Comments Add Comment
सहकारीमा लकडाउनको असर :

सहकारीमा पैसा थपिएन, झिक्नेको संख्या बढी

विज्ञ भन्छन्- सहकारीमा तलरता संकट देखा पर्दैछ

२८ जेठ, काठमाडौं । लकडाउन अघिसम्म सहरका प्राय हरेक पसलमा युवतीहरु पासबुक र झोला बोकेर पुग्थे । व्यापारीले दुई-चार सय रुपैयाँ दिएर हस्ताक्षर गर्थे । त्यो पैसा दैनिकरुपमा सहकारीमा जम्मा हुन्थ्यो ।

चैत ११ यता ७९ दिन लामो लकडाउनका कारण सहकारीका कर्मचारीले त्यसरी पसलहरुमा डुलेर रकम संकलन गर्न पाएका छैनन् । सहकारीको आम्दानी ठप्प छ, पैसा राख्ने छैनन्, निकाल्नेहरु बढेका छन् । अब लकडाउन खुल्यो भने सहकारीबाट पैसा झिक्नेहरु झन् बढ्ने विज्ञहरुको विश्लेषण छ ।

आर्थिक क्रियाकलापहरु ठप्प भएका कारण सहकारीको अन्य उत्पादनमूलक लगानी गर्ने ठाउँहरु पनि बन्द भएका छन् । लकडाउन लम्बिँदै जाँदा यसको असर समग्र अर्थतन्त्रमा परेजस्तै सहकारी क्षेत्रमा पनि परेको छ ।

सहकारी अभियन्ताको चिन्ता

सहकारी क्षेत्रका विज्ञहरु लकडाउनपछि सहकारीले ठूलो समस्याको सामना गर्नुपर्ने बताउँछन् । लकडाउन लम्बिँदै गएको र व्यापार व्यवसाय ठप्प भएका कारण वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुमा अब तरलता अभाव देखिन थालेको सहकारी अभियन्ता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले अनलाइनखबरलाई बताए ।

मीनराज कँडेल

बचत तथा ऋण सहकारी संस्थाहरुमा यतिबेला निक्षेप जम्मा गर्नेभन्दा पनि रकम निकाल्नेहरुको संख्या ठूलो भएकाले तरलता (पुँजी) को अभाव हुने खतरा बढेको अध्यक्ष कँडेलले बताए ।

सहकारी धेरै ग्राहकहरु व्यापारी भएको र व्यापार व्यवसाय ठप्प हुँदा यस्तो समस्या देखिएको कँडेलले बताए । ‘व्यापार व्यवसायहरु ठप्प छन्, आम्दानी हुन पाएको छैन,’ उनले भने, ‘धेरैले भएको बचत पनि निकाल्न थालेका छन्, बचत गर्ने त होइन ऋणसमेत तिर्न नसकेको अवस्था छ ।’

कृषि सहकारीहरुले त अझ यतिबेला दैनिक डेढ करोड घाटा बेहोरिरहेको उनी बताउँछन् । लकडाउन पछि कृिषजन्य उत्पादनहरु विक्रि वितरण पनि सहज नभएको उनले बताए । दूध लगायतका वस्तुहरुको खपत कम हुँदा सहकारीहरुले दैनिक डेढ करोड रुपैयाँ क्षति बेहोर्नु परेको अध्यक्ष कँडेल बताउँछन् ।

‘हाम्रा सहकारीका सदस्यहरुले उत्पादन गरेको वस्तुहरु बिक्री नभएको अवस्था छ, बिक्री भएको पनि थोरै मूल्यमा बेच्नु परेको छ’ उनले भने, ‘अहिले ६ लाख लिटर दुध उत्पादन हुन्छ साढे २ लाख लिटरसम्म बिक्री भा छैन, दैनिक यसको डेढ करोड रुपैयाँसम्म नोक्सान भइरहेको छ ।’ माछा, कुखुरा, फलफूल केही पनि सहज तरिकारले बिक्री हुन नपाउँदा सहकारी क्षेत्रलाई असर परेको उनले बताए ।

के गर्दैछ नेफ्स्कुन ?

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल पनि लकडाउनले सहकारी क्षेत्रलाई ठूलो असर पुर्याएको बताउँछन् । कोरोना महामारीपछि बचत तथा ऋण सहकारी क्षेत्रमा परेको असरबाट जोगाउन आवश्यक कार्यहरु भने भइरहेको उनले बताए ।

परितोष पौड्याल

उनका अनुसार नेफ्स्कुनले महामारीपछिको संकटका लागि एक अर्बको रुपैयाँको फण्ड छुट्याएर राखेको छ । कोरोनाबाट सहकारी क्षेत्रमा परेको असरलाई तीन चरणमा गरेर विभिन्न अभियानहरु सञ्चालन भइरहेको उनले बताए ।

उनका अनुसार पहिलो चरणमा जागरणका कार्यक्रमहरु चलाइएको छ । दोस्रो चरणमा अहिले समस्याबाट जोगिनका लागि छलफल चलिरहेको उनले बताए । तेस्रो चरणमा भने आधारभूत तहका व्यवसायहरुलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल हुने उनले बताए ।

उनले अब बचत तथा ऋण सहकारी संस्थाहरुमा रकमको अभाव हुन सक्ने बताए । रकमको अभाव हुन नदिनका लागि अहिले छलफल भइरहेको उनले बताए । लकडाउनपछिको वाणिज्य नीति, व्यापार नीति गहन विषय भएको तर यसमा कसैको ध्यान नपुगेको भन्दै उनले अब यसतर्फ सोच्नुपर्ने बताए ।

‘वित्तीय उपलब्धताको विषयमा हामी सजग भयौँ, यसको मिन्सहरु के–के हुन्छन् भनेर खोजी गर्यौं । रिमोट डिजिटलको विषयमा हामीले अध्ययन गर्यौ’ उनले भने, ‘अब पैसाको अभाव हुन्छ । अर्कोतिर मूल्यको श्रृंखला अवरुद्ध हुन्छ । राज्यले अनुगमन गर्न सक्यो भने मुद्रास्फिति दर यथावत रहन सक्छ, नत्र समस्या हुन्छ ।’

आधारभूत तहका व्यवसायको निरन्तरताको योजना के हो भनेर स्पष्ट नीति हुनुपर्ने उनी बताउँछन् ।  अब व्यवसायिक निरन्तरतालाई ध्यान दिनुपर्ने र सबैको वित्त प्रणालीमा पहुँच हुनुपर्ने अध्यक्ष पौड्यालको बुझाइ छ ।

विभाग भन्छ– बैंकलाई जस्तो अधिकार छैन, तर सहजीकरण गर्छौं

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुमा तरलता समस्या देखिन्छ भन्नेमा सहकारी विभाग पनि जानकार छ ।

विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अहिले सेवा नै बन्द रहेकाले तत्कालै समस्या नदेखिने बताए । तर, लकडाउन खुलेसँगै सहकारीहरुमा तरलताको समस्या देखिने रजिष्ट्रार पाण्डेको विश्लेषण छ ।

डा. टोकराज पाण्डे

सहकारी क्षेत्रलाई तरलताको समस्या परेको अवस्थामा विभागले आवश्यक सहजीकरण गर्ने पनि उनले बताए । बैंकहरुलाई तरलता अभाव हुँदा केन्द्रीय बैंकले सहयोग गर्छ, सहकारीमा समस्या पर्दा विभागले के गर्छ भन्न जिज्ञासामा रजिष्ट्रार पाण्डेले भने, ‘बैंकमा अप्ठेरो पर्दा राष्ट्र बैंकले वैधानिक तरलता अनुपात सहजीकरण गरिदिने हो, हामीलाई त्यो अधिकार छैन । यस विषयमा हामी आवश्यक सहजीकरण भने गर्नेछौं ।’

सहकारी क्षेत्रमा देखिने समस्या समाधानका लागि विभागले गर्नुपर्ने काम गर्ने उनले बताए । ‘अहिले कारोबार नै भइरहेको छैन, लकडाउन नै छ’ उनले भने, ‘लकडाउनपछि देखिने समस्या कसरी समाधान हुन्छ, हामी सहजीकरण गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment