
न रोप्न झन्झट, न स्यहार्न । न धेरै ठाउँ चाहिने, न गोडमेल गरिरहनुपर्ने । करेसा बारीको एक छेउमा रोपिदिए हुन्छ वा भान्साकै नजिक गमलामा रोपिदिए हुन्छ । सजिलै उमार्न सकिन्छ पुदिना । जबकी यसको औषधिय गुण भने अनेक छन् । खासगरी पेट गडबड भएमा पुदिनाको सेवन उपयोगी हुन्छ ।
पुदिना बहुउपयोगी वनस्पति । स्वादिलो पनि उत्तिकै ।
पुदिनालाई कसरी सेवन गर्नुहुन्छ ? त्यो तपाईंको जाँगर र हातको कलामा भर पर्छ । अचार बनाएर सेवन गर्दा हुन्छ, जुसमा प्रयोग गर्दा हुन्छ । सलादमा पनि यसको आफ्नै स्वाद हुन्छ । जे गरेर, जसरी पनि खाए हुन्छ । पुदिनाको कुनै साइड इफेक्ट छैन ।
अर्कोकुरा, पुदिना यस्तो वनस्पति हो जसले वायुलाई शुद्धिकरण गर्नमा समेत भूमिका खेल्छ । त्यसैले आयुर्वेदमा यसलाई निकै महत्व दिइएको छ । त्यसैले घरको शोभा पनि हो पुदिना ।
यसको वास्ना र स्वाद दुबै स्वादिलो हुन्छ । त्यससँगै यसको औषधिय महत्व पनि छ । निम्न शारीरिक समस्यामा पुदिनाको सेवन लाभदायक हुन्छ ।
यसमा फाइबर हुन्छ, जसले तपाईको कोलोस्ट्रोलको लेभल कम गर्न सहयोग गर्छ । यसमा रहेको म्यागनेशियमले हड्डीमा तागत दिन्छ ।
१. खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो । अर्थात यसले मुखलाई ताजा र सफा राख्छ ।
२. पुदिना पाचन क्रियाको लागि सर्बोत्तम बिकल्प हो ।
३. गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ । यसले प्राकृतिक रुपमा शरीरलाई सितल बनाइराख्छ ।
४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।
५. मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।
६. पुदिनाले केहि प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।
७. तपाई यात्रा गर्दै हुनुहुन्छ र वान्ता हुने समस्या छ भने, पुदिना सेवन गर्नुहोस् । यसले वान्ता रोक्छ ।
पुदीनाको ताजा पत्तालाई पिसेर मुर्छित व्यक्तिलाई सुँघाउनु पर्छ, मुर्छित अवस्थाबाट ब्युँझाउछ ।
८. पेटको दुखाई, अरुचीमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केहि नुन हालेर पकाउने ।
९. प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।
१०. पुदिनालाई पानीमा उसिनेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय–समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।
११. धनिया, सोप र जीरा बराबर मिसाएर त्यसलाई भिजाएर पिस्नुपर्छ । त्यसमा एक सय ग्राम पानी मिसाएर छान्ने । यसमा पुदिनाको रस मिसाएर पिउनुपर्छ ।
१२. पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केहि दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।
१३. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।
रेसेपीः
यसरी बनाउने पुदिनाको चिया
पुदिनामा भिटामिन ए, बि, सी, आइरन, क्याल्शियम र पोटासियमको मात्रा अधिक हुन्छ । यसलाई हामी अचार वा सलाद बाहेक चियाको रुपमा समेत सेवन गर्न सक्छौं ।
आवश्यक सामग्री
१. पुदिनाको १०, १२ पात
२. मरिच
३. बीरे नुन
४. दुध र चिनी (स्वाद अनुसार)
पुदिनाको चिया बनाउने विधी एकदमै सजिलो छ । थोरै मरिच, बीरे नुन र पुदिनाको पात पानीमा मिसाएर उमाल्ने । त्यसलाई छान्ने । अब चिया तयार भयो । यो चियामा चिनी र दुध पनि राखेर पिउन सकिन्छ ।
प्रतिक्रिया 4