Comments Add Comment

युनिभर्सल मेडिकल कलेजमा १०० बेडको ‘कोरोना अस्पताल’

१८ भदौ, बुटवल । युनिभर्सल मेडिकल कलेज भैरहवाले अस्पतालले नियमित सेवालाई निरन्तरता दिदै सशुल्क कोरोना संक्रमितको उपचार गर्ने भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचारका लागि निश्चित बेड संख्या छुट्टाउन यसअघि नै लिखित निर्देशन दिएको थियो ।

मेडिकल कलेजले चारवटा भेन्टिलेटरसहित एक सयभन्दा बढी बेड कोरोना संक्रमितहरुको उपचारका लागि छुट्याएर उपचार गर्न तयार भएको जनाएको छ ।

फिभर क्लिनिकदेखि शल्यक्रियासम्म अलग्गै उपचार गर्ने गरी बेडहरु व्यवस्थापन गरिएको कलेजका प्रशासन प्रमुख तेज केसीले बताए ।

कोरोना शंकास्पद बिरामीहरुका लागि फिबर क्लिनिक, २ बेड भेन्टिलेटरसहित ३० बेडको आकस्मिक आइसोलेसन कक्ष, ३ वटा आकस्मिक शल्यक्रिया कक्ष, ३० बेडको प्रतिक्षा कक्षको छुट्टै व्यवस्थापन गरिएको केसीले बताए ।

यस्तै कोरोना संक्रमितका लागि ५० बेडको २ वटा आइसोलेसन वार्ड व्यवस्था गरिएको उनले बताए । गम्भीर अवस्थाका संक्रमित बिरामीहरुका लागि २ वटा भेन्टिलेटरसहित ८ बेडको आईसीयु कक्षको पनि व्यवस्था गरिएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।

कोरोना शंकास्पद र संक्रमितको उपचार हुने स्थान अलग्गै भएकाले अन्य बिरामीको उपचारमा बाधा र संक्रमण फैलिने वा सर्ने कुनै सम्भावना नरहेको गुरुङको दाबी छ ।

कोरोना संक्रमण दर बढ्दै गएकाले संस्थागत उत्तरदायित्व बहन गर्दै कोरोना संक्रमितको उपचार सुरु गर्न लागेको मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमा अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment