Comments Add Comment

कोरोना संक्रमितको शव व्यवस्थापन : स्थानीयको अवरोध, सेनाको सम्मान

२० असार, गोरखा । स्थानीयको अवरोधका बीच गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ ।

शनिबार मृत्यु भएका पालुङटार नगरपालिका-७ का ४४ बर्षीय संक्रमित पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।

शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । ‘चार जना नेपाली सेना शव व्यवस्थापनमा खटिनुभएको थियो,’ प्रमुख जिल्ला अधिकारी सुरेन्ऽ पौडेलले भने, ‘फुल सेट पीपीई लगाएर उहाँहरुले शव व्यवस्थापन गर्नुभयो ।’ सम्मानका साथ अन्त्येष्टि गरिएको प्रजिअ पौडेलले बताए ।

गोरखा अस्पतालको आइसोलेसनमा उपचारको क्रममा शनिबार विहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । जिल्ला सुरक्षा समितिको बैठकले लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

तर त्यहाँ शव व्यवस्थापन नदिने भन्दै स्थानीय विरोधमा उत्रिए । स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । भिडलाई तितरवितर पार्न ८ सेल अश्रु ग्यास हान्नु परेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । ‘स्थानीयले अवरोध गरे भनेपछि म आफैं फिल्डमा गएँ,’ उनले भने, ‘सम्झाउँने प्रयास गर्दागर्दै स्थानीयले ढुंगामुढा गरेपछि अश्रु ग्यास हान्न बाध्य भयौं ।’

अश्रुग्यास प्रहारपछि तितरवितर बनेका स्थानीयले शव व्यवस्थापन स्थल जाने सडक अवरुद्ध गरेका थिए । ‘अवुवा पुलबाट लुदी दोभान जाने सडकमा हिमपाइप राखेर बाटो अवरुद्ध गरे । हटाउन खोज्दा ढुंगामुढा गरेपछि लाठी चार्ज गर्नुपर्‍यो,’ एसपी गुरुङले अनलाइनखबरसँग भने ।

झडपका क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुष असार १६ गते कतारबाट आएका हुन् । पालुङटार नगरपालिका-७ को जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका उनीलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । त्यहही दिन राति उनलाई गोरखा अस्पताल ल्याइएको थियो । तर शनिबार बिहान ५ बजेर ५ मिनेटमा उपचारको क्रममा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment