मोटरसाइकल पछाडि बसेर घरतिर लाग्यौं ।

केही अगाडि बढेपछि चिनजानको मान्छे थियो कि कसो निक्कै समय लगायौ नि ? भनेर गफगाफ सुरु गर्नुभयो । खोई चिनेजस्तो लाग्यो उसले पनि हाँसेर बोलाउन खोज्यो, तर ठम्याउनै सकिनँ भनेर जवाफ दिएँ ।

‘कतै भुपु मायालु त थिएन ?’ भनेर जिस्क्याउन थाल्नुभयो ।

‘हैट, छिटो अगाडि बढ्नु न मलाइ मात्रै कत्ति जिस्क्याउन सक्नु भा, सधैं यसै गर्नुहुन्छ’ मेरो जवाफ थियो ।

प्रायः हामीबीच यस्तो रेला ठट्टा भइरहन्छ । एकले अर्काको दिनचर्याप्रति त्यत्ति धेरै चासो पनि गर्दैनौं । उहाँ नजानिँदो तरिकाले मलाई जिस्क्याउने र घोचपेच गरिरहनुहुन्छ । मौका परे चौका हान्न म पनि पछि पर्दिनँ । ठट्टा जति हुन्छन्, एक अर्काका सामुन्ने नै हुन्छन् ।

म साँझ र बिहान एकपटक समाजिक सञ्जाल र चलेका अनलाइन न्युज पोर्टलहरु भ्याएसम्म हेर्ने कोशिस गर्छु । उहाँ प्रायः कम्प्युटरमा आफ्नै काममा व्यस्त रहुनुहुन्छ ।

त्यो साँझ बाहिरबाटै खाना खाएर आएकाले त्यत्ति चटारो थिएन । समाचार पोर्टलहरु हेरेर फेसबुक खोल्दा केही नयाँ रिक्वेष्ट देख्छु । अनि चिनेजानेकालाई साथीको लिष्टमा थप्दै साथीभाइसँग च्याटमा कुराकानी हुन थाल्छ ।

त्यही बखत अर्को एउटा रिक्वेष्ट आउँछ ।

म्याचुअल फ्रेण्ड हेर्दा सबै आफन्त र साथीभाइ देख्नासाथ एक्सेप्ट गरे । केहीबेरपछि नमस्कार भन्दै म्यासेज आयो । मैले केही उत्तर दिइनँ । फेरि नचिन्या हो ? म अघि रेष्टुरेन्टमा बोलेको मान्छे हो ।

ए हो ? मलाई चिनेजस्तो चाँहि लाग्यो अघि समय मिलेन, अब चिनाजानी गरौं न त ।

यो जवाफ फर्काउन नपाउँदै फेरि उत्तर आयो, हैट कत्ति ठूलो हुनसक्या, म त तिमीलाई सानैदेखि राम्ररी चिन्छु । आजकल झनै राम्री भइछौ, शरीर कत्ति मिलेको, दन्त लहर उत्तिकै मिलेका, कत्ति राम्री छौ है तिमी ।

यी र यस्ता अनेकन प्रसंशासहितका जवाफ त्यही एकाउण्टबाट आइरहे । अझै अब चिन्यौ तिमीले मलाई ? बिहे गरेपछि ठूलो मान्छे भएछौ है साथीभाइ सबैलाई बिर्सिन सक्ने ? भन्दै अफलाइनमा पनि अधिकतम म्यासेज छोडिरहन थाल्यो ।

अब मलाई पनि कोचाँहि रहेछ त ? फेरि, सँगै रहेका श्रीमानजीले यतातिर नजर डुलाउनुहोला कि ? भन्ने त्रास पनि त्यही आइडीवाट आएका प्रश्नको जवाफ दिँदै जाँदा मलाई यत्तिका पिछा किन गरिरहन्छ ? उ को हो त ? भन्ने जिज्ञासा उत्पन्न बढ्न थाल्यो ।

अनलाइनमा नबोले पनि अफलाइनमा उसका हरेक प्रश्नको जवाफ दिँदै परिचय माग्न थालें । तर, कहिल्यै उसको परिचय आएन ।

एक सातापछि गुड मर्निङ, गुड नाइट, शुभ दिन, आदि इत्यादि हुँदै फूलका स्टिकरहरु आउन थाले । अब मलाई त्यो मान्छेसँग शंका लाग्न थाल्यो । तर, उसले पठाएका म्यासेजमा त्यत्ति आपतिजनक बस्तु छैनन् । अनि मलाई राम्ररी चिनेझैं गर्छ । खराबै त नगर्ला कि ? भन्ने झिनो आशा बाँकी छ ।

यत्तिकैमा अर्को साँझ पुनः उसले म्यासेज पठायो । धेरै दिन सरप्राइज राख्यो भने राम्रो हुन्न, त्यसैले तिमीसँग भेटेरै आफूलाई चिनाउँछु, भन अब कहाँ भेटौं ?

भो, मलाई धेरै सताउनुपर्दैन चिनाए भैगो नि । नत्र बिहान खाना खानेगरी घरैमा आउनु भन्दै लोकेसन दिएँ । अरु ठाउँ जहाँ भए नि आउँछु, तर पहिल्यै घरचाहिँ आउदिनँ भन्ने जवाफ आयो । हुँदाहुँदै निक्कै आत्मीय कुराकानी गर्न थाल्यो । उ मेरा बारेमा यत्ति धेरै जानकार छ, तर म उसलाई ठम्याउनै सकिरहेकी छैन ।

अन्ततः मैले पनि उसको प्रस्तावमा भेट दिने सहमति जनाएँ । ठाउँ छनोट गर्ने प्रस्ताव आयो । म बच्चाकी आमा, घर छोडेर धेरै टाढा जाने कुरो हुँदैन । प्रायः नानी वा श्रीमानकै साथमा हुन्छु । फेरि, अपरिचितहरुले बोलाउँदा एक्लैदोक्लै टाढा जानु सुरक्षाका दृष्टिकोणले त्यत्ति राम्रो हुन्न भनेर जवाफ दिएँ ।

मलाई त्यति टाढाको सम्झ्या हो ? लु अरु ठाउँ शंका लाग्छ भने अस्ति देखादेख भएकै ठाउँमा आउ, त्यँही भेटेर चिनाउँछु पो भन्छ ।

उसले यत्ति धेरै जिद्दी गर्छ कि म अब कुरा काट्नै नसक्ने अवस्थामा पुग्छु । जोसुकै होस् भेट गर्दैमा के फरक पर्ला र ? फेरि धेरै नै पिछा गरिसक्यो, खराब नियतको रहेछ भने ? होइन, सबै पुरुष त्यस्तो खराब नियतका हुँदैनन् । कतै आफन्त नै भएर पनि मैले बिर्सेकी त होइन ? सयौं प्रश्न मनमा खेल्छन् । अनि समाजमा भइरहेका हत्या हिंसा र बलात्कारका घटनाको प्रतिविम्व मस्तिष्कमा झल्किन्छ ।

यत्तिकैमा भोलि भ्यालेन्टाइन डे पनि हो । पुरानो मित्रता नवीकरण पनि हुन्छ, जसरी आउ है भन्ने प्रस्ताव आयो । अब जोसुकै भए पनि एक पटक भेटेरै छोड्छु भन्ने अठोट लिएर बच्चाबच्चीलाई स्कुल त श्रीमानलाई अफिस पठाएर मध्य दिउँसो त्यही रेष्टुरेन्ट पुग्ने निश्कर्षमा अगाडि बढें ।

बाटोमा जाँदा मनमा अनेकन तर्क-वितर्कहरु खेले । को होला ? के भन्ला ? अनि चिनेजानेकाहरुले भेटिहाले के जवाफ दिने ? इत्यादि कुरा खेलाउँदै पूर्वनिर्धारित लोकेसनमा पुगें ।

त्यहाँ पुग्दा पहिलेको अनुहार देखिएन र भेटिएन । फोन नम्बर साटासाट गरेको थिएन । डाटा अन गरेर म्यासेज हेर्दा १०/१५ मिनेट ढिला हुने भो, पर्खंदै गर्नु है डार्लिङ भनेर लेखेको रहेछ ।

झण्डै आधाघण्टा पश्चात मोटरसाइकलमा हुँइकिएर एउटा अधबैंशे आइपुग्छ । नयाँ पोशाक, नयाँ हेलमेट, खुब सानसँग अगाडि आउँदा म लाजले निथु्रक्क भएँ । सलले मुख छोपेर निहुरमुण्टी लगाएर बसें । उ निक्कै हाउभाउका साथ रेष्टुरेन्टको टेबुलमा आइपुग्यो ।

मैले कसलाई भेट दिनुपर्ने हो, उ कस्तो स्वभावको छ र को हो ? भन्ने जिज्ञासा मैले राखिरहे पनि उसमा त्यो जिज्ञासा थिएन । मेरा सामुन्ने आएर हेल्मेट झिक्दै ओ डार्लिङ आई लभ यु भन्दै मेरो हात समाउन आइपुग्यो ।

एकछिन दुबैजना निःशब्द भयौं । आँखामा आँखा जुधेपछि दुबैजनाका खित्का छुटे । बेस्सरी हाँस्यौं । अनि उहाँले भन्न थाल्नुभयो, यत्तिका दिनसम्म च्याटमा झुलाएको थाहा पाइनौ ? म तिम्रै श्रीमान् ।

‘रेष्टुरेन्टमा खाना खाँदा भेटेको मान्छे को थियो, उ कहाँ पुग्यो, थाहा छैन । त्यहाँबाट निस्केपछि उसको अनुहार मिल्ने फोटो राखेर फेसबुक एकाउण्ट खोलेर मैले नै जिस्क्याएको थिएँ …..अब आफ्नै मान्छेसँग लाजले भुतुक्कै भएकी ? मैले कपाल जगल्ट्याउन आफ्ना हात उहाँको टाउकोमा पुर्‍याएँ । उहाँले हात समातेर चलमलाउन दिनुभएन ।
केहीबेरपछि दुबैजना सम्हालिँदै नास्ता गरेर एउटै मोटरसाइकमा घरतिर हुइँकियौं ।

यस्तै रहृयो हाम्रो अविस्मरणीय भ्यालेन्टाइन । जुन, हामी दुवैजना कहिल्यै बिर्सन सक्दैनौं ।

-फिदिम ४, पाँचथर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment