+
+

गर्भावस्थामा धुम्रपान गर्दा रोगी शिशु जन्मिने खतरा

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०७७ जेठ २० गते ८:५२

सन् २०१८ को विश्व स्वास्थ्य संगठनको फ्याक्ट सिटअनुसार १५ वर्षदेखि ६५ वर्ष उमेरका कुल जनसंख्याको ३० दशमलव ८ प्रतिशतले धुम्रपान सेवन गर्ने गरेका थिए । त्यस्तै महिलाहरूमा यो उमेर समूहको संख्या कुल जनसंख्याको १४ दशमलव १ प्रतिशत रहेको देखिन्छ।

अधिकांश अमेरिकी महिलाहरूले चुरोट सेवन गर्ने गरेको भए तापनि उनीहरू गर्भको योजना बनाएपछि चुरोट पिउन छोड्ने गरेको सो अध्ययनले देखाएको छ।  सन् २०१६मा अमेरिका गरिएको अध्ययनअनुसार, अमेरिकामा करिब ९ दशमलव ४ प्रतिशत महिलाले गर्भवती हुनु अगाडि चुरोट सेवन गर्ने गरेको देखाएको छ । तर, गर्भवती हुनेबित्तिकै (पहिलो ३ महिनामा)  ७ दशमलव १ प्रतिशत र ३ महिनापछि ६ दशमलव १ प्रतिशतले मात्र चुरोट पिउने गरेको तथा ५ दशमलव ७ प्रतिशत महिलाले गर्भको अन्त अर्थात् सुत्केरी हुँदा समेत चुरोट पिउने गरेको सो अध्ययनले देखाएको छ ।

चुरोटमा के हुन्छ ?

धुम्रपानमा चार हजारभन्दा बढी हानिकारक रसायनहरू हुन्छन् । जसमध्ये २०० देखि ४०० तत्वहरू अत्यधिक विषालु र ४० प्रकारका तत्वले क्यान्सर गराउन सक्ने हुन्छन् । चुरोटमा भएका टार, पोलिसाइक्लिक एरोमाटिक हाइड्रोकार्बन, नाइट्रोसमाइनजस्ता रसायनहरूले क्यान्सर उत्पन्न गराउने हुन्छ भने निकोटिन र फेनोल जस्ता रसायनहरूले क्यान्सरको वृद्धि गर्ने हुन्छ । त्यसैले चुरोटको सेवनले विभिन्न किसिमका क्यान्सरहरू हुने हुन्छ ।

डा. बालकृष्ण साह

धुम्रपानले क्यान्सर गराउँछ भन्ने जानकारी धेरैलाई होला तर यसले गर्भ वा गर्भवतीमा कस्तो असर गर्न सक्छ भन्नेबारे अनभिज्ञ रहने गरेको पाइन्छ।

गर्भावस्थामा धुम्रपान

धुम्रपान र गर्भ एकअर्काको परम शत्रु हो र यो दुईलाई नमिलाएको नै राम्रो भनिन्छ। पहिलो कुरा त अत्यधिक धुम्रपान सेवन गर्नेहरूमा बाँझोपनको समस्या रहने गरेको पाइन्छ । धुम्रपानमा हुने रसायनहरू मुख्यतयः निकोटिनले एकातिर पुरुषको शुक्रकीटलाई कमजोर बनाउने हुन्छ भने अर्कातिर अण्डलाई पनि कमजोर र पाठेघरको भित्रितहमा असर गरेकाले गर्भलाई पाठेघरमा टासिन (इन्प्लान्टेसन) नदिने र हुर्किन नदिने सम्भावना रहन्छ ।

धुम्रपानको सेवन गर्नेहरूमा बाझोपनलाई समाधान गर्दै गर्भ रहे पनि ती गर्भको भ्रूणहरूको विकास राम्रो नहुने, तौल राम्ररी नबढ्ने, खुडे हुने, कम तौल तथा गर्भको अवधि नपुग्दै जन्मिने र कुनै-कुनै अवस्थामा मृत बच्चा जन्मिने वा जन्मिनेबित्तिकै मर्ने हुन सक्ने अध्ययनहरूले देखाएको छ । यस्ता महिलाहरूबाट जन्मिएको बच्चाहरूमा आँखा तथा कानको विकासमा कमी हुन सक्ने भएकाले दृष्टि, श्रवण शक्ति कमजोर रहने सुस्त मनस्थितिको हुने जस्ता दीर्घकालीन असरहरू पनि हुन सक्ने सम्भावना रहन्छन्।

धुम्रपानको सेवनले अण्डवाहिनी नलीको चालमा असर गर्ने भएकाले ‘इक्टोपिक प्रेग्नेन्सी’ हुन सक्ने सम्भावना रहन्छ । गर्भ रहनु भनेको पुरुषको शुक्रकीट र महिलाको अण्डको उर्वरीकरण (फर्टिलाइजेसन) हुनु हो र यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ । फर्टिलाइजेसन पछि बनेको जाईगोट(गर्भ) पाठेघरमा टासिन्छ र पाठेघरमा भ्रुणको रुपमा विकास हुन्छ। तर, जाइगोट पाठेघरमा नटाँसिएर अन्य कुनै भागमा (विशेषतः अण्डवाहिनी नलीमा टाँसिनु (इन्प्लान्ट हुनु) लाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । सामान्यतया यस किसिमको समस्या १ प्रतिशत गर्भमा देखिन सक्छ र यो गम्भीर समस्या हो । त्यस्तै यसको सेवनले शालनाल पाठेघरको मुखमा टाँसिने (प्लासेन्टा प्रिभिया) हुन सक्ने र यसैको कारण अत्यधिक रक्तश्राव हुने सम्भावना रहन्छ ।

त्यसै पनि चुरोट तथा अन्य यस्ता धुम्रपानको सेवनले विभिन्न किसिमका दीर्घरोगहरूको जन्म हुन्छ । यस्ता रोगहरूको उपचार सजिलो छैन । यस्ता रोगहरूको उपचार लामो समयसम्म गर्नुपर्ने भएकोले महँगो  पनि हुन्छ । तर धुम्रपानको सेवन नगर्नाले यस्ता रोग लाग्ने सम्भावाना निकै कम हुने भएकोले समयमा नै धुम्रपानलाई त्याग्नु नै बुद्धिमानी साबित हुन्छ। गर्भावस्थामा त झन् धुम्रपान गर्नै हुँदैन। आफूले गर्भको योजना बनाउनेबित्तिकै अर्थात् गर्भवती हुनुभन्दा अगाडि नै धुम्रपान छोड्नु राम्रो हो । यदि धुम्रपानको लत रहेको वा यो छोड्नु अगाडि नै गर्भ रह्यो भने पनि आत्तिनु हुँदैन र थाहा पाउनेबित्तिकै धुम्रपानलाई त्याग्नुपर्छ । सुन्दर भविष्य अनि स्वस्थ्य सन्तानका लागि धुम्रपान, मद्यपान त्याग्नु अनि नियमित व्यायाम र खानपानमा राम्रो ध्यान पुर्‍याउनु महत्वपूर्ण मानिन्छ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, मोरङ सहकारी अस्पताल, विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?