Comments Add Comment
नेकपा बैठकमा ओलीको खोजी :

ओली–प्रचण्डको आसन फेरियो, बैठक धुम्बाराही सार्न माग

बालुवाटार बैठकमा परराष्ट्र मन्त्रीको ब्रिफिङ– भारतले वार्ता गर्न मानेन

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा छ । स्थायी कमिटीको बैठकचाहिँ प्रधानमन्त्रीनिवास बालुवाटारमा राखियो । व्यस्त प्रधानमन्त्रीलाई उपस्थित हुन सहज होस् भनेरै सरकारीनिवासमा बैठक राखिएको हो । तैपनि शुक्रबारको बैठकमा प्रधानमन्त्री हाजिर भएनन् ।

बुधबार स्थायी कमिटी बैठक सुरु भएका दिन सम्बोधन गरेका अध्यक्ष ओली शुक्रबार गयल भए । प्रधानमन्त्री अनुपस्थित भएकोमा नेताहरुले आपत्ति जनाए । केही नेताले त प्रधानमन्त्री अनुपस्थित हुने हो भने बैठक बालुवाटारबाट धुम्बाराहीमा सानुपर्ने मागसमेत गरे ।

शुक्रबार बैठक सञ्चालन गर्दै महासचिव विष्णु पौडेलले ‘एउटा काम छ, त्यो सकेर आउँला, बैठक सुरु गर्दै गर्नुस्’ भन्ने प्रधानमन्त्री ओलीको सन्देश सुनाएका थिए ।

तर, स्थायी कमिटी सदस्य रघुजी पन्तले आपत्ति जनाए । उनले ‘प्रधानमन्त्री नआई कसरी हुन्छ, बैठकमा आउनुपर्छ’ भने ।

बैठकमा बोल्ने अरु नेताले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको अनुपस्थितिप्रति असन्तुष्टि जनाए । नेता भीम रावलले बैठक राख्न आनाकानी गर्ने, राखेको बैठकमा पनि नेतहरुको कुरा नसुन्ने र केही भन्यो कि सरकारको विरोध गरेको भन्ने गरेको भन्दै आपत्ति प्रकट गरे ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अहिलेसम्मको कामकारवाही हेर्दा प्रधानमन्त्री ओलीले पार लगाउनुहुन्न भन्ने देखिएको बताइन् ।

बैठकमा प्रधानमन्त्री अनुपस्थित हुनु आपत्तिजनक भएको उनले बताइन् । प्रधानमन्त्री सहभागी नहुने भए बैठक पार्टी कार्यालय धुम्बाराहीमा सार्न शाक्यले माग गरिन् ।

अध्यक्ष ओलीको अनुपस्थितिमा बैठकको अध्यक्षता गरेका पुष्पकमल दाहाल प्रचण्डले बैठक अगाडि बढाए । ‘प्रधानमन्त्री आउनुभएन त के गर्ने’ भन्दै उनले बैठक सुरु गरेका थिए ।

‘वार्ता गर्न भारतले मानेन’

शक्रबार बैठकको प्रारम्भमै नेता लीलामणि पोखरेलले सीमा विवादबारे के–के भएको छ, जानकारी दिन सरकारसँग माग गरे । साथै चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको विषय सञ्चार माध्यमहरुमा आएको भन्दै पोखरेलले सरकारको धारणा मागे ।

स्थायी कमिटी सदस्यसमेत रहेका कृषिमन्त्री घनश्याम भुसालले चीनले सीमा मिचेको समाचार सही नभएको भन्दै खण्डन गरे ।

भारतले गरेको सीमा अतिक्रमण र दुई देशको वार्ताबारे के भइरहेको छ भनेर नेताहरुले सरकारको धारणा मागेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि गरिएको आग्रह भारत नमानेको जानकारी बैठकमा गराए ।

सरकारले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गरिरहेको बताउँदै बैठकमा मन्त्री ज्ञवालीले भने, ‘तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक देखिएको छैन

बैठकमै आउन नभ्याउने प्रधानमन्त्रीको के काम परेछ ?

प्रधानमन्त्री ओली शुक्रबार दिनभरि कुन त्यस्तो महत्वपूर्ण काममा व्यस्त भए, जसले गर्दा बैठकमा एकैछिन पनि आउन भ्याएनन् ? आफैंले मिति तय गरेको पूर्वनिर्धारित बैठकमा आउन नभ्याउने गरी प्रधानमन्त्री ओलीलाई जरुरी परेछ ? यसबारे हामीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग जान्न खोज्यौं ।

प्रश्न– आज प्रधानमन्त्रीज्यू आज केमा व्यस्त हुनुभयो, जसले गर्दा बैठकमा सहभागी हुन भ्याउनुभएन ?

जवाफ– भेटघाटहरु थिए नियमित ।

प्रश्न– आज क्याबिनेट बैठक त थिएन होला ?

जवाफ – थिएन । हिजो गर्ने भनेको, नभ्याएको ।

प्रश्न– स्थायी कमिटीको बैठक त अस्ति नै तय भएको हो, यहीबेला नियमित भेटघाट पनि तय भएको थियो ?

जवाफ– हैन, यस्तो हो, सामान्यतः उदघाटनमा उहाँ (प्रधानमन्त्री) ले आफ्नो कुरा राख्नुभएकै छ । अहिले त धारणा राख्ने न हो ।

प्रश्न– तर, नेताहरुले आफ्ना धारणा राख्दा प्रधानमन्त्रीले सुनिदिए हुन्थ्यो भन्ने पनि त लाग्दो हो नि नेताहरुलाई ?

जवाफ– सबैले बोलेका कुरा प्रधानमन्त्रीज्यूसँग पुग्या छ । त्यो सिस्टमबाटै पुग्छ । त्यही भएर उहाँले नियमित कामलाई निरन्तरता दिँदै पार्टी बैठक पनि अगाडि बढाउनोस् भन्नुभएको हो । कुनै पनि बेला आउन पनि सक्छु भन्नुभएको हो, आउनुभएन ।

प्रश्न– भनेपछि, आज प्रधानमन्त्रीसँग अरु धेरै भेटघाटहरु रहेछन्, को–कोसँग भेटघाट भयो, भन्न मिल्ने भेटघाट हुन् कि ?

जवाफ– धेरै आन्तरिक भेटघाटहरु हुन् ।

दुई अध्यक्षको विशेष आसन फेरियो !

शुक्रबारको बैठकमा माधव नेपालसहितका नेताहरुको बिरोधपछि दुई अध्यक्षको आसन परिवर्तन भयो ।

शुक्रबारको बैठकमा भीम रावल, रघुजी पन्तलगायतका नेताले मुखै फोरेर दुई अध्यक्षलाई अलग सोफामा राखेर सामन्तवादी चिन्तन देखाइएको भन्दै आपत्ति जनाएका थिए ।

बरिष्ठ नेता नेपालले बुधबार बैठक शुरु भएकै दिन अध्यक्ष ओली बोल्दाबोल्दै पटक –पटक आपत्ति जनाएका थिए । उनले अध्यक्ष र अरु नेताको कुर्सी व्यवस्थापनप्रति समेत असन्तुष्टि जनाउँदै आफू बसेको कुर्सी अगाडि सारेर अध्यक्षद्वयकै लहरमा राख्न लगाएका थिए ।

यो पनि पढ्नुहोस चोचोमोचोमा ब्रेकअप !

माधव नेपाल पक्षधर नेताहरुले अध्यक्ष र अन्य नेताहरु फरक हुन् भनेर देखाउन आसनसमेत फरक राख्ने गरिएकोमा आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा बुधबार दुई अध्यक्षलाई सोफा र अन्यलाई कुर्सी राखिएको थियो । शुक्रबारको बैठकमा भीम रावलले कम्युनिस्ट पार्टीको बैठकमा नेताहरुको अलग–अलग आसन किन भन्दै अन्तर्राष्ट्रिय प्रलचनमा समेत नरहेको यस्तो भेदभावप्रति आपत्ति जनाएका थिए ।

रावल बोलेलगत्तै बैठकको अध्यक्षता गरिरहेका प्रचण्डले आफू बसेको सोफा हटाउन संकेत गरेका थिए । चिया ब्रेक भएका बेला प्रचण्ड बसेको सोफा हटाएर प्रधानमन्त्री निवासका कर्मचारीले अरु नेताहरु बसेजस्तै कुर्सी राखिदिए । प्रचण्ड कुर्सीमा बसेलगत्तै कार्यालय सचिव ईश्वरी रिजालले प्रधानमन्त्री ओली बस्ने सोफा पनि हटाउन लगाए ।

नेपाल पक्षधर एक स्थायी कमिटी सदस्यले भने– कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ता सबै बराबर हुन्छन् । अन्तर्राष्ट्रिय प्रचलन पनि अध्यक्ष वा महासचिव बेग्लै आसनमा बस्ने र अरुलाई फरक गर्ने भन्ने हुँदैन । तर, हाम्रो पार्टीमा पछिल्लो समय किन यस्तो अभ्यास भइरहेको छ ? कहिले दुई अध्यक्षमै विभेद, कहिले अध्यक्ष र अन्य नेतामा विभेद । यो सांस्कृतिक विचलनको कुरा हो ।

यसअघि केन्द्रीय कमिटी बैठक हलमा दुई अध्यक्षको फोटो राखिएकोमा पनि राजेन्द्र राई लगायतका माधव नेपाल पक्षधर नेताहरुले आपत्ति जनाएपछि फोटोहरु हटाइएको थियो ।

प्रधानमन्त्रीनिकट नेताहरुले भने पार्टीभित्र बैचारिक राजनीतिक विषयभन्दा पनि कुर्सी कस्तो राखियो, सोफाको रंग एउटै भयो कि फरक भयो ? जस्ता विषय उठाउन थालेको टिप्पणी गरेका छन् । नेताहरुको कुर्सीको व्यवस्थापन नियतवस फरक नगरिएको दाबी उनीहरुको छ । ओलीनिकट एक नेताले भने, बैठकमा खुद्रा मसिना कुण्ठा व्यक्त हुन थाले । मर्यादाहीन टिप्पणीहरु हुन थाले ।

यो पनि पढ्नुहोस खड्गप्रसाद ओलीको खड्गो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment