Comments Add Comment

योग : कर्मसु कौशलम्

‘योगः कर्मसु कौशलम्’ अर्थात कर्ममा कुशलता नै योग हो । सुकर्म, अकर्म र विकर्म । यही तीन किसिमको कर्मको योगबारे गीतामा विवेचना गरिएको छ । वास्तवमा कर्म एक यस्तो तत्व हो, जसको उपयोग हरेकले अनिवार्य गर्नुपर्छ । शरीर र मनको रचना यसप्रकार भएको छ कि, उनले हरेक घडी कुनै न कुनै काममा आफुलाई तल्लिन राख्न सकोस् ।

जब निद्रा लागेर हामी सुत्छौ, त्यसबेला पनि शरीरका भित्री अंगहरु चलयमान हुन्छन् । भित्री अंगहरुले नियमित गतिमा आ–आफ्नै काम जारी राख्छ । त्यो एक स्वचालित प्रणाली हो । यदि ति अंगमध्ये कुनै एकले निमेषभर मात्र आफ्नो काम रोक्ने हो भने हाम्रो प्राण रहँदैन । हाम्रो सारा जीवन, सपना, सम्बन्ध क्षणभरमै समाप्त हुन्छ, नष्ट हुन्छ ।

त्यसैगरी जब निद्राबाट जाग्छौं, तब हामीले केही न केही काममा आफुलाई क्रियाशिल हुनुपर्छ । शारीरिक एवं मानसिक भोक यति प्रबल छ कि त्यसले बलात् मान्छेलाई कार्य गर्नका लागि प्रेरित गर्छ । त्यसबाट उम्कने न कुनै बाटो छ, न फाइदा नै ।

कर्मको कुनै न कुनै नतिजा आवश्य हुन्छ ।  यस्तो कुनै कर्म हुँदैन, जुन निष्फल हुन्छ । निश्चय पनि त्यसको परिणाम उपस्थित हुन्छ ।

कर्म जस्तोपनि हुनसक्छ, राम्रो वा नराम्रो । सत्य त के भने, जस्तो कर्म गर्छौं नतिजा पनि त्यस्तै प्राप्त हुन्छ । नराम्रो कर्म गरेर राम्रो नतिजाको अपेक्षा गर्नु व्यर्थ छ । त्यसैले त यस्तो कर्म गर्नुपर्छ, जसले सकारात्मक नतिजा हासिल हुन्छ । शुभ कर्ममा कुशलता नै योग हो । अर्थात शुभ कर्म कुशलतापूर्वक गर्नु नै योग हो । योग शब्दले मानसिक, बौद्धिक एवं शारीरिक समन्वय एवं तादात्म्य अभिप्रेरित छ । अर्थात मन, बुद्धि र शरीरलाई एकसाथ जोडेर जब हामी कुनैपनि काम गर्छौ, निश्चय पनि त्यस काममा कुशलता वा सम्पूर्ण दक्षता प्राप्त हुन्छ । यसैलाई योग भनिएको हो ।

गीतामा कर्मलाई एकदमै महत्व दिइएको छ ।

गीतामा भनिएको छ, ‘तिमी योगमा स्थित भएर शास्त्र अनुसार कर्म गर्दै जाउ । केवल आशक्ति त्याग। कर्म सिद्ध होस् वा असिद्ध अर्थात त्यसबाट फल मिलोस् वा नमिलोस्, यो दुबै अवस्थामा आफ्नो चित्तवृत्तिलाई सामान राख । अर्थात सिद्ध हुँदैमा हर्ष र असिद्ध हुँदैमा चिन्ता लिनु हुँदैन । यो दुबै स्थिति सिद्ध होस् वा नहोस्, समवृत्ति राख्नु नै योग हो । गीतामा कर्मयोगलाई सर्वश्रेष्ठ मानिएको छ । गृहस्थ र कर्मठ व्यक्तिका लागि यो योग अधिक उपयुक्त छ । हामी कुनै न कुनै कर्ममा लागेका छौं । यद्यपि हामीले गर्ने ति तमाम कर्म सार्थक नहुन सक्छ । कतिपय कर्म व्यर्थ छन् । किनभने हामीले कर्मको रहस्य नै जानेका छैनौं । जबकी हामीले जीवनका लागि, समाजका लागि देशका लागि सारा विश्वका लागि कर्म गर्न आवश्यक छ ।

साथसाथै सत्य त के पनि हो भने, दुःखको कारण पनि कर्म नै हो । सारा दुःख र कष्ट आशक्तिले उत्पन्न हुन्छ ।

कर्मयोगले सिकाउन्छ, कर्म आशक्तिरहित भएर गर्नुपर्छ ।  कर्मयोग कर्मको त्याग गर्दैन केवल कर्मफलको त्याग गर्छ र कर्मजनित दुःखबाट मुक्त रहन्छ । उसको स्थिति यस संसारमा एक दाता समान हो र उनले केही पाउने चिन्ता कहिल्यै गर्दैन । उसले के बुझेको हुन्छ भने, उनले केही गरिरहेका छन् तर, त्यसको बदलामा केही मागिरहेका छैनन् ।

गीतामा भनिएको छ , मनको स मत्व भाव नै योग हो । यसमा मान्छेले सुख–दुःख, लाभ–हानी, जय पराजय, संयोग–वियोगलाई समान भावले ग्रहण गर्छ ।

अज्ञानी मान्छे जसरी फल प्राप्तिको आकंक्षाले कर्म गर्छ, ठीक उसैगरी आत्मज्ञानी मान्छेले लोक संग्रहका लागि आशक्तिरहित भएर कर्म गर्छ । यसरी आत्मज्ञानले सम्पन्न व्यक्ति नै वास्तविक रुपले कर्मयोगी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment