
ओ ! परदेशी
तिम्रो आँखामा
आफूलाई हेर्न चाहन्छ देश
ठ्याक्कै तिम्रो आँखाजस्तै त छ
यो देशको नक्सा !
तिमी भने
आफ्नै जीवनको इन्द्रेणी रङ खर्चेर
कति चम्काइरहन्छौ पराइदेश
र बनाइरहन्छौ आफैलाई बेरङ
बरू आऊ
लगाउँला यही माटोको टीका
रोपौंला यही माटोमा पसिना
र बगरलाई समेत अनुवाद गरौंला
सुन्दर बगैँचामा
बरू
झुपडीभित्रै बनाउँला
मायाको मखमली महल
हाँसेरै तरौंला
दुःखको अप्ठ्यारो जङ्घार
हात समातेरै चढौंला
नाकै ठोक्किने उकालो
यतै कतै खोजौंला
जिन्दगीको उज्यालो रङ
यता तिम्रै प्रतीक्षामा छन्-
पोख्त कालिगढले बनाएजस्ता
खेतका बुट्टेदार गराहरू
पाइतालाले कुँदिएका
नागबेली गोेेेेेेेेेेेेेेेेेेरेटाहरू
र तिम्रो मनजत्तिकै श्वेत हिमलहर
कहिल्यै थकाइ नमार्ने झरना
भीरमा मुस्कुराइरहने गुराँस
यादहरूको चाङ बोकी आउने
चिसो हिमाली हावाको झोंका
बेस्सरी तिर्खाएको बाँझो बारी
वर्षौंदेखि भोकाएको भकारी
सबैसबै तिम्रै प्रतीक्षामा छन्
सम्झिरहेका छन्-
कोइलीहरूले
तिमीसँगै रोदी गाएको
मयुरहरूले
तिमीसँगै मारूनी नाचेको
डाँडामाथिको पहेँलो घामले
पूणिर्माको निन्याउरो जूनले
र तिमीले रोपेको गुलाबले पनि
हेरिरहेका छन् तिम्रै बाटो
बग्दै-बग्दै
तिमीसम्म पुगिसकेको छ आँसु
र नदी बनेर मिसिएको छ
तिमी छेवैको समुद्रमा
त्यो समुद्रको पानी
उसै नुनिलो भएको हो र !
हो,
त्यही आँसुनदीको
किनारैकिनार भएर र्फकनू तिमी
ओ ! परदेशी
तिम्रो आँखामा
आफूलाई हेर्न चाहन्छ देश
ठ्याक्कै तिम्रो आँखाजस्तै त छ
यो देशको नक्सा ।
प्रतिक्रिया 4