Comments Add Comment

पीसीआरका लागि रातभर लाइन !

६ असोज, काठमाडौं । लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ ।

ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् । उनीहरु मध्ये एक हुन्, बाराको कलैयाबाट आएका एना मुल्ह ।

उनी सोमबार राति एक बजे अस्पताल बाहिर पुगेर लाइनमा बसे । सोमबार १२ बजेसम्म पनि पीसीआर परीक्षणका लागि टिकटसम्म काट्न पाएका थिएनन् । ‘हिजो तीन बजेतिर काठमाडौं आएको थिएँ । तर, ढिलो भएर परीक्षण गर्न पाइनँ’, उनले भने, ‘आज बिहान एक बजे आउँदा पनि मानिसहरु लस्करै लाइन लागेर सुतिरहेका थिए ।’

 

घरबेटीले बिना परीक्षण डेरामा बस्न बर्जित गरेपछि उनी परीक्षणको लागि टेकु आइपुगेका हुन् । लकडाउनअघि उनले काठमाडौंमा बिजुलीको काम गर्थे । उनले भने, ‘घरबाट आएर हामी तीनजना सुन्धाराको गेस्ट हाउसमा बसेका छौँ, रिपोर्ट नआउँदासम्म त्यहीँ बस्नुपर्ला ।’

टेकुले स्वाब संकलन गरेको ७२ घण्टामा पीसीआर परीक्षणको रिपोर्ट दिने गरेको छ ।

एनासँगै लाइनमा उभिएका मिथिलेस प्रधान भने भारतको समस्तीपुरबाट आएका हुन् । उनी पनि सोमबार राति २ बजे नै लाइन बसेको बताउँछन् । १४ वर्षदेखि काठमाडौंमा फलफूल बेच्दै आएका मिथलेसलाई यस पटक भने घरबेटीले डेरामा पस्न दिएनन् ।

‘होलीमा गएपछि अस्ति आएको थिएँ । तर, घरबेटीले बस्न नदिएपछि कवाड पसलतिर समय बिताएको छु’, मिथिलेसले भने, ‘घरबेटीले रिपोर्ट लिएर आइज भन्छन् तर, मैले अहिलेसम्म परीक्षण गर्न पाएको छैन ।’

सोमबार बिहान टेकुको गेट बाहिर पीसीआरका लागि टिकट काट्न पालो पर्खिएकाहरुको करिव एक किलोमिटर लामो भीड थियो । उनीहरु ठेलमठेल गर्दै लाइनमा बसिरहेका थिए । गेटभित्र छिर्न पाएकाहरुमा पनि पीसीआर परीक्षणका लागि बसिरहेकाहरुको लाइन पनि उत्तिकै लामो थियो । ज्वरो जाँच गराएपछि मात्र पीसीआर परीक्षणका लागि पठाइने गरिन्छ ।

टेकुमा स्वाब दिन मात्र होइन, पीसीआर परीक्षणको रिपोर्ट लिन पुग्नेहरुको लाइन पनि चक्मा दिने खालको थियो ।

फिवर क्लिनिककी एकजना कर्मचारीले भनिन्, ‘अस्तिसम्म त्यति ठूलो भीड थिएन । आजबाट भने अत्याधिक नै बढेको छ ।’

पीसीआर परीक्षण गर्न आएका कसैलाई ज्वरो देखिएको अवस्थामा सिधै इमरजेन्सीमा पठाउने गरेको पनि उनले जानकारी दिइन् । सिटामोल खाएर आउने भएकाले पनि परीक्षण गर्न आउनेहरुमा त्यति ज्वरो नदेखिएको उनको भनाइ छ ।


हातमा टिकट समाएर पीसीआर परीक्षणको लाइनमा बसेका मुन्ना यादव उत्साहित देखिन्थे । किनकि केही घण्टामै उनको पीसीआर परीक्षण हुँदै थियो । उनी खुशी देखिनुका कारण भनेको पीसीआरको लागि गरेको रातभरको संघर्ष हो ।

‘हिजो साँझ आठ बजे लाइन बस्न आएको थिएँ । मभन्दा अगाडि आएर लाइन बस्नेहरु पनि हुनुहुँदोरहेछ’, मुन्नाले भने, ‘रातभर यही सुतेँ, अहिलेसम्म भोकभोकै लाइनमा छु ।’

उनीसहित भारतको रक्सौलबाट आइतवार उनीहरु काठमाडौं आएका हुन् । लकडाउनअघि उनीहरुले पनि काठमाडौंमा तरकारी व्यापार गर्दै आएका थिए । ‘घरबेटीले पीसीआर रिपोर्ट नलिए ढोकाबाट भित्र नछिर्न भनेको छ’, मुन्नाले भने, ‘नियमत मान्नैपर्‍यो ।’

कोही पीसीआर परीक्षणका लागि लाइनमा हतारिँदै ठेलमठेल गर्दै थिए भने कोही लाइनभन्दा बाहिर निराश अनुहार लगाएर भौंतारिँदै थिए । भीड देख्दा यस्तो लाग्थ्यो, संक्रमण नभएकाहरु पनि यहाँबाट पक्कै कोरोना लिएर घर फर्किनेछन् । लाठी लिएर बसेका गार्डहरुलाईसमेत लाइनमा घचेटाघचेट गरिरहेकाहरुलाई नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको थियो ।

वीरगञ्जबाट साथीसँग काठमाडौं आएका जितेन्द्र साथेली घरको सिँढीमा बसिरहेका थिए । उनी पनि पीसीआर रिपोर्टविना घरमा जान पाउने छैनन् । तर, सोमबार उनको पीसीआर हुन सकेन । ‘हामी दुईजना आज बिहान पाँच बजे यहाँ आएका थियौँ । तर, यति लामो लाइन थियो कि जसमा बसेर पीसीआर परीक्षण हुने सम्भावना नै थिएन’, उनले भने, ‘अब यतै बस्नुपर्ला साँझबाट लाइन बसेर भोलि पीसीआर रिर्पोट दिएपछि मात्र डेरा जानुपर्ला ।’

टेकुमा सोमबार काठमाडौं बाहिरबाट आएका तीन हजारभन्दा बढी मानिसहरु पीसीआर परीक्षण गराउन पुगेका थिए । तर, उक्त लाइनमा पहाडी भेगका मानिसको अनुहार खासै देखिँदैनथ्यो । एकाध बाहेक सबै मधेसबाट आएकाहरु थिए । उनीहरु लक्षण देखिएर भन्दा पनि घरबेटीले दुःख दिएका कारण परीक्षण गर्न पुगेका थिए ।

क्वारेन्टिनमा बस्नुस्

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलले टोकन सिस्टमअनुसार दैनिक पाँच सयको परीक्षण गरिरहेको बताउँछन् । पछिल्लो समय परीक्षण गरेका ३० देखि ५० प्रतिशत दैनिक पोजेटिभ रिपोर्ट आइरहेको उनले बताए । तर, काठमाडौं बाहिरबाट आएकाहरुलाई हप्ता १० दिन क्वारेन्टािनमा बस्न डा. अनुपको सुझाव छ ।

‘बाहिरबाट आएको भोलिपल्टै परीक्षण गर्दा नेगेटिभ पनि देखिन सक्छ । र, पछि मार्केटमा हिँडेपछि उनीहरुले कोरोना सार्ने ठूलो डर हुन्छ’, उनले भने, ‘लक्षणसहितका बिरामीलाई मात्र परीक्षण गर्ने कि लक्षणविहीनलाई पनि गर्ने, यो अहिले ठूलो चुनौतिको विषय बनेको छ ।’ यदि पोजेटिभ आइहाले पनि उनीहरु आइसोलेट भएर बस्छन् कि बस्दैनन् भन्ने पनि समस्याको विषय बन्दै आएको डा.बास्तोला बताउँछन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment