Comments Add Comment

अमेरिकी अर्थतन्त्र २४ प्रतिशतसम्म घट्ने अनुमान

१२ चैत, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अमेरिकाको अर्थतन्त्र खस्किने भएको छ ।

अहिले अमेरिकाभर कारोबार ठप्प छ । व्यवसायिक तथा वित्तीय गतिविधिको केन्द्र मानिएको न्यूयोर्कको अवस्था चिन्ताजनक छ । अझै कोरोना भाइरसको महामारी कति फैलिने हो यकीन छैन ।

यसैबीच गोल्डम्यान स्याख्सले यस वर्षको दोस्रो त्रैमासमा अमेरिकाको अर्थतन्त्रमा २४ प्रतिशतसम्म गिरावट आउनसक्ने चेतावनी दिएको छ । त्यस्तै अक्सफोर्ड विश्वविद्यालयका अमेरिकी अर्थशास्त्री ग्रेग डेकोले अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा शून्य दशमलव ४ प्रतिशत घट्न सक्ने बताएका छन् ।

उनका अनुसार दोस्रो त्रैमासमा अमेरिकाको अर्थतन्त्रमा १२ प्रतिशतसम्म गिरावट आउन सक्छ । उनले अप्रिलसम्ममा अमेरिकामा बेरोजगार मानिसको संख्या ६५ लाख पुग्न सक्ने बताएका छन् ।

गोल्डम्यान श्याख्सले भने अहिलेसम्म अमेरिकामा बेरोजगार मानिसको संख्या २२ लाख पुगिसकेको दाबी गरेको छ ।

अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको कारण न्यूयोर्कसहितका सबैजसो प्रमुख शहरलाई लकडाउन गरिएको छ । न्यूयोर्कमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द छन् । अमेरिकामा अहिलेको जस्तो आर्थिक संकट यसअघि नदेखिएको बताइएको छ ।

मोर्गन स्टेनले बैंककी मुख्य अर्थशास्त्री एलन जेन्टनरले यसअघि कुनै पनि मन्दीको अवस्थामा मानिसलाई बाहिर जानबाट रोक नलगाइएको बताइन् । उनले यसको असर ठूला भन्दा पनि साना कम्पनीमा पर्ने उल्लेख गरेकी छिन् ।

उनका अनुसार जनवरीसम्म पूर्ण गतिमा अघि बढेको अमेरिकाको अर्थतन्त्र अहिले रोकिएको छ । रेटिङ एजेन्सी क्रेडिट स्वीसका अनुसार निकट भविष्यमा आर्थिक आँकडा केबल खराब मात्र नभई अकल्पनीय पनि हुनेछ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मुन्सिनले पनि अहिलेको अवस्था जारी रहे अमेरिकाको बेरोजगारी २० प्रतिशत पुग्न सक्ने बताइसकेका छन् ।

डेकोका अनुसार अमेरिकाको साउदी अरेबियासँगको तेल विवादको कारण अहिले तेलको भाउ निरन्तर घटिरहेको छ । यसले अमेरिकाको अर्थतन्त्र थप कमजोर बन्न पुग्ने उनको भनाइ छ । आगामी दिनमा अमेरिकाको अर्थतन्त्र थप कमजोर बन्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment