Comments Add Comment

कर्फ्यु हटाएपछि बढ्यो साउदी र यूएईमा कोरोना संक्रमण

२१ असार, काठमाडौं । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यस्तै छिमेकी मुलुक यूएईमा पनि संक्रमितको संख्या ५० हजार नाघेको छ ।

गत महिना मात्र खाडी क्षेत्रका दुई ठूला अर्थतन्त्रमा कर्फ्यु पूर्णरुपमा हटाइएको थियो । दुवै मुलुकमा १५ मार्चको आसपासमा लकडाउनसँग सम्बन्धित प्रतिबन्ध सुरु गरिएको थियो । यी मुलुकमा बिस्तारै प्रतिबन्ध हटाउने निर्णय गरिएको थियो । यससँगै व्यापार तथा सार्वजनिक स्थल मानिसहरुको लागि पुनः खोल्न थालिएको थियो ।

यद्यपि कुबेतले भने आंशिक कर्फ्यु जारी राख्ने निर्णय गरेको छ । बहराइन र ओमानमा भने यस्तो कुनै पनि किसिमको प्रतिबन्ध लगाइएको थिएन । खाडी क्षेत्रमा साउदी अरब कोरोना महामारीको कारण सबैभन्दा प्रभावित मुलुक हो । साउदी अरेबियामा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख पाँच हजार ९२९ पुगेको छ । साउदी अरेबियामा कोरोना भाइरसको कारण अहिलेसम्म एक हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।

यूएईमा पनि अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ५० हजार ८५७ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ३२१ पुगेको छ । यूएईले प्रमुख व्यापारिक केन्द्र दुबईमा जुनाई ७ देखि मानिसहरुलाई आउनजान दिने निर्णय गरेको छ । तर, पूरै यूएईमा भने छुट दिइएको छैन ।

कतारमा पनि एक लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । ओमानका स्वास्थ्यमन्त्रीले ओमानमा पछिल्लो ६ सातायता मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको बताएका छन् ।

उनले स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्न सबैमा आग्रह गरेका छन् । मध्यपूर्वमा इरान सबैभन्दा धेरै प्रभावित मुलुक हो । इरानमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ३७ हजार ८७८ संक्रमित फेला परेका छन् । जसमध्ये ११ हजार ४८ जनाको मृत्यु पनि भइसकेेको छ ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment