Comments Add Comment

भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर्न माग

फाइल तस्वीर

३ जेठ, बुटवल । समाजवादी पार्टीले भारतबाट सामान ल्याउने ट्रक र कन्टेनरका चालक-सहचालकलाई निरोगिताको प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न माग गरेको छ ।

भारतका विभिन्न ठाउँबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चारदेखि पाँच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुँदै नेपाल आउने गरेका छन् ।

नेपाल प्रवेश गर्ने उनीहरूको भन्सार बिन्दुमा राम्रोसँग स्वास्थ्य चेकजाँच नहुने र नेपालका विभिन्न जिल्लामा समुदायसम्म पुग्ने भएकाले कोरोना संक्रमणको डर भएको समाजवादी पार्टीले जनाएको छ। उनीहरूलाई हेल्थ सर्टिफिकेट अनिवार्य गर्न र सीमामा स्वास्थ्य जाँच विश्वसनीय ढंगले गर्न पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।

पेट्रोलियम पदार्थ, औषधिसहित नेपालमा उपलब्ध नहुने सामानबाहेक अन्य सामान लकडाउन अवधिभर आयात रोक्न पनि माग गरेका छन् ।

भारतीय चालक र सहचालकले ट्रक र कन्टेनरमा यात्रु समेत बोक्ने गरेकाले कोरोना संक्रमणको जोखिम रहेको औँल्याउँदै समाजवादी पार्टीले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग माग गरेको छ ।

‘अहिलेको, अवस्थामा अत्यावश्यक वस्तुबाहेक सामान्य अवस्थामा जस्तै निर्बाध अन्य सामग्रीको आयात तत्काल रोक्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ‘भारतीय मालवाहक ट्रक र कन्टेनरलाई पनि भन्सार गेटमै पूर्ण रुपमा सेनिटाइज गरिनुपर्छ ।’

रुपन्देहीको बेथरीमा दुईदिन अघि स्थानीयले भारतीय ट्रक र कन्टेनर रोकेका थिए । तर, प्रहरीले बल प्रयोग गरी स्थानीयलाई नै कुटपिट गरी चलाउन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment