+
+
Shares

अन्वेषणमा किन पछि पर्दैछ अमेरिका ? यसो भन्छन् गुगलका पूर्व प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते ११:३१

काठमाडौं । प्रविधि क्षेत्रमा श्रेष्ठताका लागि चीन र अमेरिकाबीच जारी दौडमा अमेरिका पछि पर्न लागेको गुगल कम्पनीका पूर्वप्रमुखले टिप्पणी गरेका छन् ।

प्रविधि क्षेत्रको आधारभूत अनुसन्धानमा लगानी गर्ने मामिलामा अमेरिकाले गल्ती गरेका कारण उसलाई चीनले उछिन्न थालेको दाबी गुगलका पूर्वप्रमुख कार्यकारी अधिकृत इरिक स्कमिड्टको छ । अनुसन्धानको क्षेत्रमा लगानीलाई बढावा दिएकै कारण चीन समयक्रमसँगै सफल बन्दै गएको उनको दाबी छ ।

हाल अमेरिकी रक्षा मन्त्रालयको अन्वेषण बोर्डका प्रमुख रहेका स्कमिड्टले तत्कालका लागि प्रविधि अन्वेषणको मामिलामा अमेरिका केही अगाडि रहेको भएपनि चीनसँगको दूरी तीव्र गतिमा साँघुरिइरहेको र यही अवस्थामा अमेरिकालाई लामो समयसम्म पहिलो स्थानमा टिकिरहन गाह्रो हुने बताए ।

बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘चीनमा आविष्कार तथा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको क्षेत्रमा वास्तविक रुपमा फोकस गरिएको छ । अनुसन्धान पत्रहरु प्रकाशित गर्ने मामिलामा चीन अगाडि बढिसकेको छ ।’

प्रविधि क्षेत्रको अमेरिकी पैरवी संस्था सूचना प्रविधि र अन्वेषण फाउन्डेसनका अनुसार अमेरिका सरकारले अनुसन्धान र विकासको क्षेत्रमा अहिले गरिरहेको लगानी पछिल्लो ६० वर्षमै सबैभन्दा कम हो

वर्ल्ड इकोनोमिक फोरमको एक रिपोर्टअनुसार सन् २०१८ मा विश्वमा विज्ञान तथा इन्जिनियरिङ क्षेत्रका सबैभन्दा धेरै अनुसन्धान रिपोर्ट प्रकाशित गर्नेमा चीन पहिलो स्थानमा छ ।

यसले पनि अमेरिकाको तुलनामा चीनले अनुसन्धान र विकासको क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको पुष्टि गर्दछ ।

उदाहरणका लागि चिनियाँ कम्पनी हुवावेले अनुसन्धान र विकासको क्षेत्रमा २० अर्ब डलर खर्च गरेको छ, जुन विश्वमा कुनैपनि कम्पनीले गरेको सबैभन्दा ठूलो लगानी हो ।
अनुसन्धान र विकासको क्षेत्रमा भैरहेको त्यस्तो लगानीले चिनियाँ प्रविधि कम्पनीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स तथा फाइभ जी प्रविधि जस्ता महत्वपूर्ण क्षेत्रमा अग्रता कायम गर्न सहयोग गरिरहेको छ ।

अन्वेषणको मामिलामा अमेरिका र चीनबीचको अन्तर साँघुरिदै जानुमा अमेरिकामा अनुसन्धान र विकासको क्षेत्रमा लगानीको अभाव हुनु प्रमुख कारण रहेको स्कमिड्टको विश्लेषण छ ।

गुगलका पूर्वप्रमुख स्कमिड्ट भन्छन्, ‘मेरो जीवनभर अमेरिका अनुसन्धान र विकासको क्षेत्रमा दुनियाको अग्रणी रहेको छ । यसअघि अमेरिकाको कुल गाह्रस्थ उत्पादनको २ प्रतिशत रकम अनुसन्धान र विकासको क्षेत्रमा लगानी हुने गरेकोमा अहिले त्यो लगानी अहिलेसम्मकै कम भएको छ ।’

प्रविधि क्षेत्रको अमेरिकी पैरवी संस्था सूचना प्रविधि र अन्वेषण फाउन्डेसनका अनुसार अमेरिका सरकारले अनुसन्धान र विकासको क्षेत्रमा अहिले गरिरहेको लगानी पछिल्लो ६० वर्षमै सबैभन्दा कम हो ।

त्यसका कारण उत्पादकत्व वृद्धि सुस्त भएको, प्रतिस्पर्धी क्षमतामा पछाडि परिएको र अन्वेषणमा कमी आएको दाबी उसको छ ।

चेतावनी

गुगलका पूर्वसिइओ स्कमिड्टले अमेरिकाको प्राविधिक सर्वोच्चता अमेरिकामा कार्यरत अन्तर्राष्ट्रिय जगतका विलक्षण प्रतिभाहरुमा निर्माण भएको भन्दै त्यस्ता अन्तर्राष्ट्रिय प्रतिभाहरुलाई अमेरिकामा आउन र काम गर्न अनुमति नदिइएमा त्यसले प्रविधि क्षेत्रमा झनै नकारात्मक असर पार्ने चेतावनी दिएका छन् ।

उनी भन्छन्, ‘यस्ता उच्च सीपयुक्त आप्रवासीहरु अमेरिकी प्रतिस्पर्धी क्षमता, विश्वव्यापी प्रतिस्पर्धी क्षमताका साथै नयाँ अमेरिकी कम्पनीहरु निर्माण र सञ्चालनका लागि समेत महत्वपूर्ण छन् । अमेरिका आफैंसँग त्यस्ता प्रतिभा र सीपयुक्त जनशक्ति पर्याप्त छैन ।’

अमेरिका पछिल्लो समय चीनसँगको प्रविधि शीतयुद्धमा रुमल्लिएको छ र केही महिनायता चीन विरोधी हौवा चलिरहेको छ ।

गत हप्ता अमेरिकाले १ हजार जना चिनियाँ विद्यार्थीको भिसा खारेज गरेको थियो । ती चिनियाँ विद्यार्थीहरुको चीनको सेनासँग सम्बन्ध रहेको अमेरिकाको दाबी छ । साथै चिनियाँ प्रविधि कम्पनीहरुले चीन सरकारको एजेन्टको रुपमा काम गरेको दाबी अमेरिकाको छ ।

चिनियाँ कम्पनीहरु अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरनाक रहेको भन्दै ट्रम्प प्रशासनले हुवावे लगायत टिकटक र विच्याट जस्ता चिनियाँ कम्पनीहरुमाथि समेत प्रतिबन्ध लगाउने कदम चालिसकेको छ । चीनले भने अमेरिकाको यस्तो कदमलाई ‘नग्न बदमासी’को संज्ञा दिएको छ ।

गुगलका पूर्वप्रमुख स्कमिड्टसले पनि अमेरिकी प्रतिबन्धले चीनलाई आफ्नो राष्ट्रिय उत्पादनमा अझै लगानी गर्न प्रेरित गर्ने बताएका छन् ।

उनका अनुसार अमेरिका र चीनबीचको सम्बन्धको सर्वोत्तम रणनीति भनेको प्रतिद्वन्द्वी सहकार्य नै हो, जहाँ अमेरिकाले चीनसँग प्रतिस्पर्धा र सहकार्य गर्न सक्नु पर्दछ । यस्तो प्रतिस्पर्धी प्रतिद्वन्द्वीताबाट अमेरिका र चीन दुवैले राम्रो उपलब्धी हासिल गर्नुका साथै वास्तविक प्रतिस्पर्धा कायम हुने उनको भनाइ छ ।

अमेरिका र चीनले सहकार्य गर्नुपर्ने क्षेत्रहरु पनि प्रसस्तै रहेको गुगलका पूर्व प्रमुख स्कमिड्टको ठम्याइ छ ।

स्रोत ः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?