Comments Add Comment

दीर्घरोग नभएका युवायुवतीले समेत कोरोनाबाट ज्यान गुमाउँदैछन्

कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको तथ्यांकमा धेरैजसो दीर्घरोगी थिए । साथसाथै बुढापाकालाई यसको उच्च जोखिम बर्गमा राखियो । तर, पछिल्लो समय कोरोना संक्रमणको कारण युवा वा किशोर–किशोरीको समेत ज्यान गएको छ । कुनैपनि दीर्घरोग नभएका युवाहरु समेत कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् ।

मंगलबार भरतपुर महानगरपालिका–११ की १८ वर्षीया किशोरीको कोरोना भाइरसका कारण मृत्यु भयो । अहिलेसम्म दीर्घ रोगको बारेमा कुनै जानकारी नदेखिएकी ती किशोरीमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरूको आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुईदिन अघिसम्म उनीहरूमा स्वास्थ्यसम्बन्धी खासै समस्या थिएन ।

त्यस्तै, सोमबार मनरा सिस्वा नगरपालिका–४ महोत्तरीकी ४ वर्षीया बालिकाको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा मृत्यु भयो । उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । उनी पनि कुनै दीर्घरोगको समस्याबाट ग्रस्त थिइनन् ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार १० वर्षभन्दा मुनिका कुल ८५० जना बालक सं्रक्रमित भएका छन् भने ५८६ जना बालिका संक्रमित भएका छन् । त्यस्तै, ११ वर्षदेखि २० वर्षसम्मका कुल ३७२८ जना संक्रमित भएका छन् भने सोही उमेर समूहका ८२५ जना किशोरीहरू संक्रमित भएका छन् ।

सबैभन्दा धेरै संक्रमण २१ देखि ३० वर्ष उमेर समूहका पुरुषमा देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । जस अनुसार ११ हजार ३९ जना पुरुष र २९७८ जना महिला रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

कस्तो थियो २५ वर्षमुनिका मृतकको अवस्था

मंगलबारसम्म कुल २३९ जनाको मृत्यु भएकोमा त्यसमध्ये झण्डै डेढ दर्जन २५ वर्षमुनिका बालबालिका एवं किशोरकिशोरीहरू रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

२५ वर्षभन्दा कम उमेरका मृतकको संख्यालाई आधारमान्दा जेठ १८ गते बाजुराकी २ वर्षीया बालिकाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । भारतको नयाँदिल्लीबाट नेपाल आएको केही दिनमा नै उनलाई ज्वरो, झाडापखाला र सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको थियो ।

त्यस्तै, जेठ २३ मा सुर्खेतका २० वर्षीय पुरुष भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । १४ दिनको क्वारेन्टिन सकेर घर गएको दिन राति नै उनको मृत्यु भयो । उनमा कुनै लक्षण पनि थिएन र उनलाई कुनै दीर्घ रोग समेत नभएको पाइएको थियो ।

त्यसको एक सातापछि जेठ ३०मा वीरगन्जका २५ वर्षीय पुरुषको ज्यान गयो । वीरगन्जस्थित घण्टाघर क्षेत्रमा मृत भेटिएका उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसैले उनमा कुनै दीर्घ समस्या थियो कि थिएन पुष्टि भएको छैन ।

वीरगञ्जका संक्रमित भेटेको भोलिपल्ट बाराका ५ वर्षीय कोरोना संक्रमितको मृत्यु भयो । वीरगञ्जको सिटिजन हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएका उनलाई निमोनियाको समस्या देखिएको थियो । मृत्युको केही समयअघि श्वासप्रश्वासमा पनि समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

त्यस्तै, असार ३ गते सुर्खेतका २५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भयो । आत्महत्या गरेर मृत्युवरण गरेकी ती महिलाको पछि स्वाब संकलन गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनी क्वारेन्टिनबाट घर फर्किएकी थिएन् ।

साउन ९ गते वीरगन्जका १७ वर्षीय महिलाको गण्डक अस्पतालमा मृत्यु भयो । बारा परवानीपुरकी उनलाई पखला लाग्ने र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना पुष्टि भएको थियो भने त्यसको केही समयमा उनको मृत्यु भएको थियो ।

त्यस्तै, साउन २१मा मृत्यु भएका पर्साका १८ वर्षीया महिला, साउन २३ मा सिराहा गोलबजारका २५ वर्षीय पुरुष र साउन २५ मा वीरगञ्जकी २० वर्षीया युवतीको कोरोनाका कारण मृत्यु भयो । उनीहरुमध्ये पर्साकी १८ वर्षीया महिलामा कुनै दीर्घ रोग त थिएन । यद्यपि उनलाई वाता हुने गरेको थियो ।

२५ वर्षीय पुरुषले दुई वर्षदेखि किड्नीको डायलासिस गर्दै आएका थिए । अस्पताल ल्याउनेबित्तिकै उनको डायलासिस क्रममा उनको मृत्यु भएको हो भने २० वर्षीया युवतीमा श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कोरोना अस्पताल गण्डक लगिएको थियो ।

साउन २८ गते बुटवलका २५ वर्षीय पुरुषको बुटवल धागो कारखानास्थित आईसीयूमा मृत्यु भयो । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भयो । त्यसाको भोलिपल्ट अछामका १८ वर्षीय किशोरको पाटन अस्पतालमा मृत्यु भयो ।

त्यसको झण्डै एक साता पछि भदौ ६ गते सुनसरीका ६ वर्षीया बालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर उनको कहाँ र कहिले मृत्यु भएको विवरण प्राप्त हुन सकेन ।

बाराको जितपुरसिमराका ८ वर्षीय पुरुषको मृत्यु भयो । कोरोना संक्रमणको पुष्टि भएपछि गण्डकमा भर्ना भएका उनलाई शुक्रबार नेपाल प्रहरी अस्पताल ल्याइएको थियो । उनमा पनि कुनै दीर्घरोगको समस्या नदेखिएको बताइएको छ ।

यसबाहेक ८ भदौ सिराहाका २२ वर्षीय पुरुष र भदौ ११ गते सुर्वण–४ बाराका २३ वर्षीया महिलाको निधन भयो । श्वासप्रश्वासमा समस्या भएपछि २ भदौमा भर्ना भएका उनी लागूऔषध प्रयोगकर्ता थिए । उनमा मुटुसम्बन्धी समस्या पनि थियो ।

त्यस्तै, सुवर्ण बाराकी २३ वर्षीया महिला भने ३३ हप्ताकी गर्भवती थिइन् । उनलाई भेल्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment