Comments Add Comment

होम क्वारेन्टाइनमा बस्दा मोटाउन थाले पुष्प

कोरोनाबाट सुरक्षित रहनको लागि सरकारले लकडाउन गरेको आज पाँचौं दिन । नायक पुष्प खड्का भने सात दिनदेखि लकडाउनमा छन् । एक हप्तासम्म घरभित्रै कैद हुँदा पनि पुष्प दिक्दार भने भएका छैनन् । भाइ-बहिनी साथमै भएकाले उनलाई दिन बिताउन सजिलो भएको उनी बताउँछन् । पुष्प भन्छन्, ‘भाइ-बहिनीसँग तास खेल्ने, लुडो खेल्ने, कोठा सफा गर्ने, खान मन लागेको परिकार बनाएर खाने । यत्तिकैमा समय बितिहाल्छ ।’

नियमित जिम गर्ने पुष्पको त्यो रुटिन टुटेको छ । अहिले खाने र आराम गर्ने मात्र भएकाले मोटाउन थालेको अनुभव गरेका छन् । ‘सात दिनमा आज बल्ल पुसअप गरेँ । नत्र त केही गरेकै थिइनँ,’ उनले भने । अहिले मोटाएको शरीर पछि सुगठित बनाउन मेहनत गर्ने योजना उनको छ ।

पुष्पलाई चलचित्र हेर्न खुबै जागर चल्छ । फुर्सद मिल्नासाथ ‘नेटफ्लिक्स’ खोलेर चलचित्र हेर्न सुरु गर्छन् । पुस्तक पनि उनको साथी हो । पुष्प भन्छन्, ‘अहिले म महेश्वर पन्तको ‘फुर्लुङ’ पढिरहेको छु ।’

पुष्पको बुबा‍-आमा भारतमा बसोबास गर्छन् । बुबा-आमासँग उनी भिडियो कल गरिरहेका हुन्छन् । दुबैले एक-अर्कालाई सुरक्षित रहन आग्रह गर्छन् । अष्ट्रेलियामा रहेका भाइलाई पनि उनी भिडियो कल गरेर खबर बुझिरहेका छन् ।

कैलालीमा रहेकी पुष्पको दिदी केही दिन अगाडि रुघाखोकी र ज्वरोले सिकिस्त भइन् । उनले आफूलाई कोरोना लागेको आशंका समेत गरिन् । लक्षण कोरोनाको जस्तै भएकाले सार्वजनिक गाडी चढेर अस्पतालसम्म जाने हिम्मत पनि उनलाई आएन ।

पुष्पले दिदीलाई डाक्टरसँग कुरा गराए । डाक्टरको कोरोना नभएर मौसमी रुघाखोकी भएको बताएपछि मात्र पुष्पको दिदी ढुक्क भइन् ।

पुष्प भन्छन्, ‘काठमाडौंमा त यस्तो डर छ । झन् नेपालका सुदुर जिल्लाहरुमा के अवस्था होला ? त्यहाँ कोरोनाको लक्षण नै नचिनेर मान्छेहरुको आत्मविश्वास गिरिरहेको छ । त्यो कुरा कसले बुझ्ने, कसले बुझाउने ?’

अहिले पुष्प आफैँ त्यसबारे बुझाउन तर्फ लागेका छन् । आफ्ना-आफन्तलाई फोन गरेर कोरोनाको बारेमा बुझाईरहेका छन् । पुष्प भन्छन्, ‘यसको लक्षण र यसको असरबारे बुझेको जति मैले सिकाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment