Comments Add Comment

भाटभटेनीको भिडलाई छुट, मलहरूमा पसल खोल्न पनि निषेध !

विभेदकारी नीतिः भाटभटेनीलाई काखा, अरूलाई पाखा

८ असार, काठमाडौं । ‘यस्तो भिड हुन्छ भन्ने थाहा पाएको भए यहाँ आउने नै थिइनँ,’ अनामनगरको भाटभटेनी सपिङ कम्प्लेक्सबाट दुई झोला सामान लिएर निस्कका एक वृद्ध भुत्भुताउँदै थिए ।

मैतीदेवीमा बस्ने यी वृद्ध लकडाउनमा करिब ३ महिनासम्म घरभित्रै थुनिएर बसे । निजामती सेवाबाट अवकाश पाएको बताउने उनी अनुशासनपूर्वक लकडाउन पालना गरे पनि त्यसको उपलब्धि केही नभएको गुनासो गर्छन् ।

‘छोराछोरी बाहिरै छन्, घरमा हामी दुईजना मात्रै छौं,’ उनी भन्दै थिए, ‘धेरै घरायसी सामान किन्नुपर्ने थियो, भाटभटेनी खुल्यो भनेर यहाँ आएको त धेरै भिड पो रहेछ ।’

सामाजिक दुरी कायम गर्न कोही सचेत नदेखिएको उनले सुनाए । भाटभटेनीको बाहिर हेर्दा निकै सुरक्षित जस्तो लागे पनि भित्र अस्तव्यस्त रहेको उनको टिप्पणी छ ।

‘बाहिर हेर्दा चिटिच्याट्ट छ, दुरी कायमका लागि रेखाङ्कन पनि गरिएको छ भित्र गएपछि भने बेहाल,’ उनी भन्छन्, ‘सुरक्षा सावधानी त देखाउने दाँत मात्रै जस्तो भयो ।’

उनले भने जस्तै हामी पुग्दा भाटभटेनीको भित्र भद्रगोल नै देखियो । बाहिर सामाजिक दुरी कायम गरेर वान वाई वान प्रवेश गरेका भित्र गएपछि भित्र सबै एकै ठाउँमा झुरुप्प हुन्छन् ।

हामीले भाटभटेनीका अरु केही ग्राहकलाई सोध्यौं । उनीहरूको जवाफ थियो, ‘नकिनी हुँदैन, बाहिरभन्दा यहीँ सुरक्षित होला भन्ने लाग्छ ।’

कपडा किन्न पुगेका अनामनगरकै सन्तोष अधिकारीले भित्र पसेपछि तीन छक्क परेको सुनाए ।

‘मैले यस्तो भिड होला भन्ने सोचेकै थिइनँ, यहाँ आएपछि तीन छक्क परेँ,’ सन्तोषले भने । उनले बताएअनुसार पहिले सधैं किनमेलका लागि काठमाडौं मल जान्थेँ । काठमाडौं मल बन्द भएपछि न्युरोडको आरबी कम्प्लेक्स, पिपुल्स प्लाजालगायतका ठाउँमा किनमेल गर्ने गरेका उनी खाद्य सामग्री किन्नु परे मात्रै भाटभटेनी जाने गरेका थिए ।

अहिले पनि रहरले नभई बाध्यताले भाटभटेनी रोज्नु परेको उनले सुनाए । ‘अहिले अरू सपिङ मलहरू खुल्दैन, त्यसैले टिसर्ट र पाइन्ट किन्नका लागि भाटभटेनी आएको हुँ,’ उनले भने ।

विभेदकारी सरकारी नीति

सबै किसिमका पसल-व्यवसायहरू खुला हुने भने पनि सरकारले सपिङ मललाई तत्काल नखुल्ने सूचीमा राखेको छ । अर्कोतर्फ खुल्ने लिस्टमा ‘सुपरमार्केट’ लेखेर भाटभटेनीलाई अनुमति दिएको छ । जबकि भाटभटेनी पनि सपिङ मल नै हो ।

सरकारले बन्द राख्ने निर्णय गरे पनि वडाध्यक्षको सहमतिमा काठमाडौंका केही सपिङ मलहरू अहिले सञ्चालनमा छन् । सरकारले भाटभटेनीलाई काखा र अरूलाई पाखा गरेको सपिङ मल सञ्चालकहरूको गुनासो छ ।

‘भाटभटेनीले जे बेच्छ, हामी पनि त्यही बेच्ने हो,’ एक विक्रेता भन्छन्, ‘तर भाटभटेनीमा किन्दा कोरोना नलाग्ने अन्त किन्दा लाग्ने हुन्छ ?’

भाटभटेनीलाई मात्र अनुमति दिइनुमा यसका सञ्चालक मिनबहादुर गुरुङको सरकारसँग निकटताको परिणामका रुपमा हेरिएको छ । लकडाउन निकै कडा हुँदा पनि भाटभटेनी खोल्न अनुमति दिइएको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सरकारले गरेको निर्णय कार्यान्वयन गराउनु आफ्नो दायित्व भएको बताउछन् । सरकारले खुलाउने निर्णय गरेकोलाई खुलाउने र नखुलाउने निर्णय भएकालाई अहिले खुलाउन नदिइने उनले प्रष्ट पारे ।

वडाध्यक्षले दिएको सहमतिको बारेमा आफू जानकार नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment