Comments Add Comment

शहीद लखन गाउँपालिकाले खाद्यान्न सहयोग नलिने

२ वैशाख, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले खाद्यान्न सहयोग नलिने भएको छ । लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग नलिने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

‘धेरैले खाद्यान्न सहयोग गर्न खोज्नुभयो, सबैतिरबाट संकलन गर्दा गुणस्तरमा एकरुपता नहुने भयो,’ पालिकाका अध्यक्ष रमेश थापा मगरले भने, ‘त्यसैले तत्कालका लागि खाद्य सहयोग नलिने निर्णय गरेका हौं ।’

खाद्यान्नको सट्टा स्वास्थ्य सुरक्षा सामग्री वा विपद व्यवस्थापन कोषमा रकम सहयोग गर्न पालिकाले आग्रह गरेको छ । ‘सहयोग गर्न चाहनेले पालिकाको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नसक्नुहुन्छ, हामी त्यहीबाट आवश्यक सामग्री किनेर वितरण गर्छौं,’ अध्यक्ष मगरले भने । उक्त कार्यले गुणस्तरमा एकरुपता आउने र राहतमा भेदभाव नहुने उनले बताए ।

उनका अनुसार राहत पाउनेको सूची तयार भइसकेको छ । पालिकाभर करिब ४ सय घरधुरी छन् ।

परिवार संख्याको आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत जिवन आले मगरले बताए । ‘दुई जनासम्मको परिवारलाई १२.५ केजी चामल, दाल र सेतो केराउ १/१ केजी, १ लिटर तेल, एक प्याकेट नुन, सय ग्राम मसला र ५० ग्राम बेसारको राहत प्याकेज छ,’ उनले भने, ‘त्यसभन्दा माथिको परिवार संख्या भएकालाई सामान थप हुँदै जान्छ ।’

उनका अनुसार राहत पाउने घरधुरीलाई परिवार संख्याको आधारमा चार समूहमा बिभाजन गरिएको छ । केही दिनभित्रै राहत वितरणको काम शुरु गर्ने उनले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि पालिकाले हालसम्म ३४ बेड क्षमताको सामूहिक क्वारेन्टाइन स्थल निर्माण गरिसकेको छ । हालसालै बिदेशबाट फर्किएका १० जना सामूहिक क्वारेन्टाइनमा छन् । उनीहरुको स्वाव परीक्षणको काम भइरहेको छ । हालसम्म तीन जनाको स्वाव परिक्षण भइसकेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको मगरले बताए ।

विदेशबाट गाउँमा आएकाहरुको विवरण संकलन र उनीहरु होम क्वारेन्टाइनमा बसे नबसेको निगरानीका लागी टोल बिकास संस्थालाई जिम्मेवारी दिइएको उनले जानकारी दिए ।

स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र क्वारेन्टाइन स्थलमा खटिएका कर्मचारीलाई प्रोत्साहन रकमको व्यवस्था गर्ने निर्णय पालिकाले गरिसकेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण व्यक्तिलाइ स्वास्थ्य संस्थासम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था छ ।

लक डाउन कार्यान्वयनमा सघाउ पुर्‍याउने उद्देश्यले पालिकाभित्र रहेका प्रहरी चौकीहरुलाई ५० लिटरका दरले इन्धन उपलब्ध गराइएको पालिका अध्यक्ष मगरले बताए । पालिकाभित्र रहेका ९ वटा स्वास्थ्य संस्थाका सबै स्वास्थ्यकर्मीलाई दुई वटाका दरले एन ९५ मास्क र पीपीई सेट वितरण भइसकेको उनले बताए । एम्बुलेन्स चालकलाई पनि पीपीईसहित आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment