Comments Add Comment

साइबर आक्रमणपछि बन्द भए युरोपका सुपर कम्प्युटर

युरोप महादेशका विभिन्न मुलुकमा रहेका कम्तीमा एक दर्जन सुपर कम्प्युटरहरू बन्द भएका छन् । साइबर आक्रमणमार्फत ह्याकरहरूले कब्जा जमाउने प्रयास गरेसँगै सुपर कम्प्युटर बन्द भएका हुन् ।

अन्तर युरोपेली सुपर कम्प्युटिङ ग्रुपका अनुसार, क्रिप्टोकरेन्सी खोज्ने प्रयोजनका लागि सुपर कम्प्युटरहरू माथि साइबर आक्रमण गरिएको थियो ।

गत मे ११ मा एडिनबर्ग विश्वविद्यालयमा रहेको आर्चर सुपर कम्प्युटरमाथि साइबर आक्रमण भएको थियो । जसका कारण उक्त कम्प्युटर निष्क्रिय बनेको थियो । त्यस्तै सोही दिन जर्मनका विभिन्न पाँचवटा सुपर कम्प्युटरहरूमाथि साइबर आक्रमण भएर बन्द भएका थिए ।

त्यसयता जर्मनीका थप सुपर कम्प्युटरसँगै स्विजरल्याण्ड तथा स्पेनका सुपर कम्प्युटरमाथि समेत ह्याकरहरूले हमला गरेका छन् ।

कोरोना भाइरस महामारीसम्बन्धी मोडलिङ गर्ने टुल इन्स्टल भएको उक्त सुपर कम्प्युटरलाई पूर्ववत् रूपमा सञ्चालनका लागि बेलायतको नेसनल साइबर सेक्योरिटी केन्द्रसँगको सहकार्यमा काम भइरहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार, सुपर कम्प्युटरमाथिको उक्त आक्रमण अहिले विद्वत समुदायमा सबैभन्दा ठूलो घटना बनिरहेको छ । बेलायतलगायत अन्य युरोपेली मुलुकका कैयौं कम्प्युटरहरूमाथि साइबर आक्रमण भएको छ ।

बेलायतको नेसनल साइबर सेक्योरिटी केन्द्रले आफूहरू उक्त घटनाप्रति जानकार रहेको भन्दै साइबर हमलाबाट प्रभावित कम्प्युटरहरूलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

ह्याकरहरूले सुपर कम्प्युटरको सेक्योर शेल (एसएसएच) कनेक्सन प्रणालीलाई कब्जामा लिई सुपर कम्प्युटरमाथि हमला गरेका थिए । एसएसएच यस्तो प्रणाली हो, जसलाई प्राज्ञिक अनुसन्धाताहरूले सुपर कम्प्युटरको सिस्टममा टाढै रहेर लगइन गर्नका लागि प्रयोग गर्दछन् ।

सुपर कम्प्युटरको सिस्टममा छिरेसँगै ह्याकरहरूले क्रिप्टोकरेन्सी माइनिङ भाइरसको प्रयोग गरेका थिए ।

युरोपियन ग्रुप इन्फ्रास्ट्रक्चर फाउन्डेसनका अनुसार ह्याकरहरूले सीपीयू माइनिङका लागि प्राज्ञिक डाटा सेन्टरका सुपर कम्प्युटरलाई निसाना बनाइरहेका छन् ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment