Comments Add Comment

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले बताए ।

सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४ बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो ।

‘सोमबार नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको छ,’ भन्सार प्रमुख खड्काले भने । सोमबार पहिलो चरणमा केही अघिदेखि नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउहरू नेपाल भित्रिने उनले बताए ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरू नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चीनतर्फ पठाइएका सबैको कोरोना परिक्षण गरिएको र उनीहरूको पीसीआर नतिजा नेगेटिभ छ। चीन गएकाहरू चिनियाँको सम्पर्कमा नरहने र होटल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको छ ।

मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याइने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरू तीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment