Comments Add Comment

कोरोना अस्पतालका डाक्टरको पीडा : घरबेटीले घर नआऊ भने, होटेलमा बसेको छु

२० चैत, बुटवल । कपिलवस्तु स्थायी घर भएका डाक्टर विनोद बरई तिलोत्तमा नगरपालिकाको जानकीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल अफिसर उनी एक वर्षदेखि तीनतले घरको तेस्रो तलामा बस्दै आएका थिए । घरबेटीको परिवारले डा. बरईलाई निकै सम्मानजनक व्यवहार गर्थे ।

तर जब कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि बुटवलमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आयो, घरबेटीको व्यवहार परिवर्तन हुन थाल्यो । डा. बरई कोरोना विशेष अस्पतालमै मेडिकल अफिसरको रुपमा काम गर्न थालेको थाहा पाएपछि त घरबेटीले घरमा नआउन भन्न थाले ।

‘पाँच दिनअघि ड्युटीमै रहेका बेला अब एकाध महिना घर नआउनू भनेर घरबेटीको फोन आयो,’ डा. बरईले अनलाइनखबरसँग भने, ‘घरबेटीले नै नआउन भनेपछि अर्काको घरमा कसरी जाने ? बुटवलकै एउटा होटेलमा बस्न थालें ।’

तर, घरबेटीको ज्यादती रोकिएन । डा. बरई बुधबार कपडा लिन फ्ल्याटमा मात्र के पुगेका थिए, घरबेटीका छोरा ढोकामै आएर घर नआउनू भन्दाभन्दै किन आएको भन्दै हप्काउन थाले। ‘म कोठामा पुग्नेबित्तिकै घरबेटीका छोरा आएर अमानवीय व्यवहार गरे,’ डा. बरई भन्छन्, ‘मैले छुट्टै फ्ल्याट हो । म सुरक्षित तरिकाले बसेको छु, यसरी आत्तिनुपर्दैन भनेर सम्झाउन खोजे पनि बुझेनन् ।’

एकातिर बिरामी चेकजाँचको तनाव, अर्कोतिर घरबेटीको व्यवहारले आफू तनावमा परेको डा.बरईले दुखेसो पोखे । ‘घरबेटीले कोरोनाको समस्या सकिएपछि मात्र घरमा आउनू । अन्यथा समान लैजानुपर्ने भए आजै लिएर जानू भनेका छन्,’ उनले भावुक हुँदै भने, ‘जोखिम मोलेर काम गर्ने हाम्रो मनोबल उचो बनाइदिनुपर्नेमा यस्तो व्यवहार गर्दा स्वाभिमानमा चोट लाग्दोरहेछ ।’

डा. बरईले आफू मात्र नभई अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि घरबेटीहरुले यस्तै व्यवहार गर्न थालिसकेको सुनाए ।

हेल्थ असिस्टेन्ट संघको खेद

चिकित्सक बरईमाथि घरबेटीले दुर्व्यवहार गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपाल रुपन्देही शाखाले खेद व्यक्त गरेको छ । संघका अध्यक्ष राजेश ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने चिकित्सकलाई घरबेटीले घर प्रवेश नगर्न भन्दै गरेको अमानवीय व्यवहारले मनोवैज्ञानिक चोट पुर्‍याएको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । संघले आगामी दिनमा यस्तो कार्य नगर्न आग्रह गरेको छ । डा. बरई संघका सदस्य पनि हुन् ।

गल्ती भयो, पश्चाताप छ : घरधनी

डा. बरईमाथि दुर्व्यवहार गर्दै घर नआउन भनेका घरधनी सुरज पन्थले छिमेकीको भनाइ र उक्साहटमा लागेर आफूले डाक्टरमाथि गर्न नहुने व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

‘छिमेकीको भनाइमा लागेर मैले उहाँमाथि गर्न नहुने व्यवहार गरेको महसुस भएको छ,’ उनले भने, ‘गल्ती भयो, अहिले पछुतो लागेको छ किन त्यस्तो बोलेछु भनेर ।’

क्षमा माग्नका लागि डा. बरईलाई बिहीबार दिउँसो फोन गरेपनि नउठेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment