Comments Add Comment

भारतबाट आउनेको चाप घट्यो, तर सीमामा अझै हुन्न परीक्षण

स्थलमार्गबाट आउनेको व्यवस्थापनमा झापा र रुपन्देही अगाडि

झापाको काकडभिट्टा नाकामा बनाइएको होल्डिङ सेन्टर ।

३ असार, काठमाडौं । रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किने क्रम केही घटेको पाइएको छ । तर अहिले पनि सरकारले तोकेको देशभरका २० वटा नाकाबाट दैनिक चारदेखि पाँच हजार मानिस आउने गरेको तथ्यांक छ ।

सरकारी तथ्यांकअनुसार हालसम्म भारतबाट दुई लाख ४६ हजार नागरिक फर्किएका छन् । यसरी फर्किनेमध्ये धेरै जेठ ११/१२ मा फर्किएका हुन् । भारतले लकडाउन खुकुलो बनाएर रेल्वे सेवा सुरु गरेसँगै ठूलो संख्यामा नेपालीहरू नेपालको सीमा आइपुगेका थिए । उनीहरूको व्यवस्थापन पनि भद्रगोल भएको थियो ।

परीक्षणविना नै नेपाल प्रवेश गरेका उनीहरूको स्थानीय तहमा क्वारेन्टिन पनि राम्रोसँग भएन । त्यही कारण क्वारेन्टिनस्थलमा कतिपय संक्रमित भएका छन् ।

अहिले पनि क्वारेन्टिनमा एक लाख ३३ हजारभन्दा बढी छन् । तर सीमामा भने चाप घटेको छ ।

धेरैले दुःख पाएपछि बल्ल सुधार

कोभिड–१९ संकट व्यवस्थापन सेन्टरले भारतबाट आउनेहरूलाई कसरी व्यवस्थित रुपमा सीमाबाट स्थानीय तहसम्म पुर्‍याउने भनेर कार्ययोजना बनाएको थियो ।

तर लामो समयसम्म त्यो प्रस्ताव अलपत्र रह्यो । जब जेठ ११/१२ मा सीमामा ठूलो संख्यामा नागरिकहरू जम्मा भए, तब कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले छलफल थाल्यो । नेपाल प्रवेशका लागि २० वटा नाका तोकेर सुरक्षा निकायसँग समन्वय गर्नेगरी सेनालाई जिम्मा दिँदा २६ जेठ भइसकेको थियो ।

अहिले सीमा नाकामा व्यवस्थापन केही सुध्रिएको छ । तर यो पर्याप्त भने नभएको अधिकारीहरू बताउँछन् । एक वरिष्ठ सैनिक अधिकृत भन्छन्, ‘हवाई मार्गबाट दैनिक आउनेको संख्या ५ सयभन्दा कम छ, सीमामा ५ हजारसम्म आएका छन्, त्यसैले व्यवस्थापनमा केही जटिलता हुनुलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

गत शनिबार मात्रै सरकारले तोकेका २० वटा सीमा नाकाबाट चार हजार ५९९ जना नेपाली आएका छन् भने आइतबार तीन हजार ८०४ जना आएका छन् ।

शनिबार र आइतबारको तथ्यांक हेर्दा सबैभन्दा धेरै कैलाली, कञ्चनपुर, बाँके, रुपन्देही, झापा र सिराहाबाट नागरिक आइरहेका छन् । कैलालीको नाकाबाट शनिबार एक हजार ३५७ र आइतबार एक हजार ८३४ जना नेपाल भित्रिएका छन् ।

कैलालीका प्रहरी प्रमुख एसपी अनुपशमशेर जबरा पछिल्लो समय भारतबाट आउने नागरिकको संख्या उल्लेख्य रुपमा कम हुँदै गएको बताउँछन् । ‘कुनैबेला भारतबाट दैनिक पाँच हजार नागरिकसम्म आएको रेकर्ड छ’, उनले अनलाइनखबरसँग भने, ‘अहिले दिनमा हजारदेखि दुई हजारको हाराहारीमा आउने गरेका छन् ।’

कञ्चनपुरबाट क्रमशः शनिबार र आइतबार ४५५ र ४९०, बाँकेबाट ५८९ र ६१३, रुपन्देहीबाट ४६८ र ६३३, झापाबाट २२५ र १७८ र सिराहाबाट १५१ र ७३ जना भित्रिएका छन् ।

तर काँकरभिट्टाबाहेक सबै नाकामा नेपाल प्रवेश गर्नेहरूको परीक्षण गर्ने गरिएको छैन । उनीहरूको एउटै भनाइ छ, ‘परीक्षणका लागि किट अभाव छ ।

काँकडभिट्टाबाट आउनेहरूको भने आरडीटी टेस्ट हुन्छ । ‘काँकडभिट्टामा सबैको आरडीटी परीक्षण गरेर पठाउने व्यवस्था मिलाएका छौं’, नेपाली सेनाको श्रीनाथ गण, चारआलीका कर्णेल अमरजंग थापाले अनलाइनखबरसँग भने, ‘नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासनलगायत सबैको समन्वयमा भारतबाट आउनेको व्यवस्थापन गरिरहेका छौं ।’

झापा र रुपन्देहीको व्यवस्थापन राम्रो

सरकारले तोकेको सीमा क्षेत्रमध्ये झापा र रुपन्देहीको व्यवस्थापन अन्यत्रभन्दा राम्रो पाइएको छ ।

झापामा सीमाबाट प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै बाटो तय गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मेची पुलमुनिबाट आउने गरेका छन् भने भारततिर जाने पुलमाथिबाट आउँछन् । नेपाल प्रवेश गर्नेबित्तिकै हात धुने र ज्वरो नाप्ने व्यवस्था छ । यसको संयोजन जनस्वाथ्य कार्यालयको टोलीले गर्छ ।

त्यसपछि नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लैजान्छ । ‘अन्तर्वार्ता नसकिउञ्जेल उहाँहरूलाई अल्छी नलागोस् भनेर वाइफाईको पनि व्यवस्था गरिएको हो’, झापाका एक सुरक्षा अधिकृतले अनलाइनखबरसँग भने, ‘सेन्टरमा ८ वटै प्रदेशअनुसारको डकुमेन्टेसन गरेर विवरण संकलन गर्ने गरेका छौं ।’

त्यहीँ नेपाल टेलिकमले पनि उनीहरूलाई निःशुल्क सिम कार्ड वितरण गर्ने गरेको छ भने एक बोतल पानी, मास्क र खानाको पनि व्यवस्था गरिएको छ । महिलाहरूका लागि काँकरभिट्टा रोट्याक्ट क्लबले स्यानिटरी प्याड पनि उपलब्ध गराउँछ ।

सबै विवरण संकलन र आरडीटी परीक्षणपछि भारतबाट आउने व्यक्तिलाई सम्बन्धित जिल्लामा पठाउने गरिएको छ । यद्यपि, कतिपयको हकमा रुट नमिल्दा मेचीनगर अथवा भद्रपुरको कलवलगुढीमा रहेको क्वारेन्टिनमा राखिने गरिएको छ ।

रुपन्देहीको बेलहिया नाकामा भने नेपाल प्रवेश गर्नेबित्तिकै ज्वरो नापिन्छ, कोरोनासँग मिल्दो कुनै लक्षण भए/नभएको यकिन गरिन्छ । त्यसपछि नेपाली सेनाको बसमा राखेर होल्डिङ सेन्टरसम्म लगिन्छ । जहाँ उनीहरूको विस्तृत विवरण संकलन गरिन्छ ।

रुपन्देहीका एक सैनिक अधिकृतका अनुसार होल्डिङ सेन्टरमा पानी, बिस्कुटलगायतको पनि व्यवस्था गरिएको छ । यसका लागि उद्योग वाणिज्य संघले सहयोग गरेको छ । ‘उहाँहरूले सामान ल्याएर दिनुहुन्छ, हामी वितरण गरिदिन्छौं’ एक अधिकृतले भने ।

भारतबाट आएकामध्ये कसैलाई घर जान रुटका कारण समस्या भए केही दिन जिल्लाकै क्वारेन्टिनमा राखिनेछ । उनले भने, ‘सीमामा आरडीटी टेस्ट गर्न प्रयास गरिएको हो, तर आउने नागरिकको संख्या धेरै भएपछि परीक्षण नगरिएको पत्र लेखेर पठाउने गरेका छौं ।’ यसरी होल्डिङ सेन्टरमा संकलन गरिएको विवरणका आधारमा भारतबाट आउने नागरिकको निरन्तर निगरानी पनि भइरहेको छ ।

सुनसान देखिएको कैलालीको गौरीफन्टा नाका ।

कञ्चनपुरमा बिहान मात्र नेपाल छिर्ने व्यवस्था

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार जिल्लाको सीमा क्षेत्र गड्डाचौकीमा एसएसबी र नेपाली सुरक्षा संयन्त्रको समन्वयमा बिहानको समयमा मात्र सर्वसाधारणलाई आउन दिइने गरिएको छ ।

कुनै बेला चार हजार जनासम्म प्रवेश गरेकाले व्यवस्थापनमा समस्या हुने गरेको थियो । ‘अहिले बिहानमात्र प्रवेश गराएपछि सबैको विवरण संकलन गरेर व्यवस्थापन गर्न सहज भएको छ’, उनले सुनाए, ‘होल्डिङ सेन्टरमा लक्षण मिल्दो जुल्दो भए आरडीटी परीक्षण नभए सामान्य चेकजाँच मात्र गरेर पठाउने गरिएको छ ।’

जिल्लाका एक सैनिक अधिकृतका अनुसार बैजनाथ इञ्जिनियरिङ कलेजमा रहेको होल्डिङ सेन्टरमा संकलन गरिएको विवरण सम्बन्धित स्थानीय तहमा पनि पठाउन गरिएको छ । चिठी बनाएर यात्राका लागि पनि सहजीकरण गर्ने गरिएको छ । ‘पहिले आउने धेरै थिए, त्यसैले सबैको आरडीटी गर्न सम्भव भएन’, उनले सुनाए, ‘फेरि किटको उपलब्धता पनि नभएकाले समस्या भएको थियो ।’

जमुनाह नाकामा भारतबाट आउनेहरूको संख्या धेरै भएकाले आरडीटी परीक्षण सम्भव नभएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बताउँछन् ।

अहिले व्यक्तिको संख्या क्रमशः घट्दै गए पनि कुनै नयाँ निर्णय नभएको उनी बताउँछन् । ‘सुरुवाती चरणमा दैनिक ३/४ हजार जनासम्म आएका हुन्’, उपाध्यायले सुनाए, ‘अहिले दैनिक ५/७ सय जनासम्म नेपाल आउने गरेका छन् ।’

जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रशासकीय अधिकृत भवेशकुमार झा पनि किट अभावका कारण सीमाबाट आउनेको आरडीटी परीक्षण हुन नसकेको बताउँछन् ।

भारतमा लकडाउन खुकुलो हुँदा भिड घट्यो

सीसीएमसीले लकडाउनका कारण भारतमा रोजगारी गुमाएका तीन लाख ५० हजार नागरिक नेपाल आउने प्रारम्भिक अनुमान गरेको थियो । तर जेठमा ठूलो संख्यामा मानिसहरू आएसँगै यो संख्या ६ लाख पुग्ने अनुमान गरिएको थियो ।

हालसम्म दुई लाख ४६ हजार जना आइसकेका छन् । सीमामा नेपालीको चाप घट्दै गएको छ । ‘लकडाउन खुकुलो भएसँगै भारतमै रोजगारी पाइन थालेपछि नेपाल आउनको संख्या घटेको हुन सक्छ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘यहाँ रोजगारी नपाउने अवस्थामा यता आउनुभन्दा उतै काम गर्नु उचित लागेको हुन सक्छ ।’

सीसीएमसीका एक अधिकारीका अनुसार भारतमा भोकभोकै बस्नुपर्ने जस्तो समस्यामा परेका अधिकांश नेपाल आइसकेका छन् । पहिले नेपालमा संक्रमण कम भएकाले पनि कोरोनाबाट सुरक्षित हुन भन्दै घर फर्किन खोज्नेहरू धेरै थिए । तर अहिले नेपालमा पनि संक्रमण संख्या साढे ६ हजार नाघिसकेको छ । त्यसैले घर फर्किन चाहेका केही नेपाली भारतमै रोकिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment