Comments Add Comment

फूलैफूलको मौसम तिमीलाई…

२१ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारको बेला घर सिँगार्न, पूजा गर्न, दाजुभाइ–दिदीबहिनीलाई माला लगाइदिन फूल आवश्यक पर्छ । अर्थात् तिहारमा नभइ नहुने चीज हो फूल । त्यसैले पनि होला तिहारलाई फूलहरुको चाड भनेर पनि चिनिन्छ ।

मखमली, सयपत्री, गुर्धौली फूल यतिबेला ढकमक्क भएका छन् । व्यवसायिक उद्देश्यले धेरै जग्गामा लगाइएका फूल एकैपटक फूल्दा त हाम्रो नेपालको डाँडाकाँडा अझै सुन्दर देखिएका छन् ।

काठमाडौंको इचङ्गुनारायणमा देखिएको यो मौलिक नेपाली घर र घर वरिपरि फूलेका सयपत्री फूलको यो दृष्य साँच्चै सुन्दर छ । घर–पसल सिँगार्ने, गलामा पहिर्याइदिने मालामा प्रयोग हुने फूलले अहिलेको मौसमलाई साँच्चै मखमली बनाइदिएका छन्  । सायद यस्तै सुन्दर दृष्य देखेरै होला रत्नशमसेर थापाले गीत लेखे होलान्– फूलैफूलको मौसम तिमीलाई…।

तिहार सुरु हुन केही दिन मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यस्तता बढेको छ । बारीका फूल टिपेर माला गाँस्ने र बजार पुर्याउने काम गर्न उनीहरुलाई भ्याइनभ्याई छ ।

यस वर्ष कोरोना संक्रमणको कारण खासै रौनक नभएको र मलमासको कारण चाडबाड पछि परेकाले व्यवसायीहरुलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो भने छैन । बिगतमा धान भित्राउने बेला र तिहारको दिन सँगसँगै जस्तो पर्ने हुँदा किसानहरुलाई चटारो हुन्थ्यो । तर यस वर्ष तिहार अलि पछि परेकाले धान भित्राइसकेर तिहारको तयारी गर्न उनीहरुलाई अलि सहज भएको छ ।

तिहारमा सबैभन्दा धेरै खपत हुने फूल सयपत्री र मखमलीको हो । गुर्धौली फूलको पनि माग हुने गरेको छ । घर पसल सिँगार्नेहरुले गुलाबका फूलको पनि प्रयोग गर्ने गरेका छन् । तर, गुलाबको फूल तुलनात्मक रुपले महँगो हुने भएकाले सयपत्री र मखमलीभन्दा कम नै खपत हुने गरेको व्यवसायीहरु बताउँछन् ।

तिहारलाई लक्षित गर्दै अघिल्ला वर्षहरुमा विदेशबाट पनि फूल आयात हुन्थ्यो । तर यस वर्ष तिहारलाई पुग्ने फूल स्वदेशमै उत्पादन भएको पुष्प व्यवसायीहरुको संस्था नेपाल फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । ‘यस वर्षको तिहारमा स्वेदशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ एशोसिएसनका अध्यक्ष कुमार कसजुले भने ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment