Comments Add Comment
अन्तर्वार्ता :

‘अहिले बढेको संक्रमणले दुई-तीन हप्तापछि मृत्युदर बढाउँछ’

२१ असोज, काठमाडौं । मलिकुलर बायोलोजीमा पीएचडी गरेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल विश्वप्रसिद्ध मायो क्लिनिकको ‘डिपार्टमेण्ट अफ मलिकुलर मेडिसिन’मा रिसर्च फेलोका रुपमा कार्यरत छन् ।

यसअघि उनले जिका, ईबोला लगायत भाइरसको औषधि बनाउने वैज्ञानिकहरुको टिममा बसेर काम गरेका थिए । भाइरसहरुको विषयमा लामो समय प्रयोगशालामा बसेर काम गरेका उनले नेपालको संक्रमणको तथ्यांक नजिकबाट नियालिरहेका छन्।

उनै खड्कासँग नेपालको पछिल्लो संक्रमण दर त्यसले दिएको संकेतको विषयमा अनलाइनखबरले गरेको कुराकानी –

जनस्वास्थ्य विज्ञहरु संक्रमणदर बढिररहँदा परीक्षण पनि बढाउनुपर्छ भन्छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परीक्षण पर्याप्त पुगेको छ भन्छ, आम नागरिकले कसको कुरा पत्याउने र किन ?

नेपालमा परीक्षणको सङख्या पुगेको होइन भन्नलाई त्यसका केही वैज्ञानिक आधारहरू छन् । सामान्यतया विज्ञहरूले मानेको र विश्व स्वास्थ्य संगठन लगायत नियमनकारी संस्थाले स्वीकारेको तथ्य के हो भने निश्चित अनुपातमा परीक्षण गर्न सकिएन भने संक्रमणको वास्तविक अवस्था केलाउन सकिन्न ।

कोरोना महामारी समुदायमा फैलिएको अवस्थामा परीक्षण भएको छ कि छैन भनेर मापन गर्न त्यसको संक्रमणदर हेरिन्छ । यसको मतलब कतिवटा परीक्षण बराबर एउटा पोजिटिभ केस भेटिन्छ भन्ने हो । यथेष्ट परीक्षण भएको छ भने यस्तो दर १०० मा ३ हुन्छ । जब त्यो दर १०० मा १० मात्रै पुग्छ तब भन्न सकिन्छ कि परीक्षण यथेष्ट हुन सकेको छैन।

नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा औसत दैनिक १०- १२ हजारको हाराहारीमा परीक्षण भएको छ भने संक्रमित संख्या औसतमा एक हप्ता अगाडि एक हजार रहेकोमा अहिले औसत दुई हजार भन्दा माथि पुगेको छ । सोझो हिसाब गर्दा पनि हाम्रो संक्रमणदर १०० मा १० बाट उकालो लागेर अहिले त १०० मा २० पुगिसकेको छ । हाम्रोमा पहिले पनि परीक्षण पुगेको थिएन अहिले त झन् निक्कै कम भएको छ । सही रूपमा विश्लेषण गर्न पनि परीक्षणको परिधि कम्तिमा ३ देखि १० गुणासम्म बढाउनुपर्ने हुन्छ ।

अहिलेको जस्तो लक्षण नदेखिएमा परीक्षण नगर्ने नीति अवलम्बन गरिराख्ने हो भने कुनै हालतमा संक्रमणको वास्तविक चित्र देख्न सकिँदैन र नियन्त्रणमा ल्याउन पनि सकिँदैन । मृतकको हकमा पनि परीक्षण गर्न जरुरी छ । ताकि वास्तविक वस्तुस्थिति देख्न सकियोस् । भोलिका दिनमा यस्तो विवरणले संक्रमण नियन्त्रण गर्न थप बल पुर्‍याउने छ ।

नेपालमा पछिल्लो समय देखिएको संक्रमण दरबाट के आकलन गर्न सकिन्छ ?

अहिलेको दरबाट संक्रमितको संख्या भनिएको भन्दा धेरै छ भन्ने स्पष्ट हुन्छ। अझै पनि परीक्षण नभएका र संक्रमण भएको छ भन्ने समेत थाहा नभएको संख्या ठूलो छ । यसले महामारी रोक्न थप चुनौती थपेको छ । कोरोनाको संक्रमणपछि लगभग ५० प्रतिशत व्यक्तिलाई खासै लक्षण नदेखिने हुँदा कतिपयलाई आफू संक्रमित भएको नै थाहा हुँदैन र थप व्यक्तिलाई संक्रमण फैलाउँदै जाने सम्भावना अत्यधिक हुन्छ । हामीले संक्रमणलाई ध्यान नदिने हो भने स्थिति अझै भयावह हुने सम्भावना प्रवल हुन्छ।

प्रधानमन्त्रीको सचिवालय जस्तो संवेदनशील क्षेत्रमा समेत व्यापक कोरोना संक्रमण भएको देखियो। अमेरिकाकै राष्ट्रपति लगायत व्यक्तिहरू संक्रमित भएका छन् । उचित पहिचान हुन नसकेको अवस्थामा राष्ट्रकै अतिसंवेदनशील क्षेत्र त जोगाउन सकिँदैन भने आम सर्वसाधारणको त झन् के भर भयो र ।

सुरुवाती चरणमा अत्यधिक टेस्ट गरेका केही मुलुकमा संक्रमितको संख्या पनि ह्वात्तै बढेको देखियो । तर छिटै नयाँ संक्रमणको दर भने घट्यो र चाँडै नै संक्रमण नियन्त्रणमा आउन पुग्यो । तर त्यहाँ परीक्षणको दायरा पनि फराकिलो थियो र व्यापक परीक्षण गरिएको थियो । त्यहाँको संक्रमणदर पनि न्यून नै थियो । तर, प्राय: संक्रमितको पहिचान हुन सकेको हुनाले संक्रमितको संख्या धेरै देखिएको थियो ।

त्यसलगत्तै सही कदम चाल्न सकियो र संक्रमणको त्यो चरण नियन्त्रणमा आयो । जहाँ-जहाँ यथेष्ट परीक्षण हुन सकेन र जब जब संक्रमणदर धेरै देखियो त्यस्तो स्थानमा संक्रमण नियन्त्रमा आउन सकेन र लामो समयसम्म फैलिइरह्यो । त्यसैले धेरैभन्दा धेरै संक्रमित पत्ता लगाउन सकिएको खण्डमा सुरुमा संक्रमणको दर उल्लेख्य बढेको जस्तो देखिए पनि वास्तविक चित्र हाम्रो सामु छर्लङ्ग हुन्छ र नियन्त्रणमा लिन सजिलो हुन्छ।

अहिले भर्खरैमात्र प्रधानमन्त्रीको सचिवालय जस्तो संवेदनशील क्षेत्रमा समेत व्यापक कोरोना संक्रमण भएको देखियो। अमेरिकाकै राष्ट्रपति लगायत व्यक्तिहरू संक्रमित भएका छन् । उचित पहिचान हुन नसकेको अवस्थामा राष्ट्रकै अतिसंवेदनशील क्षेत्र त जोगाउन सकिँदैन भने आम सर्वसाधारणको त झन् के भर भयो र । परीक्षणको दायरा बढाएर संख्यात्मकरूपमा परीक्षण बढाएर सकेसम्म धेरै सम्भावित संक्रमितलाई पहिचान नगर्ने हो भने यसरी नै भित्रभित्रै संक्रमण फैलिरहन्छ र त्यसको मूल्य हामीले जन र धनको रूपमा चुकाउनुपर्ने हुन्छ ।

नेपालमा कोरोना भाइरसको महामारीले कुन रुप लेला, अहिलेको अवस्था हेरेर पछिको भविष्यवाणी गर्न सकिन्छ कि सकिन्न ?

आगामी दिनलाई बुझ्नका लागि संक्रमणको पाटो र हाम्रो सामाजिक स्थितिलाई केलाउनुपर्ने हुन्छ । अहिलेको संक्रमणदरले त महामारी पत्ता लागेको भन्दा धेरै नै फैलिएको छ भनेर इंगित गर्छ । संक्रमितहरूको वितरण हेर्ने हो भने पनि देशकै सबैभन्दा घना बस्ती भएको काठमाडौं उपत्यकामा मुख्य महामारी फैलिएको देखिन्छ।

राजनीतिक, सामाजिक, आर्थिक, स्वास्थ्यसेवा लगायत सम्पूर्ण विषयको केन्द्रमा रहेको काठमाडौं उपत्यकामा देशभरका मानिसको बाक्लो आवत जावत छ । आफैँमा पनि अव्यवस्थित स्थित र भिडभाडयुक्त बस्तीले गर्दा कोरोना संक्रमणको ठूलो जोखिम रहेको बस्ती हो उपत्यका । त्यसैले यथेष्ट सावधानी अपनाउन नसक्दा, विगतमा तीज, जात्रा लगायत सांस्कृतिक पर्व मनाउँदा र लामो समयपछि अव्यवस्थित रूपमा बजार एवं सेवा सञ्चालन गर्दा संक्रमण ह्वात्तै बढेर गएको छ ।

अब प्राय: नेपालीहरूले मनाउने ठूला ठूला चाडपर्वहरू आउँदैछन् । यही समयमा प्राय: बाहिरबाट बसाइँ सरेर आएका मानिसहरू घर फर्किने चलन छ । खेतीपाती स्याहार्न पनि बाहिर काममा भएका जनसंख्या घर फर्कने क्रम सुरु हुँदैछ।

चिसो मौसम सुरु भएसँगै घरमा झ्याल धोका संगै समय बिताउने क्रम पनि बढ्दो छ । यी सबै सामाजिक परिवेशहरू कोरोनको संक्रमण फैल्याउन पायक पर्ने परिस्थितिहरू हुन् । अधिकांश सहरबाट गाउँ फर्किने जनसंख्या युवा उमेरको अनि गाउँमा बस्ने जेष्ठ नागरिकको समुदाय । युवा समुदायमा यसै पनि कोरोनाको संक्रमणपछि गम्भीर लक्षणदेखिने सम्भावना तुलनात्मक रूपमा कम हुने हुँदा सहरबाट संक्रमित भएर वा यात्राको क्रममा संक्रमितभएर, नदेखिँदोगरी, नजानिँदो गरी देशको कुनाकुनासम्म संक्रमण फैलिने सम्भावना अधिक हुन्छ।

हामीले पहिलो चरणमा सीमा नाका जोडिएका सहर अनि जिल्लाहरूमा मुख्यत: अन्य देशमा संक्रमित भएर आएका वा त्यस्ता व्यक्तिको सम्पर्कमा रहेर संक्रमित भएका व्यक्तिहरूमा संक्रमण भेटायौं । त्यतिबेला केही स्थानमा समुदाय स्तरमा संक्रमण फैलिए पनि ठूला र घना सहरबस्तीमा समुदायस्तरमा व्यापक भएको स्थिति थिएन ।

दोश्रो चरणमा सहर बस्तीमा व्यापक हुँदै गएको छ र नतिजा स्वरूप अहिले मुख्य सहरी इलाका काठमाडौं उपत्यका महामारीको केन्द्रबिन्दु बनेको छ । अब यस लगत्तै तेश्रो चरणमा माथि उल्लेखित कारणले गर्दा देशका अन्य स्थानमा पनि समुदायमा संक्रमण फैलिने सम्भावना छ ।

समयमै सावधानी नअपनाउने हो भने धेरै संख्यामा वृद्धवृद्धाहरू दशैं-तिहारको समयसँगै संक्रमित हुने अनुमान गर्न सकिन्छ । त्यस्तो भएको खण्डमा जनधनको क्षतिको गम्भीर ठूलो चोट हामीले त्यसबेला भोग्नुपर्ने हुन्छ।

नेपालमा देखिएको अहिलेसम्मको मृत्युदरलाई कसरी विश्लेषण गर्न सकिन्छ ?

हामीले मृत्युदरको सम्बन्धमा समेत केही अफवाह पालेर बसेका छौं । सरसर्ती हेर्दा मृत्युदर आजकल केही बढ्न थालेको भए पनि औसतमा एक प्रतिशतभन्दा पनि कम देखिन्छ । अझ पहिलो चरणमा आएको संक्रमणको लहरमा त त्यो अझै न्यून देखिएको थियो ।

त्यही आधारमा देशभर कोरोना संक्रमणका कारण ज्यान जाँदैन, कमसेकम नेपालीलाई केही हुँदैन भन्ने मानसिकता व्याप्त भयो। अहिले पनि अन्यत्र जस्तो खतरनाक देखिएको छैन नेपालमा भन्ने भ्रम छ। तर यसको वास्तविक स्वरूप हेर्न र भविष्यमा जोखिम बुझ्न वैज्ञानिक विश्लेषण आवश्यक छ ।

पहिलो कुरो त कोरोनाको जोखिम सबैलाई एकैनासको हुँदैन । संसारभरको आँकडा केलाउने हो भने ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरूमा जोखिम न्यून देखिएको छ भने मृत्युदर पनि १ हजारमा एक बराबर छ । उमेर बढेसँगै यो जोखिम बढ्दै जान्छ । त्यस्तै दीर्घरोग छ भने पनि यो जोखिम बढेर जान्छ ।

पहिलो चरणमा संक्रमितहरू ४० वर्षभन्दा कम उमेरका वैदेशिक रोजगारीबाट फर्केका तुलनात्मकरूपमा स्वस्थ पुरुषहरूको संख्या अत्यधिक थियो । त्यो जनसंख्याको बनोटले गर्दा गम्भीर लक्षण पनि निकै कम देखियो अनि मृत्युदर पनि कम भयो ।

त्यो स्वाभाविक पनि हो तर त्यति बेला पनि उमेर समूहअनुसार संक्रमितको संख्यालाई विभाजन गरेर प्रत्येक उमेर समूहमा मृतकको संख्या दाँजेर हेर्ने हो भने नेपालमा मृत्युदर धेरै नै देखिएको थियो । तर, त्यतिबेला संक्रमित यथेष्ट नभएको हुँदा ठोस तथ्यांकगत विश्लेषण गर्न सम्भव नभए पनि हाम्रो अवस्थिति इङ्गित भने अवश्य भएको थियो।

अहिलेको संक्रमण हेर्दा करिब करिब ८० हजारको हाराहारीमा संक्रमित फेला पर्दैगर्दा उमेर समूह अनुसार संक्रमितलाई विभाजित गरेर मृतकको संख्या केलाउने हो भने अन्यत्र देखिएभन्दा धेरै नै देखिन्छ मृत्युदर ।

तलको तालिकामा हेर्ने हो भने स्पस्ट हुन्छ ४० वर्षभन्दा माथिको उमेर समूहमा नेपालमा देखिएको मृत्युदर विश्वमा देखिएको अधिकतम् औसत भन्दा पनि धेरै छ । अहिले ४० वर्षदेखि ५० वर्ष उमेर समूहमा ०.६ प्रतिशतको हाराहारीमा देखिको मृत्युदर ६० वर्षसम्मको उमेर समूहमा १.७ प्रतिशत छ, ७० वर्षसम्मको समूहमा ४ प्रतिशत छ, ८० वर्षसम्मको समूहमा ६ प्रतिशतको छ भने ८० वर्षभन्दामाथि करिब १० प्रतिशतको को हाराहारीमा पुगेको छ।

अझ डरलाग्दो अवस्था त ६० वर्षभन्दामाथिको उमेर समूहमा द्रूत गतिमा संक्रमण फैलिँदै गएको आँकडा देखिन्छ। विगतमा १-२ प्रतिशतको हाराहारीमा रहेको ६० वर्षभन्दा माथि उमेर समूहका संक्रमितको अनुपात अहिले ६ प्रतिशतभन्दा माथि पुगेको छ भने ५० वर्षभन्दा माथिका संक्रमितको अनुपात १५ प्रतिशतको भन्दा माथि पुगेको छ। दैनिक तथ्यांकले पनि यो उमेर समूहमा संक्रमणको दर बढेको देखाउँछ।

चाडपर्वलगत्तै जेष्ठ नागरिकमा हुनसक्ने संक्रमणका कारण त्यसको २-३ हप्तादेखि एक महिनापछि अर्को चुनौतीपूर्ण स्थिति सामना गर्नुपर्ने हुन सक्छ ।

कोरोना महामारीमा संक्रमण र मृत्युका बीच एउटा अन्तर हुन्छ अर्थात् संक्रमण बढेको देखिएको केही समयपछि मात्र मृत्युको संख्या बढ्छ । संक्रमणको औसत २ हप्तामा मृत्यु हुने र पहिचान हुन पनि केही समय लाग्ने हुँदा त्यस्तो ढिलाइ देखिन सक्छ ।

यसको अर्थ आज हामीले देखिराखेको मृत्युदर २-३ हप्ता अगाडिको संक्रमणको प्रभाव हो । अहिले जसरी दिन प्रतिदिन संक्रमितको संख्या अनि संक्रमणदर बढेको छ । त्यसले आगामी हप्ता हरुमा मृत्युदर थप बढ्ने देखिन्छ ।

चाडपर्वलगत्तै जेष्ठ नागरिकमा हुनसक्ने संक्रमणका कारण त्यसको २-३ हप्तादेखि एक महिनापछि अर्को चुनौतीपूर्ण स्थिति सामना गर्नुपर्ने हुन सक्छ ।

अथक प्रयासका बाबजुद पनि अमेरिका जस्तो राष्ट्रले नियन्त्रण गर्न सकेको छैन, युरोपमा फेरि संक्रमण बढेको छ। विभिन्न राष्ट्रहरूले अथक प्रयासका बाबजुद नियन्त्रणमा लिन सम्भव भएको छैन ।

एकपछि अर्को लहरका रूपमा संक्रमण फैलिएको फैलियै छ। हामीले अन्य राष्ट्रका यस्तो अनुभवबाट सिक्न सक्छौं ?

पहिलो कुरो त कोरोना महामारी नियन्त्रण गर्न निकै चुनौतीपूर्ण छ । कुनै खोपले काम गरेको खण्डमा विस्तारै विस्तारै यसलाई नियन्त्रणमा लिन सकिएला नत्र एकपछि अर्को लहरमा यो संक्रमण फैलिरहन्छ ।

तर पटकपटक आउँदै गर्दा पनि प्रत्येक संक्रमणको लहरमा भिन्नता पाएका छौं हामीले । युरोप र अमेरिका जस्ता देशमा अहिले संक्रमितको संख्या निकै बढे पनि मृतकको संख्या त्यही अनुपातमा बढेको छैन । वास्तवमा अहिले मृत्युदर निकै कम छ । यस्तो हुनुमा उपचार पद्दतिको विकास, उपचार प्रदायक स्वस्थ्य संस्था र स्वास्थ्यकर्मीको सबलीकरण, वैज्ञानिक परीक्षण विधि, अनि जोखिम समुदायमा संक्रमण नियन्त्रण गर्न सक्नु प्रमुख कारक बनेका छन् ।

दिन प्रतिदिन नयाँ अनुभव र नयाँ अनुसन्धानले यसरी मृत्युदर घटेको देखाएको छ । सुरुवाती चरणमा इटाली र अमेरिका जस्ता राष्ट्रमा जेष्ठ नागरिक आवास र हेरचाह केन्द्रमा रोग फैलिन पुग्दा व्यापक मृत्युदर देखिएको थियो । अहिले व्यापार व्यवसाय खोल्दा खोल्दै पनि त्यो जोखिम समुदायलाई जोगाउन सकिएको हुनाले मृत्युदरमा वृद्धि देख्न परेको छैन ।

तर, नेपालको कथा ठ्याक्कै उल्टो छ । प्राविधिक रूपमा भन्नुपर्दा त नेपालमा तीन चरणमा संक्रमणको लहर आयो । पहिलो चरणमा एक संक्रमित भेटिएर सकियो,दोश्रो चरणमा वैदेशिक रोजगार संक्रमित भए अनि अहिले समुदायमा संक्रमण छ ।

प्रत्येक चरणको लहरमा हाम्रो स्थिति झन् भन्दा झन् नराम्रो हुँदैछ । विशेषगरी अहिलेको चरण सुरु हुनुभन्दा अगाडि नै हामीलाई जोखिम समूह कुन हो र यसलाई कसरी सुरक्षित राख्न सकिन्छ अनि तयारी कसरी गर्ने भन्ने राम्रैसँग थाहा थियो । तैपनि कुनै ठोस वैज्ञानिक कदम चल्न नसक्दा एकपछि अर्को चरणमा स्थिति बिग्रिँदै छ ।

आज हाम्रोमा सबैभन्दा द्रूत गतिमा सबैभन्दा जोखिममा रहेका वृद्धवृद्धामा संक्रमण फैलिँदो छ । मृत्युदर संसारमा देखिएको भन्दा धेरै देखिँदै छ । तैपनि हामी यथेष्ट परीक्षण क्षमता (सरकारी आँकडा अनुसार अहिलेभन्दा दोब्बर परीक्षण गर्न सकिन्छ) हुँदाहुँदै पनि उचित मात्रामा परीक्षण गरिराखेका छैनौं ।

अरूका गल्ती वा बुझाइबाट सिक्न सकिने ठाउँमा आफ्नै गल्तीबाट पाठ सिक्नु त कता हो कता गल्ती नै देखिराखेका छैनौं । हामीले महामारीको वास्तविक चित्र नै देखेका छैनौं वा देख्न खोजेका छैनौं ।

देशको राजधानीमा सरकारले यस्तो नजरअन्दाज गरिहरेको छ भने त अन्य ठाउँको अवस्था के होला ?

प्रदेशगत तथ्यांक हेर्ने हो भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सदैव स्वास्थ्य सेवा, चेतना र सुविधाको अभाव छ, जहाँ दीर्घरोग मात्र होइन साधारण सरुवा रोगका कारण अकालमा वर्षेनि धनजनको क्षति हुने गर्छ, त्यही आश्चर्यजनक रूपमा संक्रमण पनि अत्यन्त न्यून देखिएको छ । के वास्तविक कमी हो कि परीक्षणको पहुँच नभएर हो ? यस्तो समस्या अन्य थुप्रै भूगोलमा छ ।

हामीले संक्रमित पत्ता नलागेको अहिलेको अवस्थामा त सही विश्लेषण गर्न समेत गाह्रो छ । यस्तो हिसाबले महामारी नियन्त्रण गर्न पनि लामो समय लाग्ने र त्यही क्रममा थुप्रैलाई जोगाउन सकिने ज्यानहरू पनि गुमाउनुपर्ने हुन्छ ।

चाडपर्वको समयमा संक्रमण झन बढ्ने र त्यसको १ महिनापछि मृत्युदर झन बढी हुने कुरा गर्नुभयो, के त्यसलाई रोक्न सकिन्न ?

सामाजिक दुरी, हात धुने, मास्क लगाउने, भिडभाडमा नजाने जस्ता कुराहरूको महत्व जति बुझाए पनि कम हुन्छ । यी सबै आचरणहरू हामीले अपरिचितसँग मात्रहोइन परिचितसँग पनि गर्नैपर्ने हुन्छ । अहिले चाडपर्वमा मान्यजन र बुढापाकाको आशीर्वाद थप्ने चलनको परिप्रेक्ष्यमा हामीले केही थप सावधानी अपनाउनु जरुरी छ।

हामीले सावधानी नअपनाउने हो भने हामी जसको आशीर्वाद थाप्न जान्छौं उहाँहरूलाई नै संक्रमित गराएर जोखिममा पार्नेछौं । याद गरौं हाम्रो असावधानीले गर्दा हाम्रा मान्यजनको यो अन्तिम चाड बन्न नपुगोस् ।

सकिन्छ भने चाडपर्व बसोबासको स्थानमा नै मानौं । यात्रा गर्दा भिडभाडमा नगरौं । हो एक त दशैं तिहारको बेला त्यसै पनि गाह्रो छ यात्रा गर्न । तर अहिले सामान्य स्थिति होइन। सार्वजनिक यातायात प्रयोग गर्दा पनि झ्याल खोलेर हावा खेल्न दिऔं, सकिन्छ भने झ्यालकोसिटमा बसेर यात्रा गरौं ।

काठमाडौं उपत्यकाबाट यात्रा गर्ने जो कोहीले पनि संक्रमण छ भन्ने ठानेर नै व्यवहार गर्न जरुरी छ । उपत्यकाबाट यात्रा गरेका कोहीसँग सम्पर्क भएको छ भने पनि संक्रमण सर्‍यो भन्ने ठानेर व्यवहार गर्नु जरुरी छ । सकिन्छ भने त यात्रा गरेको केही दिनको आइसोलेसनपछि कोरोना परीक्षण पनि गरौं ।

कोही यात्रा गरेर आउनुभएको छ भने सके आइसोलेसनमा बसौ नत्र कम्तीमा पनि घरभित्र बाहिर जता हुँदा पनि व्यक्तिगत सम्पर्क कम गरौं मास्कको प्रयोग गरौं ।

थोरैभन्दा थोरै आफन्तकोमा मात्र यात्रा गरौं अझ सकिन्छ भने त घरमा मात्रै मनाउने गरौं । वृद्धवृद्धा भेट्दा अनिवार्य मास्क प्रयोग गरौं । टाढैबाट आशीर्वाद थाप्ने व्यवस्था गरौं । उहाँहरूलाई पनि मास्कको उचित प्रयोग गर्न लगाऔं वा फेस सिल्ड पनि प्रयोग गर्न सकिन्छ ।

एउटै कोठामा बस्ने स्थितिमा झ्याल ढोका खोलेर यथेष्ट हावाको बहावको सुनिश्चित गरौं ।

यदि अहिले हामीले सावधानी नअपनाउने हो भने हामी जसको आशीर्वाद थाप्न जान्छौं उहाँहरूलाई नै संक्रमित गराएर जोखिममा पार्नेछौं । याद गरौं हाम्रो असावधानीले गर्दा हाम्रा मान्यजनको यो अन्तिम चाड बन्न नपुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डा. सुदीप खड्का

भाइरोलोजिस्ट डा. खड्का अमेरिकाको मेयो क्लिनिकमा अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment