Comments Add Comment

पोखराको नदीपुर बिटका प्रहरीमा कोरोना संक्रमण

२१ साउन, पोखरा । कोरोना संक्रमणको सम्भावित लक्षण देखिएर अस्पताल भर्ना भएका पोखराका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको नदीपुर बिटमा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ड्युडीमा खटिएका बेला ज्वरो आएपछि उनी पोखराकै फिस्टेल अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको ३ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आएर अस्पताल भर्ना हुँदासमेत उनले कसैलाई खबर नगरेको र ज्वरो आएकै समयमा उनी आफन्त घरमासमेत गएको खुलेको छ ।

साउन १८ गते अस्पताल भर्ना भएका ती ३८ वर्षीय प्रहरीको १९ गते कोरोना भाइरस संक्रमण आशंकामा स्वाब परीक्षणका लागि दिएका थिए । बुधबार पोखरा स्वास्थ्य विज्ञानमा गरिएको परीक्षणमा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

‘नदीपुर बिटमा जम्मा ३ जना कर्मचारी छन् । तर त्यो एकदमै व्यस्त हुने बिट हो,’ डीएसपी हमालले अनलाइनखबरसँग भने, ‘कोरोना पुष्टि भएका प्रहरी पनि धेरै समय फिल्डमै खटिनेमा पर्छन् ।’ बिट अहिले सिल गरिएको उनले बताए ।

उनको बाह्य ‘ट्राभल हिस्ट्री नभएका कारण बिटमै कार्यरत रहेका ३ जना सुरक्षाकर्मीलाई पनि क्वारेन्टिनमा राखिसकिएको डिएसपीले हमालले जानकारी दिए ।

१११ जनाको परीक्षण गरिँदै

जिल्ला प्रहरी कास्कीले पोखरा महानगर र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा बुधबारबाटै सुरक्षाकर्मीको स्वाब संकलन सुरु गरेको छ । बुधबार पहिलो चरणमा १ सय ११ जना प्रहरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको डीएसपी हमालले जानकारी दिए ।

गण्डकीमा बुधबारमात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म १ हजार ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३५४ जना निको भई घर फर्किसकेका छन् । गण्डकीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment