Comments Add Comment

कोरोना : नयाँ ‘भुत’ प्रजाति

संसारभरि र प्रत्येक परिवारभित्र समेत अहिले छलफलको मुख्य विषय बनेको छ – ‘कोरोना भाइरस’ । कोरोना भाइरसको प्रवेशसँगै छलफलको विषय केन्द्रीत भएको छ, ‘सूक्ष्मजीव’ । आँखाले नदेख्ने ‘सूक्ष्मजीव’हरुको अस्तित्व सूक्ष्मदर्शक यन्त्रको सहायताले सन् १६६५ मा रबर्ट हुकले पत्ता लगाएका थिए ।

यिनीहरुले प्राणीमा रोग लगाउँछ भन्ने कुरा सन् १८६० देखि १८८० सम्म गरिएका विभिन्न अध्ययन र प्रयोगमार्फत लुइ पास्चर र रबर्ट कोचले पुष्टि गर्न सफल भएका थिए । चिकित्सा विज्ञानको कोसेढुंगाका रुपमा हालसम्म व्याख्या गरिने यस आविष्कारलाई सन् १८८४ तिर ‘कोच पोस्चुलेट अफ जम थ्योरी’ भनेर सैद्धान्तिकरण गरियो ।

यस सिद्धान्तको सारतत्व रोग (सरुवा) भएको व्यक्तिसँग ‘सूक्ष्मजीव’ हुन्छ र ‘सूक्ष्मजीव’ भएको व्यक्तिसँग रोग (सरुवा) हुन्छ/उत्पन्न हुँदैछ भन्ने नै हो । अर्थात् ‘सूक्ष्मजीव’बाट मानिसलाई रोग लाग्छ, र सो ‘सूक्ष्मजीव’ अर्को मान्छेलाई सर्दा रोग पनि सँगै सर्छ भन्ने चेत मानव जातीलाई यो सिद्धान्तले प्रदान ग¥यो ।

यसको आविष्कारसँगै अनुभूति र पीडा (अभौतिक) मा सीमित रोगको पहिचान ‘सूक्ष्मजीव’ (भौतिक वस्तु) सँग गाँसियो । यो भौतिक वस्तु ‘सूक्ष्मजीव’लाई मार्न या नष्ट गर्न सक्दा रोग पनि नष्ट हुन्छ र निरोगी व्यक्तिमा यो ‘सूक्ष्मजीव’लाई प्रवेश गर्नबाट रोक लगाउन सक्दा रोगबाट सुरक्षित भइन्छ भन्ने चेत मानव जातिलाई भयो ।

सारांशमा विश्व वैज्ञानिक जगतले रोग लागेको व्यक्तिसँग रोग लगाउने तत्व (सूक्ष्मजीव) हुन्छ/हुनैपर्छ भन्ने कुरा पत्ता लागेको भर्खर डेढ शताब्दी मात्र हुँदैछ ।

सूक्ष्मजीवको दुईटा आधारभूत गुण छन् : यसलाई हामी देख्न सक्दैनौं र यसले मान्छेलाई सताउन सक्छ, मार्न सक्छ । यस्तै देख्न नसक्ने तर मान्छेलाई सताउने (कतिपय अवस्थामा मार्ने) गुण भएका अर्को चीज हाम्रो समाजमा सदियौंदेखि व्याप्त छ, जसलाई हामी भन्छौं – ‘भुत’ । यसको मतलब, हामी जसलाई आजसम्म ‘भुत’ भनेर परिकल्पना गर्दै आएका छौं, त्यो नै आधुनिक विज्ञानले भनेको ‘सूक्ष्मजीव’ पो हो कि ! यो आलेखले हामी र हाम्रा पूर्खाले भन्दै आएको ‘भुत’ नै आजको विज्ञानले भनेको ‘सूक्ष्मजीव’ हो भन्ने प्रस्तावलाई पुष्टि गर्ने चेष्टा गर्नेछ ।

हाल नोभेल कोरोना भाइरस नामक नयाँ ‘भुत’ हाम्रो घर–आँगनमा छाएका छन् । ‘भुत’ मानिसबाट मानिसमा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम राखौं । ‘भुत’सँग डर लाग्दा भागेर घरभित्र पस्ने, र ढोका लगाएर बस्ने पुरानो संस्कारलाई पालना गरौं । हिँड्नैपर्दा यो नयाँ प्रजातिको ‘भुत’ मुख, नाक र आँखाबाट छिर्ने भएकाले यी अंगहरु छोपेरै हिँडौं ।

‘भुत’बारे धेरै किंवदन्ती छन् । त्यसमध्ये दुईटा किंवदन्ती महत्वपूर्ण छन् । एक, भुत लागेपछि रोग लाग्छ, कपितय अवस्थामा मृत्यु पनि होला । अर्को, ‘भुत’ मृत्यु भएको व्यक्तिबाट निस्कन्छ, या भनौं मृत्यु भएको व्यक्तिमा ‘भुत’ हुन्छ । अझ मृत्यु भएको मानिसको घरमा १२ दिनसम्म ‘भुत’ सवार हुन्छन् भन्ने समेत जनविश्वास छ । चिकित्सा विज्ञानको आधारस्तम्भ ‘कोच पोस्चुलेट अफ जम थ्योरी’ ले पुष्टि गरिसक्यो, ‘सूक्ष्मजीव’को प्रवेशले रोग लगाउँछ, र रोग लागेको व्यक्ति (चरम अवस्थामा पुग्दा मृत्यु भएको व्यक्ति) सँग ‘सूक्ष्मजीव’ हुन्छन् । यसले थप पुष्टि गर्छ, हाम्रा पूर्खाले जुन वस्तुका लागि ‘भुत’ भन्ने शब्दको प्रयोग अथवा कल्पना गरे, त्यो नै आधुनिक चिकित्सा विज्ञानले भनेको ‘सूक्ष्मजीव’ हो ।

यसबाट निस्कर्ष निकाल्न सकिन्छ, चिकित्सा विज्ञानले डेढ शताब्दी अगाडि जुन महत्वपूर्ण कुरा पत्ता लगाए, हाम्रा विद्वान पूर्खाहरुले हजारौं वर्ष अघि नै अनुभव गरी निस्कर्ष निकालिसकेका थिए । तर वैज्ञानिक उपकरण (जस्तै सूक्ष्मदर्शक यन्त्र) अथवा प्रविधि (जस्तै जैविक–रसायनिक परीक्षण) को विकास नभइसकेको अवस्थामा त्यसलाई पुष्टि गर्नसक्ने अवस्था थिएन, गर्न सकेनन् । प्राणघातक सूक्ष्मजीवका बारेमा जनतालाई बुझाउन त्यस समयका दार्शनिकलाई एउटा शब्द आवश्यक प¥यो, जसलाई उनीहरुले ‘भुत’ भन्ने शब्दावलीबाट सम्बोधन गरेको हुनसक्छ ।

‘भुत’को शाब्दिक अर्थ (संस्कृति भाषा) ‘पृथ्वी, जल, तेज, वायु र आकाशको समष्टिगत रुप’ भन्ने दर्शाउँछ । यसको मतलब हाम्रा पूर्वजहरुले ‘पृथ्वी (माटोमा पाईने तत्वहरु – जस्तै मिनिरल्स), जल (पानी), तेज (शक्ति), वायु (हावा) र आकाश (अबोध वस्तु)’को समिश्रणबाट बनेको तत्वबाट रोग लगाउँदछ भन्ने व्याख्या गरेको हुनुपर्छ, जुन आधुनिक ‘सूक्ष्मजीव विज्ञान’को आविष्कारसँग नजिक छ ।

हाम्रा विद्वान पूर्खाको एउटा कमजोरी (अक्षम्य) थियो । उनीहरु आफूले जानेको विद्या/ज्ञान बाँड्न हिच्किचाउँथे । यसको कारकतत्वमा कतिपय अवस्थामा ‘विद्या बाँड्दा नष्ट हुन्छ’ भन्ने विश्वासले काम गरेको देखिन्छ भने ‘विद्यालाई आफूमा सिमित गर्दा व्यक्तिगत/वर्गीय वर्चस्व कायम राख्न सकिन्छ’ भन्ने मान्यता होला । हालसम्म पनि व्रतबन्धको बेलामा (मात्र) हस्तान्तरण गरिने गायत्री मन्त्र पूरोहितले कानमा सुटुक्क भन्ने चलन यथावत छ (अरुले नसुनोस्, नजानोस् भनेर होला) । त्यस्तै गाउँघरमा आजपनि वैद्यहरुले आफूले जानेको, बुझेको जडिबुटी बारे ज्ञान अरुलाई कुनै हालतमा सिकाउन चाहँदैनन्, उनीहरुबाट त्यो ज्ञान सिक्न इच्छुक मानिसहरु लुकी–लुकी वैद्यहरुको दिनचर्या नियाल्ने र के–के गर्छन् भन्ने कुरा अवलोकन/विश्लेषण गरेर सो ज्ञान प्राप्त गर्ने चलन छ । हाम्रा पूर्खाहरुको यही अवगुण (सामन्तवादी सोच)का कारण हाम्रो दार्शनिक ज्ञान सबल भईकन पनि वैज्ञानिक ज्ञान पश्चिमी समाजको तुलनामा कमजोर हुनप¥यो ।

जे जति कारणले भए पनि हाम्रा पूर्खाहरुले पत्ता लगाएका कुरा पुस्तान्तरण नगरेता पनि त्यस ज्ञानको मानवीय प्रभावलाई लागि संस्कारका रुपमा पुस्तान्तरण भने गरे । हाम्रा यथेष्ट सामाजिक अभ्यास, चेतना र संस्कार सूक्ष्मजीवको अस्तित्वलाई स्वीकार्ने र त्यसबाट बच्ने उपायका रुपमा प्रयोग हुँदै आएको पाइन्छ । अब हामीले वैज्ञानिक चस्मा लगाएर ती प्रत्येक संस्कारका कारक पक्ष र प्रभावका बारेमा अनुसन्धान गर्नुपर्ने छ, जनचेतना फैलाउने काम गर्नुपर्छ ।

मृत्यु संस्कारसँग जोडिएका वैज्ञानिक संस्कार

मानिसको मृत्युको कारण हुन्छ, र यसको कारकतत्व (भूत) मृतकको शरिरमा विद्यमान रहन्छन् भन्ने कुरा हाम्रा मृत्यु संस्कारलाई राम्ररी अध्ययन गर्दा स्वतः सिद्ध हुन्छ । मलामी घर फर्कनु अघि अपरिहार्य कर्म हो – नुवाई धुवाई गर्नु । मृतकसँग ‘भुत’ हुन्छ, र त्यो तत्व आफूसँगै घर नजाओस् भन्नका लागि यो प्रचलन चलाइएको हुनुपर्छ ।

अझ नेवारी परम्परामा मलामीलाई नुहाइसकेपछि घरप्रवेश गर्नु अघि भोटे ताल्चा हातमा मज्जाले रगडेर मात्र छिराइन्छ । फलामले सूक्ष्मजीवलाई मार्छ भन्ने कुरा विज्ञानले पुष्टि गरिसकेको छ । मृतकलाई बिरामी हुँदा देखि नै स्याहार सुसार गरेर मृतकको सर्वाधिक संसर्गमा आएका मृतकका परिवार १३ दिनसम्म कसैलाई नछोई छुट्टै बस्ने परम्परालाई हामी ‘किरिया’ भन्छौं, जुन आजको प्रख्यात शब्द ‘क्वारेन्टाइन’ नै हो । १२/१३ दिनसम्म एक्लै ‘क्वारेन्टाइन’मा बस्दा पनि किरिया बसेका व्यक्तिमा कुनै लक्षण, समस्या देखिएन भने त्यो संस्कारगत ‘क्वारेन्टाइन’ अवधि फुकाइन्छ र सामुहिक खाना खाएर विश्राम गरिन्छ ।

साथै, त्यस ‘क्वारेन्टाइन’मा बस्दा खाने कुरा चोखो र शुद्ध मात्र हैन, खान मिल्ने/नमिल्ने खानेकुराको बारे संस्कारगत लेखाजोखा पनि अचम्मको छ । हामीलाई कुनै रोगले संक्रमण हुँदा आधुनिक विज्ञानले जे–जे चिज नखानु भन्छ, त्यस अवधिमा लगभग त्यही खानेकुरा खान बर्जित गरिएका छन् ।

मृत्युसंस्कारपछि घरपरिवारका मान्छेले यसअघि लगाएका सबै वस्त्र त्यागेर नयाँ सेतो वस्त्र लगाउनुले पुराना वस्त्रमा मृतकसँगको संसर्गमा ‘रोग लगाउने तत्व’ (भूत) सवार भएको हुनसक्छ भन्ने वैज्ञानिक आधार नै हो । सेतो नै लुगा लगाउनुको अर्थ त्यसमा केही फोहोर (आधुनिक शब्दमा कन्ट्यामिनेशन) भयो भने दागका रुपमा स्पष्ट देखिन्छ भन्ने चेत हो । यसो हुने वित्तिकै लुगा फेर्ने, अथवा धुने काम गरिन्छ (डि–कन्ट्यामिनेशन) ।

नेवार समाजमा मान्छे बित्दा मलामी जाने मानिसहरुले ‘टें गा’ (ऊनको सेतो/बाक्लो पछ्यौरी जस्तो लामो वस्त्र) ले जिउभरि ओडेर/ढाकेर मलामी हिँड्छन् । यो पहिरन मलामी जाँदा मात्र लगाउने पहिरन हो, काम सकिने वित्तिकै यो बस्त्र धोएर भण्डारण गरेरै राखिएको हुन्छ । ‘टें गा’ प्रयोग गर्दा आँखा मात्रै देखिने गरी सबै जिउ ढाक्ने चलन छ । मृतकको अघि–पछि हिँड्दा मृत्यु गराउने तत्व (भुत) वरिपरि भएको भान गर्दै त्यो तत्व आफ्नो शरीरमा नछिरोस् भनेर ‘पिपिई’को रुपमा यो पहिरन लगाउने चलन बनाएको हुनुपर्छ ।

मान्छे बितेको घरमा भएका सम्पूर्ण पाकेको र नपकाई खाने अन्नहरु नष्ट गर्ने चलन अझै जीवित छ, यसको तात्पर्य ‘मान्छे मार्ने तत्व’ (भुत) ती खानेकुराहरुमा विद्यमान हुन सक्छ, र त्यसको सेवनले नयाँ मानिसमा पनि सोही रोग सर्न सक्छ भन्ने आदिम वैज्ञानिक चेतना नै हो । साथै, हिन्दु परम्पराअनुसार पार्थिव शरीरलाई जलाएर नष्ट गर्नुको तात्पर्य ‘मान्छे मार्ने तत्व’ (भुत) लाई नष्ट गर्नु नै हुनुपर्छ ।

धेरै समुदायमा (हाम्रो पनि) पार्थिव शरीरलाई पोलेन, अथवा राम्रोसँग पोलेन भने त्यसबाट ‘भुत’ निस्कन्छ भनेर गुठीका मान्छेहरु पार्थिव शरीरको सम्पूर्ण भाग पूर्णरुपमा खरानी नहुञ्जेल चिहानमा कुरेरै बस्छन् । यो काम लामो हुने भएकै होला, मृतक परिवारका आफन्तले उहाँहरुलाई चिहानमा खाजा लगिदिने संस्कार आजपर्यन्त पनि जिवितै छ ।

अन्य संस्कार

सानो बच्चालाई छुनुअघि ‘आगोमा हात सेक्नु’ अनिवार्य संस्कार छ । मानिसको हातमा ‘भुत’ हुन सक्ने र रोगप्रतिरोधात्मक क्षमता पूर्णरुपमा विकास नभइसकेको बच्चामा त्यो तत्व छिर्दा रोगव्याधी लाग्ने हुँदा त्यसलाई पहिला नष्ट गर्न यो संस्कार चलाइएको हुनुपर्छ । आगोले ती तत्व (सूक्ष्मजीव) सखाप पार्छ भन्ने कुरा वैज्ञानिक सिद्ध छ ।

ठूलो सामाजिक–पारिवारिक समारोहमा भोजको आयोजना हुँदा भोजमा पाकेका सम्पूर्ण परिकारहरु थोर–थोरै निकालेर पहिला कुकुर र कागलाई खुवाउने चलन अद्यपि छ । यस कार्यलाई हाम्रा पूर्खाहरुको जनावर तथा चराचुरुंगीमैत्री संस्कारको उपमा दिन सकिएला । तर, यसको मूल उद्देश्य ती परिकारहरुमा मान्छेलाई हानि गर्ने तत्व (सूक्ष्मजीव या त्यसले उत्पादन गर्ने विष) को परीक्षण हो । पाकेका सम्पूर्ण परिकार खाँदा पनि कुकुर र कागमा कुनै नकारात्मक प्रभाव देखा नपर्दा मात्र मानिसले सेवन गर्ने नीति बमोजिम यो संस्कार पहिल्याएको हुनुपर्छ ।

निस्कर्ष

हाल नोभेल कोरोना भाइरस नामक नयाँ ‘भुत’ हाम्रो घर–आँगनमा छाएका छन् । ‘भुत’ मानिसबाट मानिसमा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम राखौं । ‘भुत’सँग डर लाग्दा भागेर घरभित्र पस्ने, र ढोका लगाएर बस्ने पुरानो संस्कारलाई पालना गरौं । हिँड्नैपर्दा यो नयाँ प्रजातिको ‘भुत’ मुख, नाक र आँखाबाट छिर्ने भएकाले यी अंगहरु छोपेरै हिँडौं । यो ‘भुत’ ‘स्यानिटाइजर’ ले मार्न सक्ने वैज्ञानिक पुष्टि भइसकेको हुँदा पटक–पटक हातमा ‘स्यानिटाइजर’ प्रयोग गर्दा आफ्नै हातमा पुगिसकेको ‘भुत’ पनि उसको क्रियास्थल मुख, नाक र आँखामा पुग्नबाट रोक्न सकिन्छ ।

(लेखक मेडिकल माइक्रोवायोलोजिस्ट हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment