Comments Add Comment

बारामा नेपाल–भारतका सुरक्षा अधिकारीबीच छलफल

१९ असोज, वीरगञ्ज । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध हात हतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण तथा भारतको बिहारमा हुन लागेको विधान सभा निर्वाचन लगायतका विषयमा नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई र भारतको बिहार प्रदेश पूर्वी चम्पारणका डिष्ट्रिक्ट मजिस्ट्रेट (डीएम) सीशर्त कपिल अशोकको अगुवाइमा बाराको कलैयामा आइतबार दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको हो ।

बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्ने, अवैध हात हतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण, अपराध नियन्त्रणका लागि आवश्यक सूचनाहरुको आदान प्रदान गर्ने, चोरी निकासी एवं तस्करी नियन्त्रण गर्ने, कोभिड १९ नियन्त्रणका लागि चालिएको असल अभ्यासहरुको आदान प्रदान गरी सामूहिक रुपमा अघि बढ्ने लगायतको विषयमा छलफल भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

त्यस्तै बैठकमा आगामी नोभेम्बरमा बिहारमा हुन लागेको विधान सभा निर्वाचनलाई स्वच्छ एवं मर्यादित रुपमा सम्पन्न गर्न तीन दिन बोर्डर सिल गरी, यातायात र मानिसको आवागमन बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसबखत नेपालको नवलपरासीदेखि रौतहटसम्मको सीमा क्षेत्रमा ७२ घण्टा सिल गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

‘मुख्य विषय त स्टेट एसेम्बलीको निर्वाचन लक्षित सुरक्षाका विषय नै थियो । ७२ घण्टा सीमा सिल गर्ने निर्णय भएको छ,’ प्रजिअ तामाङले भने, ‘त्यसबाहेक क्रस बोर्डर क्राOमलाई कसरी नियन्त्रण गर्ने, सूचना आदान प्रदानका बारेमा छलफल गरेका छौं ।’

सीमा क्षेत्रमा नक्कली रुपैयाँको कारोबार, लागूऔषध तथा हातहतियारको ओसारपसार, मानव बेचबिखन जस्ता अवैध क्रियाकलाप हुने गरेको छ । ‘सीमा वारपार हुने सबै किसिमका अवैध तथा आपराधिक क्रियाकलापलाई निस्तेज पार्न सहकार्य गर्ने सहमति भएको छ ।’ प्रजिअ तामाङले अनलाइनखबरलाई भने ।

भारतबाट अवैध रुपमा साना हतियार तथा लागूऔषध नेपाल भित्रिँदा नेपालको सीमावर्ती क्षेत्र असुरक्षित भइरहेको छ नि भन्ने प्रश्नमा डीएम कुन्दन कुमारले नेपाली पक्षले सरकारले किटान गरेर समस्याको बारेमा बताए समाधान गर्न सकिने बताए ।

बैठकमा भारतको विहार राज्यको पूर्वी र पश्चिम चम्पारण जिल्लाका २३ जना सुरक्षा अधिकारीहरु र बारा, पर्सा, रौतहट, चितवन, पूर्व र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरु गरी २६ जनाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment