Comments Add Comment

प्राविधिक समस्याले रोकिएको श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि उड्यो

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको हवाईजहाज । फाइल फोटो

१० फागुन, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारी गर्दा प्राविधिक समस्या देखिएपछि रोकिएको श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि साविककै गन्तव्यमा उडेको छ ।

एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या समाधान गरेर १०ः५१ मा जहाज नेपालगञ्ज प्रस्थान गरेको जानकारी दिए । सो जहाज शनिबार बिहान साढे आठ बजे काठमाडौंबाट नेपालगञ्ज उड्ने तालिका थियो ।

यात्रुहरु जहाजमा बसिसकेपछि उड्ने तयारीका लागि पाइलटले इन्जिन स्टार्ट गरिसकेका थिए । तर एक्कासी ‘सिरियस टेक्निकल प्रोब्लम आयो’ भन्दै एयरहोस्टेसले हतार–हतार यात्रुहरुलाई ओरालेका थिए ।

प्राविधिक समस्या के थियो भन्नेबारे भने एयरलाइन्सले खुलाएको छैन ।

महाप्रवन्धक मानन्धरले हवाईजहाजहरुमा प्राविधिक समस्या आउनु सामान्य भएको बताए । ‘यस्ता समस्याहरु आइराख्छन् र समाधान गरेर उडाइन्छ । आज भएको पनि त्यस्तो ठूलो समस्या केही पनि होइन,’ उनले भने ।

श्री एयरलाइन्सका अधिकारीहरुले, आफूहरुले सुरक्षालाई प्राथमिकता दिने गरेको भन्दै आज यात्रुहरुलाई परेको असुविधाप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment