Comments Add Comment

कांग्रेस नेताहरुसँग प्रधानमन्त्री : आरडीटीबारे मौन, अनियमितताको छानबिन गर्ने वचन

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् । यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने उनले बताए ।

प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।

जवाफमा प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका हुन् । सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उनले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’

प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताएका छन् । यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उनले जोड दिएको भेटमा सहभागी कांग्रेसका एक सांसदले बताए ।

प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार गरेका छन् ।

नेपालमा कोरोना नियन्त्रणमै रहेको अवस्थामा भारतबाट ठूलो संख्यायामा मानिसहरु फर्किएपछि समस्या भएको उनले बताए । आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेपछि विस्तारै मानिसहरु आउलान् र व्यवस्थित गर्न सकिएला भन्ने सोचेको तर बाढीजसरी एकै पटक मानिसहरु आउँदा समस्या भएको उनले बताए ।

‘यो त क्वारेन्टिनभन्दा पनि भारतबाट आएकाहरुलाई एकै ठाउँमा राखेको मात्र हो’ उनले भने ।

भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । तर प्रधामन्त्री ओलीले आरडीटीबारे केही बोलेनन् ।

तर नेपालीहरुमा रोग प्रतिरोधी क्षमता राम्रो भएको फेरि दोहोर्‍याएको एक सांसदले बताए । करिव एक घण्टा बोलेका उनले आफूले इम्युनिटी पावरबारे संसदमा बोलेको विषयलाई धेरैले हल्का रुपमा लिएको गुनासोसमेत गरेका छन् ।

हेर्नुहोस् कांग्रेसको ज्ञापनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment