Comments Add Comment

पोखरा सरकारविरुद्ध प्रदर्शन : एक घन्टा शान्तिपूर्ण, त्यसपछि झडप !

‘२ जना प्रदर्शनकारी पक्राउ’

२९ जेठ, पोखरा । क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने र कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको परीक्षण बढाउनुपर्ने माग राख्दै पोखरामा बिहीबार प्रदर्शन भएको छ ।

‘स्वतन्त्र पोखरेली युवा’ समूहले जिल्ला प्रशासन कार्यालयअगाडि संयुक्त रुपमा १ घन्टा मौन बसेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

सयौंको संख्यामा उपस्थित भएकाले युवाले हात हातमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर विरोध जनाएका थिए । ‘यतिबेला सबैभन्दा महत्वपूर्ण भनेको जनताको स्वास्थ्य हो,’ प्रदर्शनकारी सलिजा श्रेष्ठले भनिन्, ‘क्वारेन्टिन सेवामा पनि वर्ग छुट्याइँदैछ । यो अमान्य कुरो हो ।’

श्रेष्ठले निम्न, उच्च वर्ग, सुगम र दुर्गम क्षेत्र सबैमा समान किसिमको राज्यको सेवा पुग्नुपर्ने माग राखिन् । ‘नेपालको संविधान धारा ३५ ले पनि सबै जनताको स्वास्थ्य सुनिश्चितता गरेको छ । यस्तो अवस्थामा राज्यले नै धेरै पैसा तिर्नेलाई राम्रो क्वारेन्टिन र नहुनेलाई झुप्रो÷गोठमा बसाल्ने गर्नुहुँदैन ।’

प्रदर्शनकारीले ‘सरकारसँग थियो अलिकति आस, क्वारेन्टिनमा कुर्दाकुर्दै गयो सास’, ‘आरडीटी परीक्षण रोक र पिसिआर परीक्षण बढाऊ’, ‘प्रभावकारी स्वास्थ्योपचार, हरेक नागरिकको अधिकार’ लेखिएका प्लेकार्ड सहित सरकारको मौन विरोध गरेका थिए ।

जब नेविसंघ प्रधानमन्त्रीविरुद्ध नारा लगाए…

‘स्वतन्त्र पोखरेली युवा’ समूहले ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय कास्की, सहिद चोकमा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो । प्रदर्शन सुरु हुनुअगावै उनीहरुले भनेका थिए, ‘हाम्रो प्रदर्शन १२ बजे सकिन्छ । त्यसपछि सबै घरघर जानेछौं । कोही यहाँ बस्ने छैनौं ।’

तर, एक घन्टाको शान्तिपूर्ण प्रदर्शनपछि वातावरण तनावग्रस्त स्थितिमा पुग्यो । राष्ट्र बैंक चोकमा नेपाल विद्यार्थी संघका युवाले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध नाराबाजी गर्न थालेपछि भिड उत्तेजित हुन पुगेको थियो । उनीहरुले केपीका कारण सारा नेपालीले दुख पाएको भन्दै नाराबाजी गरेका थिए ।

सयौंको संख्यामा उपस्थित भएका युवालाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको थियो । नाराबाजी गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘कतिजना पक्राउ परे भन्ने रिपोर्ट भइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इस्पेक्टर नरहरि अधिकारीले भने ।

स्वतन्त्र पोखरेली युवा समूहले नाराबाजीसहित भएको प्रदर्शनको जिम्मा आफूले नलिने जनाएको छ । ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्न खोजेका थियौं । तर, राजनीतिक रङ दिने कोशिस गरियो, यसको हामी घोर भत्र्सना गर्दछौं,’ समूहले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment