Comments Add Comment

शिक्षा क्षेत्रको लकडाउन खोलिदेउ, सरकार !

अब मास्टर्स डिग्रीसम्मकै नतिजा आन्तरिक मूल्यांकनबाट गरौं

बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्योलमा रहेका करिब पाँच लाख विद्यार्थी खुसी भए, मानसिक तनावबाट मुक्त भए । कारण– सरकारले एसईईको परीक्षा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गर्यो ।

सरकारले एसईई नै खारेज गर्ने निर्णय त गरेको छैन, यस वर्षको मात्रै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने भन्यो । वर्षौंदेखि हाउगुजीको रुपमा चित्रण गरिएको फलामे ढोका साँच्चै खोल्न अब एसईई सधैका लागि खारेज गर्नुपर्छ । यसतर्फ राज्यको ध्यान जानैपर्छ । जे होस् यस वर्षका एसईईका विद्यार्थीहरु भने आफ्नो भविस्य निर्माणको नयाँ उडानका लागी तीन महिना लामो अनिश्चितता पछि स्वतन्त्र भएका छन् ।

तर, परीक्षा एसईईको मात्र छैन । कोभिड–१९ को फैलिँदो संक्रमण र करिब तीन महिना लामो बन्दाबन्दीले एसईईलाई मात्रै प्रभाव पारेको होइन, अरु क्षेत्र जस्तै पुरै शैक्षिक क्षेत्र अन्योलमा छ ।

नियमित अध्ययन–अध्यापन रोकिएको धेरै समय भैसक्यो । तर, यस क्षेत्रलाई नियमित अवस्थामा फर्काउने न त विश्वविद्यालयहरुसँग भरपर्दो योजना छ न सरकारसँग । एसईई बाहेकका करिब ६४ लाख विद्यार्थीहरु लकडाउनमा घरमै बसिरहेका छन् ।

सरकारी तथ्यांकअनुसार कक्षा ११ र १२ का परिक्षाको अन्तिम तयारीमा ९ लाख ६२ हजार विद्यार्थीहरु रहेका छन् । उनीहरुको २०७६ को चैतमा हुने भनिएको परीक्षा बन्दाबन्दीका कारण स्थगित छ । एसईईबारे बुधबार सरकारले निर्णय गर्दै गर्दा ११ कक्षा र १२ लाई सम्झिएन वा मौन बस्यो ।

माथिल्लो तहको पढाइ पनि बन्द छ । विश्वविद्यालयका पठनपाठनसँगै परीक्षा पनि स्थगन भएका छन् । केहीले अनलाइन पठनपाठन सुरु गरे पनि प्रभावकारी हुन सकिरहेका छैनन् । एकारित अनलाइन प्रविधिको पहुँच कम छ भने अर्कोतिर केहीले अनलाइनबाट अध्यापन गराउँदा पनि के पढाउने, कहाँबाट पढाउने जस्ता अन्योल छ ।

लामो समय खाली बस्नुपर्दा विद्यार्थीमा एकखालको छट्पटी सुरु भएको छ । युवा मष्तिस्कमा अनावश्यक मनोवैज्ञानिक दबाव परेको छ । यहाँसम्म आइपुग्दा यो उकुस–मुकुसबाट शैक्षिक संस्था, अभिभावक र विद्यार्थी सबैलाई तत्काल एउटा निकास चाहिएको छ ।

कसरी दिने निकास ?

हाम्रा शिक्षण पद्दति र मूल्यांकन पद्दति बर्षौंदेखि प्रायः सबै तहमा एउटै तरिका र अभ्यासमा चल्दै आएका छन् । आन्तरिक मूल्यांकनलाई कम महत्व दिने र अन्तिम परीक्षालाई नै मुख्य मूल्यांकन मान्ने । जसले गर्दा हाम्रा कक्षाकोठाका सिकाइहरु र अभ्यास फितला छन् । बर्षभरि शिक्षक विद्यार्थी दुवैले आन्तरिक मूल्यांकन वा आन्तरिक परीक्षाका बिषयमा मतलव नगर्ने, जे गर्ने हो, अन्तिम परीक्षाका लागि गर्ने यस्तो संस्कारबाट आएका हामीलाई आन्तरिक मूल्यांकनलाई नै आधार मानेर नतिजा प्रकाशन गर्ने कुरा असहज लाग्नु स्वाभाविक नै छ ।

अहिले यही मानसिकतावीचको द्वन्द्व मन्त्रालयदेखि विश्वविद्यालयसम्म प्रष्ट देखिन्छ ।

सिकाइका मूल्यांकन प्रणालीबारे विभिन्न विषयअनुसार शिक्षाविदहरुका धेरै अवधारणाहरु पाइन्छ । त्यस बिषयमा यहाँ चर्चा गर्न खोजिएको हैन । तर, केही घण्टाको अन्तिम परीक्षामा देखाएको प्रस्तुतिअनुसार विश्वविद्यालयदेखि शैक्षिक क्षेत्रको नेतृत्वसम्म पुगेकाहरुमा आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने विषयमा सकारात्मक नहुनुको परिणामण्बाट एसईई दिने अलमलमा रहेका विद्यार्थी मुक्त भए पनि आज लाखौं विद्यार्र्थी अन्योलमा छन् ।

लकडाउन खुलेको भोलि पल्टै परीक्षा हुन्छ भनेर समय समयमा आउने समाचारले आतङ्कित बनाइरहेको छ । विद्यार्थीहरु मनोरोगले ग्रसित हुने खतरा भइसक्यो ।

शिक्षामन्त्री आफैंले पनि लकडाउन खोलेको १५ दिनपछि परीक्षा गर्न सकिने बताएका छन् । जिम्मेवार निकायबाटै कोभिड १९ सँगको लडाइँले बन्द भएका शैक्षिक संस्थाहरु सबैभन्दा अन्तिममा खुल्छन् पनि भनिएको छ । के यस्तो अवस्थामा पहिलेजस्तै परीक्षाका निम्ति लकडाउन खुल्ने प्रतिक्षा गर्नु जाहेज छ ?

युवा मष्तिकलाई महिनौंसम्म मानसिक दबावमा राखिराख्नु आफैंमा प्रत्युत्पादक हुन्छ । त्यसैले लकडाउन खुल्ने प्रतिक्षा गर्नु जायज मान्न सकिँदैन ।

हो, विश्वविद्यालयहरुलाई कानुनी र प्रक्रियागत जटिलता छन् । त्यसलाई नजर अन्दाज गर्न खोजिएको हैन । यी हामी आफैंले निर्माण गरेका मान्यता हुन् । यी मान्यताहरुलाई समय अनुसार र आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु नै वैज्ञानिक हुन्छ । यसमा आगामी दिनका लागि पनि आन्तरिक मूल्यांकन पद्दतिलाई प्राथमिकतामा राखेर विश्वविद्यालयहरुले विषय र तहअनुसार आन्तरिक मूल्यांकनको विधि तथा मापदण्ड तय गर्न सक्छन् ।

जसबाट घोकन्ते शैक्षिक परिपाटी पनि विस्थापन हुन्छ र ज्ञान मात्र नभएर विद्यार्थीमा सीप सिकाइको प्रेरणासमेत मिल्छ ।

आज प्रायः सबै विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा संचालक भैरहेको छन् । यी तहमा आन्तरिक मुल्यांकनलाई प्राविधिक विषयहरुमा प्राथमिकता राखिएकै छ ।

अध्यापन सकिएर अन्तिम परीक्षामात्र बाँकी रहेका विद्यार्थीहरुका लागि आन्तरिक मूल्यांकनका लागि कतिपय सन्दर्भमा पुनः शिक्षकले मेहेनत गर्नुपर्ने अवस्था छैन । शिक्षकले आन्तरिक मूल्यांकनको अंक दिइसकेका छन् । विधा र स्तर हेरेर सरकार र सम्बन्धित विश्वविद्यालयले एसईई जस्तै सहज निर्णय गर्न अब पछि हट्न हुँदैन ।

विश्वविद्यालयहरुसँग अब दुई विकल्प छन् । एउटा– शैक्षिक पात्रो परिवर्तन गरेर सेमेस्टर कोल्याप्स गर्ने । अर्को– आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेर नयाँ सेमेस्टरको तयारीमा जुट्ने ।

कोभिड –१९ को प्रभावले देशको अर्थतन्त्रमा परेको असर विद्यार्थी र तिनका अभिभावकमा पनि उत्तिकै छ । परिवारको आर्थिक अवस्था खस्केको छ, आफ्नो अभिभावकको रोजगारी गुमेको छ । कोभिड–१९ को प्रभाव सामान्य अवस्थामा फर्किए पनि आफ्नो र परिवारको आर्थिक संकटले धेरै विद्यार्थीले आफ्नो अध्ययन निरन्तरता दिन नसक्ने अवस्था आउँदैछ ।

यस्ता अवस्थामा लकडाउन खुल्नासाथ जसरी भए पनि परीक्षा दिन आउ भन्नु त्यति सान्दर्भिक नहोला कि ? हाम्रो शिक्षा प्रणालीमा व्यापक रूपान्तरण आवश्यक रहेको छ जसलाई समय अनुसार व्यवहारिक बनाउँदै जानुपर्ने चुनौती पनि छ ।

कोभिड–१९ को संक्रमणको उत्पन्न प्रभावले हाम्रा पुरातन शैक्षिक चिन्तनलाई जरैबाट हल्लाएको छ । वर्षभरि व्यक्तिगतकाममा व्यस्त हुने र परीक्षाको अघिल्लो रात कण्ठस्त पारेको भरका पास हुने विशेष गरी स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुमा आदत नै छ । त्यसैले हाम्रा विश्वविद्यालयहरुका शिक्षण पद्दति र मूल्यांकन पद्दति दुबैमा व्यापक हेरफेरको आवश्यकता छ । आगामी दिनमा आन्तरिक मूल्यांकनको क्रेडिटलाई महत्व दिँदा विद्यार्थीको कक्षाकोठामा उपस्थिति पनि बढेर जान्छ ।

स्नातक र स्नाकोत्तर तहका अधिकांश सरकारी क्याम्पसहरुमा कस्तो थिति बसेको छ भने बिद्यार्थी एक शैक्षिक सत्रमा तीनपटक क्याम्पस जान्छ – भर्ना गर्ने समयमा, परीक्षा फाराम भर्न र अन्तिम परीक्षा दिन । किनकि कक्षाकोठामा जानु र नजानुमा तात्विक फरक बिद्यार्थीले महशुस गर्दैन । यस्तो मानसिकता बसिसक्यो कि कक्षामा नियमित जानेले पनि र नजानेले पनि अन्तत नोट र गेसपेपर घोकेर पास गर्ने हो । यो वास्तविकता सबैले भोगेका छौ ।

यी यावत कुराले भनिरहेको छ, शिक्षक र बिद्यार्थी दुवै कक्षाकोठातिर फर्क, त्यो अनलाइन कक्षा नै किन नहोस् । शिक्षकले बिद्यार्थीको आन्तरिक मूल्यांकन निरन्तर लेउ, जसले शिक्षक आफैले पढाएको विषयवस्तुको स्वःमूल्यांकन गर्न सहज बनाउँछ । शिक्षकले कक्षाकोठामा गर्ने आन्तरिक मूल्यांकन बिनाको विद्यार्थीको सिकाइको मूल्यांकन कसरी पूर्ण मान्न सकिन्छ ?

विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयमा कोभिड–१९ को प्रभावअघिदेखि नै अनलाइन कक्षा पठनपाठन र मूल्यांकन चलिरहेकै छन् । यी अभ्यासहरु विश्वासनीय र भरपर्दा मानिएको पनि छ ।

विकल्प अनेक छन्, शिक्षा क्षेत्रको लकडाउन खोलिदेउ सरकार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment