+
+

…हे प्रधानमन्त्रीज्यू, यसमा विचार गरिदिनुहोला !

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ जेठ ६ गते २०:०५

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उठाउँदै आएको एउटा विषय हो– आदरार्थी शब्दको प्रयोग ।

केही समयअघि प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले ‘तपाईं’ नभनेर ‘तिमी’ भनेको भन्दै आलोचना गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर कतिपयले ब्यङ्ग्य गरे, कतिपयले ‘ठीकै हो’ पनि भने ।

त्यसकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रियसभाका सदस्यमाझ हिन्दु धर्मशास्त्रलाई उद्धरण गर्दै देवताको पालामा सभामा बोल्दा कसरी बोलिन्थ्यो भनेर ब्याख्यान दिए । देव सभाहरुमा बोल्दा कसरी बोल्छन् भन्नेबारे सांसदहरुलाई अध्ययन गर्न सुझाव दिए ।

‘देव सभाहरुमा सम्बोधन गर्नुपर्यो भने हे ब्रम्हाजी, तपाईं चर्तुमुखी हुनुहुन्छ । तपाईका आठ वटा आँखा छन् । चारैतिर देख्नुहुन्छ । चार मुखले एकैपटक चार कुरा भन्न सक्नुहुन्छ’ ओलीले भने,‘…तपाईं यति महान हुनुहुुन्छ, यस्तो हुनुहुन्छ भनेर ब्रम्हाजीलाई प्रणाम गर्छु भन्दै सम्बोधन सुरु गर्दछु भन्छन् । सम्बोधन सुरु गर्दा प्रशंसा गर्ने चलन छ ।’

प्रधानमन्त्रीले शास्त्रहरुमा सम्बोधनका असल तरिका के कस्ता छन् भन्दै लामो ब्याख्या गरे ।

प्रजातन्त्र, अर्थतन्त्र, राज्य सञ्चालनका मोडलका विषयमा पुनरुत्थान गर्न आवश्यक रहेको बताए । संगसंगै सांंस्कृतिक पुनरुत्थानको जरुरी रहेको उल्लेख गरे ।

‘सामाजिक सञ्जाल हेर्नुभयो भने, सुन्न नसक्ने, पढ्न नसक्ने खालका कुराहरु मनपरी अश्लिल कुराहरु लेखेको हुन्छ । मुख छाडेन भने धितै नर्मने अति असभ्य ढङ्गले बोलेपछि अलिकति धित मरे जस्तो हुने स्थिति छ’ ओलीले भने ।

त्यसको प्रभाव परेको हुन सक्ने भन्दै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन उपस्थित प्रधानमन्त्री ओलीले सांसदहरुको तर्क गर्ने शैलीमै प्रश्न उठाए, ‘हाम्रोमा तर्क बहस सुरु गर्नुपर्यो भने, तिमी ..(औलो ठड्याउँदै) ..जंगिएर सुरु गर्छ मान्छेले ।’

…हे प्रधानमन्त्रीज्यू यसमा विचार गरिदिनुहोला

प्रधानमन्त्रीको व्याख्यान सुनेपछि पछि प्रश्न सोध्ने क्रममा राष्ट्रिय जनता पार्टीका सांसद मृगेन्द्रकुमार सिंहले प्रधानमन्त्री ओलीलाई ‘हे प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरे ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरुलाई स्पष्टीकरण माग गर्ने समय दिइएको थियो ।

त्यस क्रममा सांसद सिंहले संविधान जारी भएको दिन असोज ३ गते कालो दिवस मनाउनेले दिपावली गर्ने गरी संविधान संशोधन गर्नुहुन्छ कि ? सांसद रेशम चौधरीलाई अपराधी जस्तो थुनिराख्नु कतिसम्म ठीक हो ? भनेर प्रश्न गरे ।

प्रश्न टुङ्ग्याउँदै उनले भने, ‘हे प्रधानमन्त्रीज्यू यसमा विचार गरिदिनुहोला ।’

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै सांसद सिंहले प्रधानमन्त्रीले प्रशंसा खोजेका कारण आफुले ‘हे..’ शब्द थपिदिएको बताए ।

‘दुई तिहाई बहुमतबाट सुशोभित प्रधानमन्त्रीले भन्नुभयो । त्यसपछि हे प्रधानमन्त्रीज्यू मेरो कुरामा विचार गरिदिनुहोला भनेको हुँ’ सांसद सिंहले भने ।

‘संसदीय अभ्यास थोत्रो भयो’

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले राज्य सञ्चालनको नयाँ अवधारणा आवश्यक रहेको पनि बताए । अहिलेको राज्य सञ्चालनको मोडल पुरानो भएको उल्लेख गर्दै उनले अभ्यासमा रहेका व्यवस्थाका राम्रा पक्षलाई लिएर नयाँ अवधारणा अगाडि सार्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले संसदीय अभ्यासलाई थोत्रो अभ्यासको संज्ञा दिए ।

‘हाम्रा संसदीय अभ्यासमा पनि दुनियाँका विभिन्न थोत्रा अभ्यास छन् । थोत्रा अभ्यास सिकेर हुँदैन । अर्थतन्त्रका सिद्धान्त, अर्थतन्त्र सम्बन्धका कुराहरु, समाज सञ्चालनसम्बन्धी कुराहरु, राज्य सञ्चालनसम्बन्धी कुराहरु, सरकार सञ्चालन सम्बन्धी कुराहरुमा हामी एकदमै ट्रान्जिसनल फेजमै छौं । अब नयाँ अवधारणाहरु अगाडि सार्नु जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले पूर्वजले ल्याएका कुरालाई जगाएर पुनरुत्थान गरेर जानुपर्ने बताए । शास्त्रमा, विगतमा जे भएको थियो त्यही नभएर समय अनुकुल सामाजिक, आर्थिक, राजनीतिक व्यवहार बदलिनुपर्नेमा जोड दिए ।

यसका लागि उनले एउटा कथा पनि सुनाए ।

‘एक जनाले खोलो तर्दा जुत्ता फुकालेर, घुँडाभन्दा माथिसम्म सुरुवाल सारेर तरेका रहेछन् । पछि लेखेर छोडेछन् । त्यो अरुले अध्ययन गरे र सिके ।

अलि पछाडि पुल बन्यो । त्यो लेखिएको शास्त्र पढेको एउटा विद्वान गयो र शास्त्र सम्झियो । लेखिएअनुसार जुत्ता फुकालेर, सुरुवाल माथि सारेर तर्‍यो ।

अलि पछाडि गाडी चल्यो । गाडीमा जाँदा त्यो ठाउँ आयो भनेपछि हत्तपत्त जुत्ता फुकाल्यो । यसको के काम ? त्यसकारण शास्त्रलाई सन्दर्भ र समय अनुसार बुझ्न जरुरी छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?