Comments Add Comment

स्वस्थ जीवनको सत्र सूत्र

जब रोग लाग्छ, अस्पताल धाउने र उपचार गर्ने क्रम सुरु हुन्छ । यसले आफ्नो दैनिक गतिविधिमा त अवरोध ल्याउँछ नै, शारीरिक एवं मानसिक रुपमा पनि उत्तिकै पिरोल्छ । त्यसैले त भन्ने गरिन्छ, रोग लागेर उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम हो ।

कतिपय रोग लाग्नुमा हाम्रो हात हुँदैन । सावधान रहँदा रहँदै पनि रोग लाग्न सक्छ । वंशानुगत रुपमा होस् वा महामारीको कारण, रोग लाग्न सक्छ । यस्तो अवस्थामा भरपर्दो उपचार खोज्नु नै पर्छ । तर, धेरैजसो रोग हाम्रै लापरवाही वा असावधानीको कारण लाग्छ । अर्थात शरीर रोगी हुनु र नहुनुमा पनि हाम्रै हात छ । अतः यहाँ १७ उपाय सुझाइएको छ, जो निरोगी र तन्दुरुस्त जीवनका लागि उपयोगी हुनसकछ ।

१. प्रशोधित खानेकुरा नखाने 

ट्रान्स फ्याटी एसिड सबैभन्दा खराब खालको फ्याट हो, जुन प्रशोधित खानेकुरामा पाइन्छ । यो कोलेस्टेरोलको लागि स्याचुरेटेड फ्याट भन्दा पनि धेरै खराब हुन्छ । यसले मुटु रोगको जोखिम बढाउँछ ।

२. राम्रो कार्वोहाइड्रेट खाने

कार्वोहाइड्रेटयुक्त खानेकुरा सेवन गरौं । जस्तै, फलफूल, सागसब्जी र गेडागुडी । यस्ता खानेकुरामा फाइबर र पोषणको मात्रा पनि उच्च हुन्छ ।

३. प्रोटिन मिश्रण गर्ने

वनस्पती र जनावरको स्रोतबाट राम्रो प्रोटिन पाइन्छ । शाकाहारी हुनुहुन्छ भने गेडागुडी, दूग्धजन्य पदार्थ र बदामहरु खाएर पनि एमिनो एसिड पूर्णरुपमा पाउन सक्नुहुन्छ ।

४. सोया थोरै खाने

सोयाको सेवन तपाईको स्वास्थ्यको लागि राम्रो हुन्छ तर यो धेरै खानु हुँदैन । धेरै परिणाममा सोया खानुको असरको बारेमा तपाईलाई थाहा नहुन सक्छ । पोषण स्रोतकाअनुसार हप्तामा २–४ पटक खानामा सोया खानु हाम्रो शरीरको लागि पर्याप्त हुन्छ ।

५. क्याल्सियम स्रोतहरुको स्तर हेरौं

दूग्ध उत्पादनहरुले उच्च स्तरको क्याल्सियम उपलब्ध गराउँछ जुन हड्डी दह्रो बनाउन र दाँतको लागि राम्रो हुन्छ । तर, यसको अरु स्रोतहरु पनि छन्, जस्तै हरिया पात भएका सागसब्जी र तोफु ।

६. वनस्पती तेल प्रयोग

खाना पकाउनको लागि र केही बेक गर्नको लागि ट्रान्स फ्याट भएका वनस्पति घिउको सट्टा तेलको प्रयोग गर्नुहोस् । यो तपाईको मुटुको लागि पनि राम्रो हुन्छ ।

७. प्लेटमा खाना र सागसब्जी बराबरी

प्लेटमा खाना र तरकारी बराबर मात्रामा राखेमा तपाईको भोजन सन्तुलित हुन्छ । यसो गरेमा तपाईले पोषण युक्त आहार प्राप्त गर्नुहुन्छ ।

८.सकेसम्म अन्न खाने

गहुँ, जौ, मकै जस्ता अन्न सेवन गरौं । यसले लामो समयसम्म भोक लाग्दैन र मधुमेहको  जोखिमबाट बचाउँछ ।

९ रिफाइन गरिएका कार्वोहाइड्रेटबाट बचौं

पास्ता, ह्वाइट ब्रेड, आलु र  चामलले रगतमा सुगर लेभल बढाउँछ ।  जसले मधुमेहको जोखिम बढाउँछ त्यसैले यस्ता खानेकुराबाछ बँच्नुहोस् ।

१०. स्वस्थ तौल कायम राखौं

तौल मानिसअनुसार फरकफरक हुन्छ । खासगरी आफ्नो उचाइअनुसार यति तौल भएमा स्वस्थ हुन्छ भन्ने चलन छ । स्वस्थ तौलको वरिपरि आफ्नो तौल कायम गर्नाले तपाईलाई मधुमेहको जोखिम कम हुन्छ ।

११. शारीरिक रुपमा सक्रिय रहनुहोस्

टेलिभिजन बन्द गरेर र केही समय नियमित व्यायामको लागि बाहिर निस्कनुभयो यसले मधुमेहको जोखिम घटाउँछ । साथै यसले तपाईंको मेटाबोलिजम बढाउन र तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

१२. प्रशोधित गरिएको मासु नखानुहोस्

जसरी तपाईं मधुमेहबाट बँच्न गुलियो पेयपदार्थहरु र रिफाइन गरिएको कार्वोहाइड्रेट खान कम गर्नुहुन्छ त्यसरी नै हटडग र अरु प्रशोधित मासुहरु खान हुँदैन । सामान्य रुपमा  स्वास्थ्यको लागि प्रशोधित भन्दा पनि होल फुड्स राम्रो हुन्छ ।

१३. आफ्नो स्मार्टफोन, कम्प्युटर र टिभी बन्द गर्नुहोस्

सोफा वा ओछ्यानमा सुतेर टिभी हेर्ने, स्मार्टफोन चलाउने बानीले हाम्रो जीवनशैली गतिहिन भएको छ । यो धेरै ठूलो समस्या हो । त्यसैले हामीलाई निश्क्रिय बनाउने मोबाईलफोन, कम्प्युटर र टिभीलाई बन्द गरेर केही समय ओछ्यान वा सोफाबाट उठेर कतै जान आवश्यक छ । यसले मानिसलाई सक्रिय पनि बनाउँछ ।

१४. सामाजिक बन्नुुहोस्

आफ्नो साथी, जीवनसाथी वा सहकर्मीसँग गफगाफ र अन्र्तक्रिया गर्नुहोस् । यसले तपाईलाई काममा व्यस्त मात्रै बनाउँदैन जीवनलाई पनि केही रमाइलो बनाउँछ ।

१५. उद्देश्य प्राप्त गरेकोमा आफैलाई पुरस्कृत गर्ने

छोटो समयको लागि केही निश्चित उद्देश्य लिने । लक्ष्य प्राप्त गरेमा आफैलाई पुरस्कृत गर्नुहोस् । च्यारिटी रेस लगायतका विभिन्न सामाजिक कार्यक्रमहरुमा भाग लिनुहोस् ।

१६. आफूलाई मनपर्ने काम गर्नुहोस्

कुनै शारीरिक क्रियाकलाप गर्दा रमाइलो लाग्छ भने त्यो काम गर्नुहोस् । जस्तैः नृत्यकक्षा, योगा आदि । एकपटक सुरु गरेपछि तपार्इं नियमित रुपमा भाग लिन थाल्नुहुन्छ ।

१७. खानापछि टहल्ने 

खाना खाएर केही क्षण विश्राम गर्ने । त्यसपछि एकैठाउँमा बस्नको सट्टा यताउता हिँड्नुहोस् । यदि तपार्इंले अलिकति समय निकाल्न सक्नुहुन्छ भने केही समयको लागि हिँडनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment