Comments Add Comment
स्वास्थ्य मन्त्रालयको खेल :

निर्देशिका विपरीत दुई निजी ल्याबलाई स्वाब संकलन र परीक्षण अनुमति

२९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैंले बनाएको निर्देशिका विपरीत दुई निजी अस्पताललाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिएको छ ।

सरकारले निजी ल्याबमा पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेर ८ असारमा निर्देशिका ल्याएको थियो, जसमा आफैं नमुना संकलन गरेर परीक्षण गर्न नपाइने प्रष्ट उल्लेख छ । मापदण्ड नम्बर ७ मा भनिएको छ, ‘निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमुनालाई मात्र परीक्षण गर्नेछ ।’

सरकारी प्रयोगशालाबाट नमुना दिने र टेष्ट गरेवापत प्रत्येक नमुनाको ५५ सय रुपैयाँ सरकारले दिने भनिएको छ । त्यही कारण कतिपय प्रयोगशालाले कोभिड–१९ को पीसीआर टेष्टका लागि अनुमतिसमेत लिएका छैनन् ।

अनुमति पाएका केही निजी प्रयोगशालाले पनि अहिलेसम्म सरकारबाट नमुना पाएका छैनन् ।

तर स्टार र केएमसी अस्पतालको ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको पाइएको छ । दुबै अस्पताललाई त्यहाँ आएका बिरामीका साथै विदेश जाँदा कोरोना परीक्षणको रिपोर्ट चाहिने व्यक्तिहरु र विदेशी नियोगमा कार्यरत कर्मचारीको परीक्षण गर्न अनुमति दिइएको छ ।

नयाँ बानेश्वरको सेन्ट्रल डाइग्नोस्टिक ल्याव (सीडीएल), लाजिम्पाटको सूर्या हेल्थ केयर, बुटवलको नेशनल प्याथ ल्याब र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । तर चार वटै ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको छैन । उनीहरुलाई सरकारले दिएको नमुना मात्र परीक्षण गर्नुपर्ने भनिएको छ । र, अहिलेसम्म कुनै पनि ल्याबले सरकारी प्रयोगशालाबाट नमुनासमेत पाएका छैनन् ।

तर अहिले स्टार र केएमसी अस्पतालको ल्याबलाई निर्देशिका विपरीत आफैं नमुना संकलन गरेर परीक्षण गर्न दिएपछि अनुमति पाएका अरु निजी ल्याब सञ्चालकले असन्तुष्टि जनाएका छन् ।

दुई अस्पताललाई निर्देशिका विपरीत अनुमति दिनु गलत भएको एक निजी प्रयोशालाको सञ्चालकले अनलाइनखबरलाई बताए । स्वाब होल्ड भएर परीक्षण गर्न नसकेको बेला हामीलाई अनुमति दिइएन, अहिले अनुमति दिँदा फेरि भेदभाव गरियो’ उनले भने, ‘उनीहरुले आफैं स्वाब संकलन गर्न पाउँदा हामीहरुले किन नपाउने ?’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झा दुई अस्पताललाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्न दिने निर्णय स्वास्थ्य मन्त्रालयको भएको बताउँछिन् ।

उनकाअनुसार निर्देशिका बनाउने काम ल्याबले गरे पनि त्यसलाई स्वीकृत मन्त्रालयले नै गरेको हो र, दुई अस्पताललाई फरक अनुमति दिँदा पनि त्यो निर्देशिकामा कुनै परिर्वतन गरिएको छैन ।

‘दुई अस्पताललाई स्बाब संकलन गर्न दिने निर्णयको छलफलमा म पनि थिएँ, तर यो विषयमा मैलेभन्दा मन्त्रालयले नै बोल्दा उचित हुन्छ’ डा. झाले अनलाइनखबरसँग भन्छिन्, ‘उहाँहरुलाई स्वाब संकलन गर्न दिने निर्णय मन्त्रालयकै हो ।’

स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले पनि स्टार र केएमसी अस्पताललाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति दिइएको स्वीकार गरे ।

स्वास्थ्य मन्त्रालयको खेल

सरकारले निजी ल्याबमा समेत कोभिड–१९ टेष्ट गर्न अनुमति दिने तयारी गरेपछि मात्र स्टार र केएमसीले पीसीआर मेसिन खरिद प्रक्रिया थालेका थिए । जबकी केही निजी ल्याबसँग त्यसअघि नै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन थियो । तर दुबै अस्पतालले मेसिन नल्याएसम्म स्वास्थ्य मन्त्रालयले निजी ल्याबलाई कोभिड–१९ परीक्षण गर्न दिने मापदण्ड ल्याएन ।

मापदण्डमा पनि आफैं नमुना संकलन नगर्न नपाइने, सरकारी ल्याबले नै दिने भनियो ।

तर मन्त्रालयका केही अधिकारीको स्वार्थमा स्टार र केएमसी अस्पतालको ल्याबलाई भने आफैं नमुना संकलन गरेर परीक्षण गर्ने निर्णय गराइएको छ । विभिन्न सरकारी अस्पतालका प्रयोगशालाहरुमा पीसीआर मेसिन जोड्ने केही व्यक्ति स्टार र केएमसीको ल्याबमा आवद्ध भएकाले पनि यस्तो भएको हुनसक्ने स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment