Comments Add Comment

शिक्षक मार्गदर्शक कि आधुनिक दास ?

प्रकृतिको धनी देश तर गरिब जनता,

हिरामोति सुनमा टेकी फलाम खोज्छौँ अन्त । 

हो ! हाम्रो देश नेपाल प्राकृतिक स्रोत साधनले सम्पन्न मात्रै छैन, अनौठो पर्यावरणीय छटाले परिपूर्ण छ भन्छन् जानकारहरू । तर त्यो स्रोत र साधन के हो ? त्यसो हो भने नेपाली समाज किन दिन प्रतिदिन आर्थिक र सामाजिक दृष्टिले जटिल बन्दै गइरहेको छ ? किन यहाँका असङ्ख्य जनताहरू देशभित्र नअटाई वैदेशिक रोजगारको बहानामा विदेश भनाउँदो खाडीको बालुवामा भासिनु परेको छ ?

खोलेको गाँस खाएर परिवारसँग मेलापात गरेर दिन बिताउने सुन्दर सपना भएता पनि गाँस, बास र कपासकै लागि देशका कर्मठ युवायुवती बाहिरिनु परेको यथार्थ हामीसँग विद्यमान छ । तरुनी छोरीको बैँस होस या धर्मपत्नीको भोक साट्नलाई होस् विदेसिनु पर्ने जुन अपूर्ण सपना छन्, ती पुरा भए कि भएनन् ती त तपसिलका कुरा रहे । हाम्रै देशमा असीम सम्भावना देख्नेले ती सपनाका कथा देखे कि देखेनन् ?

यी सम्भावनाले न त हिजो वीर गोरखा भनी युद्धमा पुडोडास बन्नलाई लगिने नेपाली (गोरखा) सेनालाई रोक्यो न त सन्तप्त परिवारका आँखाको चिसोपनलाई महसुस गर्न सके । वर्तमानमा पनि त्रिभुवन विमानस्थलमा फर्कने बन्द काठका बाकसलाई हेर्ने हो भने पनि आधा नेपाल त्यसै शोकाकुल हुन्छ । श्रम बजारमा सस्तो र अपमानित मूल्य पाएका नेपाली युवायुवतीहरू ब्रह्माण्डको जुन कुनामा पुगे पनि आफ्नो सपना साकार पारेर सुकिलो जीवन जिउने आशा र यात्राबीचको परिघटनाले वास्तविक रूपमा मानवताको धज्जी उडाएको छ । किनकि यहाँ “बिरालोको ख्याल ख्याल, मुसाको ज्यान” भन्ने उखानको चरित्रेद्घाटन भएको छ ।

एकथरी जमात पढाइ लेखाइलाई विट मार्दै वर्तमानको सुदृढिकरणको लागि आफ्ना नागबेली सपना सजाउँदै विदेशमा आफ्नो रगत र पसिनासँग आशाको पोको यथार्थ पार्न जानेको कम कहाली लाग्दो वास्तविकता छैन, अर्कोथरी पढाइ नै सबैथोक हो भनेर नुन र खुर्सानीको धुलोसँग बासी ढिँडोका डल्ला टोकेर आफ्नो ज्यानलाई सुकेनाश बनाउँदै धेरै पढियो भने के के न हुन्छ भन्ने भ्रम पालेर नेपालमै सुखद भविष्य कुर्नेहरूको सङ्ख्या र सपना पनि कम छैनन् । हो ! पढ्नु, लेख्नु, ज्ञानी र विवेकी बन्नु त पक्कै राम्रो कुरा हो । तर, यही कारण यही बहानामा या ज्ञानी र विवेकी बनेको सट्टामा हरिकङ्गाल बनेर बस्नु÷बाँच्नु के जायज छ ? यही प्रश्नमा आधारित छ लेख ।

शहरमा मात्र होइन गाउँमा पनि पढेर केही यही देशमा गनुपर्छ भन्ने मान्यताकासाथ टुप्पी कसेर पढ्ने लाखौँ छन् । जसको वास्तविक जिन्दगी खाडीमा पसिना बगाउनको भन्दा किमार्थ कम छैन । चार घण्टाको बाटो पैदल हिँडेर होस या शहरमा आधा निद्रा सुती, आधा पेट खाइ डिग्री गर्नेको कहानी उस्तै छ । डिग्री गरेपछि मानौँ समस्याको समाधान हुन्छ भन्ने सोची कति मिहिनेतले हासिल गरेको छ डिग्री ।

तर कठै ! सम्झिँदा पनि मुटु नै काँप्ने भाइब्रेसन आउँछ । राम्रो लाउने, मिठो खाने, साथीभाइका बीच ठिकसँग हिँड्ने रहरलाई बाध्यताले “सादा जीवन उच्च विचार” थैलोभित्र गुटुमुटु पारेर थन्क्याएपछि हासिल गरेको डिग्री न त यो सरकारी जागिरमा योग्य भएको छ, न त समाजमा नै प्रतिष्ठित । ५० जनाको विज्ञापन आउने सरकारी जागिरमा ५० हजारले फारम भर्दछन् । एक वर्षमात्र होयन ३५ वर्ष पुगुन्जेल ढोका बन्द गरी पढ्ने, अनि २० जना बाहेक अरू सबै अलपत्र पर्ने यो अनौठो डिग्रीले मानिसलाई आधुनिक दास बनाएको छ ।

नेपालमा डिग्री गरिसक्दा टि.यु.को अव्यवस्थित परीक्षा प्रणालीका कारण विद्यार्थीको उमेर २५.२८ वर्षसम्म बितिसकेको हुन्छ । नेपालमै पढेर केही गर्ने सोचका कारण उनीहरू यति उमेर बिताएर भएपनि पढेका हुन्छन् । अन्ततः सरकारी जागिर र विदेशमा छिर्न नसक्नेको ८०% जनशक्ति जाने ठाउँ भनेको निजी विद्यालय नै हो ।

कालो धनलाई सेतो बनाउने देखि जीवनोपयोगी शिक्षाको वकालत गर्नेसम्म मिलेर बोर्डिङको च्याउ बजार विस्तार गरिएको छ । जहाँ अभिभावक चर्कोभन्दा चर्को फिः तिर्न बाध्य छन् भने बोर्डिङका शिक्षकको श्रमबजार यति सस्तो छ कि कुनै कुनै स्कुलमा त एउटा विद्यार्थीबाट उठाएको महिनावारी शुल्क बराबर शिक्षकको मासिक तलब हुँदैन । शिक्षकको बाध्यता के रह्यो भने कतिपयले जग्गा जमिनै बेचेर पढ्नु परेको छ कतिपयले स्वर्णीम सपना सजाउँदै शहर भासिएर पढ्नु परेको छ त कतिले त ऋणमा…… ।

यत्रो लगानी गरेर हात बाँधेर बस्नुभन्दा थोरै भएपनि कमाऔँ । बस ! यही बाध्यताले आफ्नो हैसियत, शैक्षिक मूल्य, मान्यता र आत्म गौरव समेतलाई बिर्सेर एउटा सुन्दर राष्ट्रको स्वप्नद्रष्टा बाँच्नु परेको छ । जहाँ पैसाको बलामा स्कुल खोल्ने सञ्चालकहरू कति स्कुलमा त प्रवेशिकासम्म पनि पढेका छैनन् र आपूm सुहाउँदो कुनै हरिलठ्ठकलाई प्रिन्सिपलको आवरणमा देखाई हुकुम आपैm चलाउँछन् ।

हामी यतिसम्मका छौँ कि थोरै आफ्नो हितमा केही कुरा प¥यो भने नैतिकत नै बिर्सेर अरूको शोषणमा हामी लाग्दछौँ । यदि २०६२÷०६३ को जनआन्दोलन पछि पनि नेपालभित्र कहिँ सामन्तवाद बाँकी छ भने बोर्डिङ स्कुलमा छ र नेपालीहरू नेपालभित्र कसैले निरीह र जीर्ण जीवन बिताइरहेका छन् भने निजी शिक्षकहरू बिताइरहेका छन् । भोलिका नेपालका डिजाइनर बन्ने उच्च महत्वकांक्षाले आफ्नो सारा व्यक्तिगत रहरलाई आदर्शको पगरीमा लपेटेका यी महामानवहरू विद्वान हुँदाहुँदै पनि शोषित छन् । मूर्खलाई त जहाँ पनि शोषण हुन्छ तर यहाँ त धूर्तलाई पनि शोषण गरिन्छ । त्यो क्षमता निजी विद्यालयका सञ्चालकसँग छ ।

निजी विद्यालयमा न त इमान्दार भएर काम गरेको भरमा सुरक्षित जागिर हुन्छ, न त विषयवस्तुको ज्ञाता भएर नै । कक्षामा सबैभन्दा पढाइ लेखाइमा कमजोर विद्यार्थीलाई जासुसको जिम्मा दिइएको हुन्छ । सम्भवतः उसको कपीमा धेरै रातो मसीको प्रयोग गरेकै कारण जागिर चेट हुन सक्छ । ज्वरो आएर दुई दिन घर बसेकै निहुमा जागिर जान सक्छ भने लोक सेवाको फारम भरेको सूचना पाएकै भरमा जागिर जान सक्छ । यति असुरक्षित जागिर गणतान्त्रिक नेपालको कुनै अन्य क्षेत्रमा छैन । किनकि अन्य सबै क्षेत्रमा मजदुरका ट्रेडहरू सक्रिय छन् । निजी विद्यालयको शिक्षक भएर न त भविष्य नै सुनिश्चित गर्न सकिन्छ न त आवश्यकता अनुसार निस्किन नै
सकिन्छ । धेरैजसो स्कुलले किन एक महिनाको तलब नै डिपोजिट राखेको हुन्छ, कतिले त सक्कली सर्टिफिकेटसम्म राख्न भ्याएका हुन्छन् ।

निजी विद्यालयमा जति पुरानो भयो उति असुरक्षित भइन्छ ।जति अनुभवी भयो त्यति जागिरको कम सम्भावना । किनकि अनुभवीलाई धेरै कुरा थाहा हुन्छ र पुरानोलाई सेवा सुृविधा थप्नु पर्ने हुन्छ । यी दुबै कुरा शोषणका बाधक हुन् । एक वर्षको सहमति गरेर अर्को वर्ष नयाँ शिक्षक ल्याउँदा तलब पन थप्नु नपर्ने र दशैँ बोनस पनि दिनु नपर्ने भएकाले यही मनोविज्ञान नै आपूm अनुकूल हुने सञ्चालकहरू ठान्दछन् । लाखौँ रूपैयाँ र आधा उमेर सिध्याएर पाएको डिग्रीले आत्मसम्मान, स्वतन्त्रता र स्वाभिमान होइन अरूको सपना साकार पार्ने आधुनिक दासको ऐतिहासिक जिम्मेवारी दिएको छ ।

कुनै एक क्षेत्रमा स्थापित हुने लक्ष्यका साथ सबै किसिमको लगानी गरेर पनि उक्त क्षेत्रमा स्थापित हुन नसकिने अवस्था एकातिर छ । केही सम्भावनाका क्षेत्रहरू राज्य र माफियाको नियन्त्रणमा छन् भने झिना सम्भावना जहाँ व्यक्तिले आफ्नै पहलमा पाएका एक दुई जनाको सफलताका देख्दैमा शून्य अनुभव र शून्यताबाट सुरू गरिने कुनै व्यवसाय गर्नुपर्छ भनेर दिइने सल्लाह राष्ट्रिय समस्याको समाधान नभइ निराश व्यक्तिलाई दिइने खोक्रो सुझाव मात्र हुन जान्छ । राज्यले सकभर शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रलाई आफ्नै नियन्त्रणमा राख्नुपर्छ ।

नियन्त्रणमा राख्न नसकेका क्षेत्रलाई नियमन र अनुगमन अवश्य गर्नुपर्छ । नागरिकको जीउ, ज्यानको सुरक्षा गर्ने जिम्मा राज्यको हो । समाजका आमूल परिवर्तनका स्वप्न द्रष्यहरूको यो हविगतमा राज्य संवेदनशील बनी निकासका उचित मार्ग देखाउनु सक्नु पर्छ । नेपालीका सम्पन्नताका आधारलाई सार्वजनिक गर्नु पर्छ । सम्भावना छन् भनी ढ्वाङ मात्र फुक्नुभन्दा पनि लक्षित समूहलाई उत्पादनशीलता बढाउन तदारुकताका साथ लाग्नुपर्छ ।

नेपालीहरू सम्पन्न बन्ने र नेपालीका सम्भावनाका ढोकाहरू नेपालीले नै पहिचान गर्नु पर्छ । नत्र आजका युवा जसको हातले देशको भाग्य कोरिन्छ तिनै शिक्षित र दिक्षित युवाहरू निजी क्षेत्रको ज्यादतीपूर्ण भूमरीमा रुमल्लिरहने अवस्थाले सिर्जनाका हातहरूलाई बन्धक मात्र बनाउँदैन अपितु सुन्दर नेपालको परिकल्पनालाई समेत मृत बनाइदिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment