Comments Add Comment

आउजीलाई आत्मदाह गराउन बाध्य किन ?

अस्पताल प्रशासनले अवकास पत्र थमाएपछि साँफेबगर  न.पा. वडा नं ६ का २७ वर्षीय एक युवा सिद्धार्थ आउजीले सोमबार आत्मदाह गरे । आउजी न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालमा डेढ वर्षदेखि सफाइ कर्मचारीको रुपमा काम गर्दै आएका थिए ।

अवकास आउजीले मात्रै पाएका थिएनन् । त्यहाँका लगभग ३३ जना कर्मचारीलाई अवकास दिने कुराको सुइँको पाएलगत्तै आउजीलगायत अन्य कर्मचारीले अवकास नदिनका लागि अस्पताल प्रशासन समक्ष हारगुहार पनि गरेका थिए |  तर अस्पताल प्रशासनले उनीहरूको गुहार नसुनेपछि अत्यन्तै गरिब परिवारका सिद्धार्थले अस्पताल परिसरमै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे |

आउजीले किन आत्मदाह गरे त ? यसको बारेमा गहिरो अध्ययन गर्न जरुरी छ।

आज विश्व कोरोना महामारीको संकटबाट ग्रस्त भएको कुरा जगजाहेर छ |  अरू मुलुकजस्तै नेपाल पनि कोरोना महामारी वा कोभिड–१९ बाट ग्रस्त छ | देश पूरै लकडाउनको अवस्थामा लामो समयदेखि चलिरहेको छ |  हामी सम्पूर्ण मानव समुदायमाथि कोरोना भाइरसले संकट निम्त्याइरहेको छ | सम्पूर्ण विश्व मानव समुदायलाई घरभित्र लकडाउनमा सीमित गरिरहेको अवस्था छ |

स्वास्थ्य संकटका बेला स्वास्थ्य संस्थामा आबद्ध डाक्टर, नर्स या अरू जोसुकैलाई पनि सरकारले विभिन्न सेवा सुविधा दिनुपर्नेमा उल्टै जागिरबाट निकालिनु अस्पताल प्रशासनको गैरजिम्मेवारी हो | जो जस सम्बन्धित छ, ती सबै निकायहरूको गैरजिम्मेवारीपनको कारणले गर्दा एक जना गरिब नागरिक बाध्य भएर आफ्नै शरीरमा पेट्रोल छर्किएर देह त्याग गर्नु  भनेको ठूलो घटना हो |

संकटको बेलामा राज्यले स्वास्थ्यकर्मीलाई काममा उत्प्रेरित गराउनको लागि प्रोत्साहन भत्ता, बिमा व्यवस्थालगायत विभिन्न सहुलियत र स्वास्थ्यकर्मीहरूको जीउ-धनको सुरक्षालगायत योजना ल्याउनुको  सट्टा घरमा लकडाउनमा बसेको बेला रोजीरोटी खोसेर एउटा गरिब नागरिकलाई आत्महत्या गर्न बाध्य पार्नु भनेको कोरोना भाइरसभन्दा खतरनाक विषय मान्न सकिन्छ ।

बिहान-बेलुका कसरी छाक टार्ने भनेर समस्यामा रहेका आउजी अस्पतालमा जागिर गर्नुभन्दा केही वर्षअघि भारतमा काम गरेर आएका थिए । उनी पछि फेरि विदेश जाने सोचमा थिए | विदेश जाने सोचाइमा रहेका आउजीले घर नजिकैको अस्पतालमा जागिरको लागि विज्ञापन भएपछि उनको फेरि विदेश जाने सोच बदलियो । अन्तमा उनी जागिरमा पनि छनोट भए |

तर विडम्बना नै भन्नुपर्छ, जागिर सुरु गरेको छोटो समय र त्यसैमाथि यस्तो संकटको बेलामा अस्पतालमा कार्यरत कर्मचारीलाई हटाएर मर्न बाध्य बनाउने निकायलाई कसले कारबाही गर्ने ?  राज्य भनेको सम्पूर्ण नेपाली नागरिकको हो | कोही गरिब हुन् या धनी । ती सबैको बाँच्न पाउने अधिकार सुरक्षित छ | हरेक नेपाली नागरिकलाई खान, बस्न, स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्नुपर्छ |

आज एक २७ वर्षीय होनहार युवा बेरोजगार  हुनुपरेकै कारणले आफ्नै शरीरमा आफैँले आगो लगाएर मर्नु भनेको दर्दनाक घटना हो | यसो किन गरे त ? पक्कै पनि आउजी बेरोजगार भइसकेपछि स-साना आफ्ना सन्तानहरूलाई कसरी पालनपोषण गर्ने, कसरी शिक्षादीक्षा दिलाउने वा समग्रमा आफ्नो परिवारको रोजीरोटी कसरी चलाउने भन्ने ठूलो पिरले नै आत्मदाह गरेका होलान्  |

हरेक नेपाली नागरिकको समस्या विकराल छ | आउजी त एक जना प्रतिनिधि पात्रमात्र भए । यस्ता घटनाहरू हरेक वर्ष नदोहोरिएका हैनन् । तर आज जुन परिवेशमा आउजीले आत्मदाह गरे यो परिवेश भनेको विश्व नै संकटमा परेको बेला हो |

राज्यले अब यस्ता नागरिकहरूलाई बचाउनका लागि देशभरिकै गरिबीमा बाँच्न बाध्य भएका नागरिकलाई कि त रोजगारीको व्यवस्था मिलाउनुपर्छ हैन भने घर परिवारलाई पुग्नेगरी महिनाभरि तलबको व्यवस्था गर्नुपर्छ | खान नपुगेको कारणले, स्वास्थ्य उपचार गर्न नसकेको कारणले, शिक्षादीक्षा दिलाउन नसकेकै कारणले अथवा आफ्ना बुढा बुबा आमा, स-साना बच्चाहरूलाई पालन पोषण गर्न नसकेकै कारणले कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउन बाध्य नहुनको लागि नेपाल सरकार गम्भीर हुनु जरुरी छ | त्यो प्रकारका योजनाहरू, कार्यक्रमहरू ल्याउनुपर्छ |

यस्तो महान् संकटको बेलामा अमेरिकाको सहयोगद्वारा सञ्चालित बयालपाटा अस्पतालमा कार्यरत ३३ जना कर्मचारीलाई हटाउनुको सट्टा बरु उहाँहरूलाई कसरी रोजगारीमा निरन्तरता दिने भनेर योजना बनाउनुपर्थ्यो | अस्पताल आर्थिक सङ्कटमा भएको हो भने पनि स्थानीय निकायलगायत प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरी ती तल्ला तहका कर्मचारीहरूको रोजीरोटी खोसिनु हुँदैन थियो |  विभिन्न सेमिनार, गोष्ठीलगायतका खर्च कम गरी यस्ता निम्न आर्थिक हैसियत भएका कर्मचारीहरूलाई आत्मदाह गर्न बाध्य गराउनु हुँदैन थियो | कर्मचारी हटाउनु अस्पतालको बाध्यता होला तर अन्य विकल्प खोजेर यस्तो चरम संकटको बेलामा कर्मचारी हटाउनु अस्पताल प्रशासनको चरम लापरवाही हो |

एक जना २७ वर्षे युवामा स-साना बच्चाहरूप्रतिको एउटा सपना थियो होला | घर नजिकैको जागिर गरेर आफ्नो परिवारको पालनपोषण गर्ने जुन सोच थियो | त्यो बीचैमा अधुरो रह्यो | राज्य केका लागि ? गरिब, दु:खी, असहाय, वृद्धहरूको व्यवस्थापन गर्न अथवा समग्र आफ्ना नेपाली नागरिकहरूको रक्षा गर्नु राज्यको कर्तव्य हो | तर हाम्रो देशमा खान नपाएर औषधि उपचार गर्न नसकेर, छोरा छोरीलाई शिक्षादीक्षा दिलाउन नसकेरलगायत विभिन्न घटनामा मृत्युवरण गर्नुपरेको हरेक दिन जसो समाचारमा सुन्न पाइन्छ | यस्तो दर्दनाक घटनाहरू हामीले कहिलेसम्म सुनिरहने ? धेरै व्यवस्थाहरू परिवर्तन भए,  देशमा धेरै सरकारहरू बने तर गरिब जनताहरूको अवस्था फेरिन सकेन ।

अब गरिब नागरिकहरूको अवस्था फेर्नेतिर लाग्नुपर्छ | अति भो ! आउजीले रोजगारी गुमेको अवस्थामा आत्मदाह गरेर मृत्यु रोज्नु भनेको गम्भीर पीडा हो । जुनसुकै व्यक्ति भए पनि आफ्नो शरीरमा आफैँ आगो लाएर मर्नु भनेको स-साना दु:खले गर्दा मरेको हुँदैन | फेरि पनि आउजीजस्ता युवाहरू मर्न बाध्य हुनुपरेको खबर नसुनियोस |

आउजी परिवार जुन आज शोकमा छ | ७ महिनाको बच्चाले आफ्नो अभिभावक गुमाएको छ | भर्खरकी युवती जसले आफ्नो श्रीमान् गुमाएकी छिन् | अब उहाँहरूको साहारा कोही पनि छैन | आउजी परिवारको यो सन्तानलाई पालन पोषण, शिक्षादीक्षा दिलाउने व्यवस्था गरियोस् | यो परिवारका सदस्यले फेरि पनि खान लाउनकै कारणले ज्यान गुमाउनु नपरोस् | सम्बन्धित निकायले सिद्धार्थ आउजीको परिवारलाई राहत हुने काम गरोस् | तिम्रो आत्माले शान्ति पाओस् भाइ सिद्धार्थ आउजी | हार्दिक श्रद्धाञ्जलि !!

(लेखक नेकपाका नेता हुन् )       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment