Comments Add Comment
भगवान् शिवको दार्शनिक अर्थ :

लिंगपूजा पश्चिमबाट भित्रिएको संस्कार हो

विश्वले ठूलो वैज्ञानिक उपलब्धी हासिल गरिसक्यो, हामी शिव ठूलो कि विष्णु भन्नेमा अल्झिएका छौं

मान्छेजस्तै भगवानहरुको पनि हिट र फ्लप हुने श्रृङ्खला वैदिककालदेखि नै चल्दै आएको पाइन्छ । कुनै समय सुपर हिट रहेका देवराज इन्द्र यतिबेला गुमनाम प्रायः छन् । यदाकदा अरु भगवानहरुका साथमा पुज्नेबाहेक इन्द्रलाई आराधना गर्नेहरुको संख्या अरुको तुलनामा कम छ । सोही समयमा छायाँमा परेका शिव पछिल्लो समय धेरैको प्रिय बन्ने गरेका छन् ।

सुरुमा विज्ञानका बारेमा चिन्तन गर्नेहरुको संख्या कम थियो । त्यसैले शिव गुमनामजस्तै भएका थिए । भक्तिवादमा रमाउनेहरुले शिवलाई त्यति महत्व दिएनन् । जब हामीहरु विज्ञानलाई प्रधान मान्न थाल्यौं, त्यसपछि विस्तारै सुरु भयो शिवको सुपरहिट यात्रा ।

वैदिक काल (इसापूर्व १५०० देखि १०००) को समयमा ‘रुद्र’लाई एक शक्तिशाली देवताका रुपमा व्याख्या गरिएको थियो । शिवको नाम नै रुद्र हो । यद्यपि त्यो समयमा मात्रात्मक दृष्टिकोणबाट हेर्दा ऋग्वेदमा गौण देवताका रूपमा शिवको वर्णन पाइन्छ । उनी विज्ञानका रचयिता थिए । शास्त्रदेखि शस्त्रसम्मको रचना गर्ने हैसियत भएका व्यक्ति पनि थिए उनी । त्यसैले शिव शक्तिशाली देवता कहलिए ।

विश्वले ठूला ठूला वैज्ञानिक उपलब्धिहरू हासिल गरिसक्दा पनि हामी अझै अन्योलमा छौं । हामी शिव ठूलो कि विष्णु ठूलो भन्ने कुरामा नै अड्किएर बसेका छौं

तर, भक्तिवादले गाँजेको त्यो समाजमा शिवलाई आत्मैदेखि महत्व दिनेहरुको संख्या भने कम थियो । श्वेताश्वेतरोपनिषदमा भनिएको छ–

एको रुद्रो न द्वितीयाय तस्युः

य इमाल्लोकानीशत ईशनीभिः ।।

अर्थात् ‘रुद्र एक मात्र छन् । अरु कोही दोस्रा रुद्र छैनन् । रुद्र आफ्नो शक्तिबाट नै सबै मानिसहरुमाथि शासन गर्ने गर्छन् ।’

त्यस्तै, अथर्ववेदमा भनिएको छ :

‘स्तुहि श्रुतं गर्तसंद जनानां

राजानं भीममुपहलुमुग्रम् ।

मृडा जरित्रे रुद्र स्तवानो

अन्यमस्मत्ते निवपन्तु सैन्यम् ।। ((अथर्व १८.१.४०)

यसरी उग्रवीर एवं शक्तिका केन्द्रविन्दू, प्रलय मुख्यकर्ता र कारक पनि, ज्ञानीहरुका पनि ज्ञानी । यस्तै गुणहरुको व्याख्या गर्दै शिवको बारेमा स्तुति गरिएको पाइन्छ ।

वैदिक कालपछि महाकाव्यकालमा रामायण जस्ता ग्रन्थहरु रचना भए, जसमा रावणजस्ता विद्वान एवं दश विद्याका ज्ञाताहरुले पनि शिवको स्तुति गर्ने गरेको उल्लेख गरिएको छ ।

तर, शिवको अनवरत यात्रा भने अशोकको शासनकालपछिका शासकहरुको समयमा केही फस्टाएको र आठौं शताब्दीमा शंकराचार्यले उनको कीर्तिलाई धेरै फैलाएको पाइन्छ ।

सुर र असुरहरुको कथा

सुर र असुरका विषयमा पनि केही मतभेदहरु पाइन्छ । तर, सुर र असुरहरु भनेका एकै दाजुभाइहरु थिए भन्ने कुरा धेरै विश्वसनीय मान्न सकिन्छ । उनीहरु देवीको कोखबाट जन्मिएको कुरा धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

उनीहरुबीच भूमिको विषयमा भागबण्डा भयो । असुरहरुको भाग मरुभूमितिर पर्‍यो । उनीहरु त्यतै बसोबास गर्ने हुँदा उनीहरु धेरै काला हुन थाले । कोही सजिलो एवं उब्जाउ योग्य भूमि भएकाले पृथ्वीको भूमध्यरेखा भन्दा माथिल्लो भागमा नै बस्न थाले । विस्तारै मरुभूमिमा जानेहरु कालो बन्दै गए भने माथिल्लो भागमा बस्नेहरु गोरा हुँदै गए । देवलोकमा बस्नेहरुले अरुभन्दा आफूलाई पृथक मान्न थाले । यसैबाट सुर र असुरहरुबीचको दुरी बढ्दै गयो ।

लिंगपूजा र शिवको स्तुतिको सिलसिला

 

अहिले भगवान शिवलाई पूजा गर्ने बेलामा हामीहरु लिंगको स्वरुपमा पूजा गर्ने गर्छाैं । तर, यसको सिलसिला हेर्ने हो भने यसलाई हामीले पश्चिमबाट नै लिएको संस्कारका रुपमा मान्ने गर्छाैं । विभिन्न इतिहासकारहरुको मत अनुसार संसारका प्राचीन सभ्यताहरुमा पनि सृष्टिको प्रतीक लिंग पूजा गर्ने चलन थियो ।

प्राचीन इजिप्टमा लिंग पूजा गर्ने प्रचलन रहेको कुरा रिचर्ड गोफले आफ्नो पुस्तक ‘कम्प्यारिटिभ भ्यु अफ दि एन्सियन्ट मनोमेन्ट अफ इण्डिया’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।

यस ग्रन्थका अनुसार एसियाटिकहरुले लिंगलाई सृष्टिको प्रतीकका रुपमा मान्ने गरेका थिए । मेसोपोटामियामा पनि सृष्टिकर्ता ब्रह्माको रुपमा लिंगको पूजा गर्ने गरिएको पाइन्छ ।

ऋग्वेदमा ‘शिश्नदेवाः’ भन्ने शब्द उल्लेख गरिएको छ । यसले लिंग पूजकलाई संकेत गरिएको बताउने गरिन्छ । पहिले लिंग पूजा गर्ने प्रचलन अनार्यहरुमा मात्रै रहेको भए पनि पछि आर्यहरुमा यो परम्परा फैलिएको मान्ने गरिन्छ ।

बाध्यताले बनेका वैज्ञानिक

विशेष गरी किरातहरु पूर्वी दक्षिणी भेग अर्थात् चीनतिरबाट आएका हुन् । उनीहरु पहिलेदेखि नै विज्ञान प्रविधितिर चासो राख्ने र त्यसैमा चिन्तन गर्ने स्वभावका थिए । उनीहरुलाई बाध्यता पनि थियो । उब्जनी कम हुने भएपछि उनीहरुले उब्जनीको लागि अनेक उपायको खोजी गर्न पुगे । त्यसको ठीक विपरीत आर्यहरु भने भक्तिवादको पछि लागेर ‘भगवान हामीलाई स्वर्गलोक लैजाऊ’ भन्दै स्तुति गर्न थाले ।

यो भूमि उर्बराशक्तिको हिसाबले एकदमै उर्बर थियो । काम भएका बेलामा काममा लाग्यो, बाँकी समय भगवानको स्तुतिमा लाग्ने हुँदा हामीले केही पनि नयाँ गर्न सकेनौं । सम्पन्नताले मानिसलाई कमजोर बनाउँछ भन्ने उक्तिका उदाहरणहरु हौं हामी ।

जातिप्रथाका कारण गुमेको ज्ञान

मोदनाथ प्रश्रित

हामी ज्ञानको हिसाबले प्राचीन कालदेखि नै अगाडि थियौं । तर, जो प्राविधिक क्षेत्रमा लागेर नयाँ खोजी गर्ने सम्भावना बोकेका व्यक्तिहरु छन्, उनीहरुलाई हामीले शास्त्र पढ्नै दिएनौं । बरु उनीहरुलाई अछुतको संज्ञा दिएर झनै हतोत्साहित गरायौं ।

यो व्यवस्था पनि पहिले त राम्रो सोचाइ बोकेर नै आएको थियो । तर, यहाँ सामन्तवादले आफ्नो रोजगारी बिग्रन्छ भनेर छुवाछुतलाई आफू अनुसार व्याख्या गरे । त्यसैले पनि हामीले शास्त्रीय मान्यताअनुसारको वैज्ञानिक प्रयोगलाई निरन्तरता दिन सकेनौं । भएजति काम तिनीहरुलाई नै लगाउने, फेरि उनीहरुलाई नै जहिल्यै सानो बनाइराख्ने चलन पहिलेदेखि नै सुरु भयो । यही मूल समस्याको जड हो । यही समस्याका कारण विश्वले ठूला ठूला वैज्ञानिक उपलब्धीहरु हासिल गरिसक्दा पनि हामी अझै अन्योलमा छौं । हामी शिव ठूलो कि विष्णु ठूलो भन्ने कुरामा नै अड्किएर बसेका छौं ।

भारत वर्षमा भक्तिवाद

भक्तिवाद एवं कर्मकाण्ड विशेष गरी शुक्लयजुर्वेदबाट सुरु भएको हो । ब्रह्मवर्तमा बसोबास गर्ने आर्य समुदायहरु सुविधाको खोजी गर्दै त्यहाँबाट पूर्वतिर आउन थाले । त्यहाँबाट यता आउँदा उनीहरुमध्ये कोही मरुभूमितिर पुगे भने कोही शिवको खोजी गर्दै उत्तरतिर पुगे ।

शिवको खोजीमा उत्तरतिर आउनेहरुले विस्तारै यही भूमिमा आएर मिथिला राज्यको सुरुवात गरे । त्यसपछि ऋषि यज्ञवाल्क्य यहाँ आए । त्यतिबेला यहाँ कृष्णयजुर्वेदको धेरै महत्व थियो । त्यो शास्त्र केही हिंसात्मक थियो । तर, यो शुक्ल यजुर्वेदभन्दा धेरै वैज्ञानिक थियो ।

शिवमा आएको वैज्ञानिक सोचलाई भन्दा पनि भक्तिवादी सोचलाई शीरोधारण गरेर अघि बढ्दा हामीहरु अघि बढ्न सकेनौं । मनबाट फूल अक्षता चढाउने संस्कारभन्दा पनि शिवको वैज्ञानिक आविस्कारलाई बुझ्नतर्फ लाग्ने हो भने यही भूमिमा शिवले हामीलाई पर्याप्त अन्वेषणहरु दिएका छन्

एकातिर यो हिंसात्मक रहेको र अर्काेतिर कालो वर्णका वेदव्यासहरुले मान्दै आएको शास्त्र भएकोले उनीहरुले अर्काे शुक्लयजुर्वेदको सुरुवात गरे । यो धेरै कर्मकाण्डलाई विश्वास गर्ने स्वरुपको थियो । त्यसैको पछि लागेर हामीहरु जय जयकारमा नै रमाउन सुरु गर्‍याै‌ं । हामीहरु धर्ममा नै लुटुपुटु भएर वर्ण व्यवस्थालाई अन्धो भएर स्वीकार्न थाल्यौं । जसका कारण प्राविधिकहरु हेपिन पुग्दा शिवको वास्तविक ज्ञान हामीले धेरै गुमाउन पुग्यौं ।

शिवले दिएको विज्ञान र कला

बारबार शत्रुपक्षसँग युद्ध भइरहने बेलामा देवताहरुलाई धनुर्विद्याको ज्ञान तिनै शिवले दिन्छन् । वाणीको शुद्धीकरण गर्न वैज्ञानिक आधार खोज्ने पाणिनीले तिनै शिवबाट पाए ‘अइउण्, ऋलृक् ….’ को मन्त्र । विश्वकर्माको विज्ञान, आचार्य पतञ्जलिको योग होस् या त जति पनि प्राचीन प्रविधिका पिता नै किन नहुन्, यी सबै शिवका रचनाहरु हुन् ।

शंकराचार्यले शिवको मार्ग बताउँदा त्यही विज्ञानलाई टेकेर सिकाए । त्यसैले त ३२ वर्षको उमेरमा नै सिंगो भारतवर्षलाई शिवको अनुयायी बनाउन सफल भए । यो सबै शिवको विज्ञान कलाको नतिजा थियो । यही विश्वका सम्भवतः पहिला वैज्ञानिक हुन् शिव । साथमा प्राविधिक एवं वैज्ञानिकहरुका मार्गदर्शक पनि ।

सभ्यताले जरा नगाडिसकेको बेलामा एउटै परिवारका सदस्यहरुबीच यौन सम्पर्क हुने गरेको परम्परा तोड्ने क्रान्तिकारी पनि हुन् शिव । एउटा किरात सम्प्रदायका भगवान शिवले आर्य सम्प्रदायकी सुपुत्री सतिदेवीसँग विवाह गर्दा ठूलै तिरस्कार भोग्नुपरेको कुरा नेपाली जनमानसमा सर्वविदितै छ ।

ज्ञानको भन्दा पनि भक्तिका पछि कुद्नेहरुले शिवको त्यो वैज्ञानिक सोचलाई कहिल्यै सम्मान गर्न सकेनन् । शिव सधैंभरि उपेक्षामा नै बाँचिरहे । तर, उनका सिर्जनाहरु र उनको वैज्ञानिक दृष्टिकोणलाई तत्कालीन समयमा पनि धेरैले अवलम्वन गरे ।

कोही पनि बिरामी नहुन् भनेर योग र प्राणायामको सुरुवात गर्ने पनि शिव नै हुन् । बिरामी भइहालेमा उपचार गराउनका लागि जडीबुटी विज्ञानको व्याख्या गर्ने पनि शिव नै हुन् । रामलाई नै लालायित बनाउने लंकाको दरबार बनाउन सिकाउने पनि शिव नै हुन् ।

एउटा कठिन परिस्थितिबाट गुज्रिएर आएका शिवमा आएको वैज्ञानिक सोचलाई भन्दा पनि भक्तिवादी सोचलाई शीरोधारण गरेर अघि बढ्दा हामीहरु अघि बढ्न सकेनौं । मलाई त लाग्छ, मनबाट फूल अक्षता चढाउने संस्कारभन्दा पनि शिवको वैज्ञानिक आविस्कारलाई बुझ्नतर्फ लाग्ने हो भने यही भूमिमा शिवले हामीलाई पर्याप्त अन्वेषणहरु दिएका छन् । हामीलाई अरुको केही आवश्यक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment