Comments Add Comment

संस्मरण : पहाडको छाया तैरिरहेको स्यार्पु दह !

बजारबाट घर जाँदै थिएँ । हातमा थियो ‘आयो नुन’को दुईवटा पोका । बुबा बस्नुभएको रहेछ घरको पेटीमै ।

‘क्या ल्याई कान्छा ?’

(म घरको कान्छो भएकैले घरमा बुबाले कान्छा नै भन्नुहुन्छ ।)

‘नुन लिएर आएको बुबा !’

भान्सामा दिएँ आमालाई नुनको पोका । दाइहरू त बुबाको नजिक बसेर गफ गर्नुहुन्न थियो । तर, मलाई केही सकस लाग्दैनथ्यो ।

बुबाको छेवैमा गएर बसें । पेटीमा थियो आमाले मकैको पोकबाट (मकैको घोगाको बाहिरी तह) हातले बनाएको चकटी । त्यही चकटीमा बसें । बुबासँग कुरा गर्न थालें । उसो त म पनि धेरै बोल्दैनथें । फुर्सदिलो दिन भएकाले चिया खाँदै बुबाले आफ्नो पुरानो कुरा शुरु गर्नुभयो ।

हजुरआमाको सुत्केरी खर्च, नुन–तेल लिन जानुभएको हजुरबुबा फर्किनु भएनछ । बिरामी परेपछि आफ्नै साथीहरूले बोकेर लैजानु पर्छ भन्दै बाटोमै छोडेर हिँडेछन् । तर अरू हटारुहरूले मरेको भेटाएपछि त्यहीँ गाडेर आएछन् । आमाको कुरा सुनेर मलाई लाग्यो, त्यो जुगको मानवता र व्यवहार अहिले पनि कायम छ । उहिले अज्ञानले मानवता लुकायो, अहिले मान्छेसँग मानवताको लागि समय छैन

जनयुद्धकाल ताका, जेठ २०५६ मा हामी दाङको यो ठाउँमा झरेका थियौं । म करिब अढाइ वर्षको मात्रै थिएँ रे ! सबैजना डोकामा सामान बोकेर हिँडेर आएको त्योबेलाको कुरा सुन्दा आङ नै सिरिङ्ग हुन्छ मलाई । बुबाका अनुसार मलाई डोकोमाथि तत्पप्रसाद काकाले बोकेर ल्याउनुभएको रहेछ । डोकोमाथि बसेर उहाँकै कपाल तान्दै खुबै रोएको थिएँ रे म । घर छाडेको पीडामा रोएँ कि, डोकोमाथि बस्दाको दुखाइले रोएँ सम्झिन सक्दिनँ । काका अहिले दाङकै जनकल्याण माविमा अध्यापन गर्नुहुन्छ । उहाँको अभिभावकत्व अझै पाउँदै आएको छु ।

रूकुमबाट दाङ आउँदा सानोभेरीमा तुइन तर्दै आउनुपर्ने रहेछ । वर्षाको समय । ‘हामी तुइन तरेर वारिपट्टि आएको करिब केही सेकेन्डमै भेरीले तुईन सोरसार पारेर बगायो कान्छा !’ यति भन्दा बुबाको अनुहारको रंग अर्कै भएको थियो सायद । उहाँलाई त्यो बेलाको दृश्य नजिकबाट थाहा थियो ।

मैले केही भन्न सकिनँ । धन्न बाँचिएछ भन्ने लाग्यो । यो संसार देख्न पाइयोजस्तो लाग्यो । फेरि लाग्यो, हरेक मान्छेसँग अनुभूति हुन्छन् । अनि जीवनका सिक्न बाँकी पाठहरू, कोर्न बाँकी खाली पानाहरू ।

धेरै पहिले आमाले पनि सुनाउनुभएको थियो, देश सरेर (बसाई सरेर) दाङ आउँदाका दिनहरू । ती अभावका क्षणहरू । कपुरकोटतिर भर्खरै डोजरले खनेको कच्ची बाटोको हिलोमा हिँडेको सम्झिँदै आमा भन्नुहुन्थ्यो, ‘हामीले पाएजस्तो दुःख तिमीहरूले पाउनुहुन्न । जीवनलाई सजिलो बनाउनु पर्छ ।’

सायद त्यही भएर हामी सपरिवार जोखिम मोलेर दाङ आएका थियौं । बाँच्न लेखेकैले होला, भेरीमा तुइनबाट पनि बाँचेर आइयो । आमाले यसोभन्दा म धेरैबेर पुराना कुरा सोच्थें । बोद्ले खोलाका भिरहरूमा अल्झेर घाँसका भारी बोकेर झरेका चिप्ला लेउ लागेका गोरेटोहरू सम्झन्थें । आलुका बोराहरू ओसारेर छाकहरू अघाएका दिनहरू याद आउँथे । हामीले त जेनतेन खानपुग्ने अवस्था कटायौं तर क्रुर भोक मेटाएका दिन सम्झिँदै आमाल भन्नुहुन्थ्यो– ‘परिवार ठूलो थियो, खाना खाने बेलामा पाहुना आउने अनि पकाउनै झन्झट लाग्थ्यो । दिनभरको कामले थकाइले चुर भइन्थ्यो । यसैले तीनजना देवरानी जेठानीहरू सल्लाह गरेर भोकै सुत्थ्यौं । यी दिनहरू तिमीहरूलाई नपरोस् भनेर दाङ झरेका हौं ।’

आमाले दुःखका कुरा गर्दा म आमालाई केही सम्झाउने प्रयास गर्थें, ‘चिन्ता नलिनुस् आमा अब त्यो दिन आउन त के सम्झिनु पनि पर्दैन !’

****

चिया खाँदै, पुराना दिनको कुरामा मग्न हुनुभएको बुबालाई योपटक धेरै कुरा गर्ने मुड आएछ । उहाँ आफ्नै सुरमा बोल्दै जानुभयो–

‘हामी त नुन ल्याउन नेपालगन्ज जान्त्यौं । कृष्णनगर जान्त्यौं । नुन ल्याउन मात्र हैन । चार बाकस घ्यु लगेर जान्त्यौं । तँलाई भर लाग्दैन होला, हिँडेर नै जाने हो सबै ठाउँ । तिमेरूलाई त गाडी चाहिन्छ । अझ दुईबित्ताको बाटोमा पनि मोटरसाइकल ।’ (दाङ झरेको धेरै बर्ष भए पनि घरमा बोलीचालीको क्रममा रूकुमेली स्थानीय लवज प्रायः प्रयोग हुन्छ । मलाई पनि खुब अर्गानिक लाग्छ बुबाको लवज । आफूले त्यो ढंगमा कुरा गर्न नजाने पनि सुन्दा आनन्द आउँछ ।)

बुबा र छिमेकीहरू करिब महिना दिन हिँडेर हाटमा आई एक वर्षलाई पुग्ने नुन–तेल, लत्ता–कपडा लैजानुहुन्थ्यो । त्यो समय एउटा पोलिस्टरको जाँघे (हाफपाइन्ट) लाउन पाउँदा पनि दशैं आएजस्तो लाग्थ्यो मलाई पनि ।

रुकुमबाट बजार झर्दा बाटोमा ज्वरो आए, बिसन्चो भए सँगै आएका साथीले पनि छाड्ने रहेछन् । बाटोमा बास बस्दा आफैँले घरबाट लगेको पीठोको रोटी बनाएर खानुपर्ने रहेछ ।

बुबा अहिले पनि मोटोघाटो हुनुहुन्छ । उबेला भारी जति भए पनि बोक्नु हुन्थ्यो । हाटबाट आउँदा कोहि बिरामी परे भारी खप्ट्याएर ल्याइदिनुहुने रहेछ । सुन्दा अचम्म लाग्छ । त्यही भएर अहिले अलिअलि शरीर दुख्न थालेको रहेछ । सक्नुहुन्न पहिलाजस्तो काम गर्न ।

यता बुबाले हाटको कुरा गर्दा आमाले पनि मुख अमिलो बनाउनुभयो । एउटा ठूलो घटना भएको रहेछ उबेला, आमाको माइतमा । हाटबाट फर्किंदा हजुरबुबा बिरामी पर्नु भएछ । अहिलेजस्तो फोनको जमाना थिएन, घोडा पनि भनेको ठाउँमा नहुने । हजुरआमाको सुत्केरी खर्च, नुन–तेल लिन जानुभएको हजुरबुबा फर्किनु भएनछ । बिरामी परेपछि आफ्नै साथीहरूले बोकेर लैजानु पर्छ भन्दै बाटोमै छोडेर हिँडेछन् ।

तर अरू हटारुहरूले मरेको भेटाएपछि त्यहीँ गाडेर आएछन् । आमाको कुरा सुनेर मलाई लाग्यो, त्यो जुगको मानवता र व्यवहार अहिले पनि कायम छ । उहिले अज्ञानले मानवता लुकायो, अहिले मान्छेसँग मानवताको लागि समय छैन ।

आमाले भन्दै जानुभयो– ओख्र्यान (स्थानीय बर्खामासमा गोठ जाने ठाउँ) मै बसेर बर्खा काट्नुपथ्र्यो । भैंसा लैजानु पर्ने । दाउरे कटेरीजस्तो गोठमा सुत्नुपर्थ्यो । कति रातहरू निदाउनै नपाई जान्थे । कतिपल्ट सिरानैबाट बाघ हिँड्यो । बाँचिन्छजस्तो लाग्दैन्थ्यो । उँद र उम्म (तल र माथी) गर्दागर्दै हाम्रो जुनी गयो । त्यही भएर तिमेर्ले यस्तो दुःख गर्नु नपरोस् भनेर बजारमा आया हौं । लेखाइपढाइ गरौला भनेर दुःख बेसाएको !

आमा घरभित्र पसेपछि बुबाले आफ्नो कुरा सुरु गर्नुभयो । ‘हाम्रो तीनवटा भैंसा नौवटा गाई थ्यो । छकालै (बिहान सबेरै) जानुपर्थ्यो घाँस काट्न । घरदेखि उत्तरपट्टिको महाभारत लेकजस्तो त तीनटा डाँरा पारी गएर घाँस ल्याउनुपर्ने । (जुन ठाउँलाई बोद्लेखोला भनिँदो रहेछ) अझ बीचमा एकभारी दाउरा पनि त्यही भारीमाथि हालेर ल्याउनपर्थ्यो ।

मैले भनें, ‘त्यति टाढाबाट कति ल्याउनुहुन्थ्यो त घाँस ?’

आमाले भित्रबाटै भन्नुभयो, ‘तेरा बा’ले ल्याएका तीनटा पुला घाँस त भैंसा र गाईलाई दुई दिन पुग्थ्यो ।’

****

विश्वासै गर्न मुस्किल थियो बुबा–आमाको समय । हाम्रो घर रुकुमको स्यार्पु दहको पश्चिमपट्टिको पैँयाबारा गाउँमा थियो । अघिल्लो वर्ष म त्यही गाउँ पुगेको थिँए, करिब दुई दशकपछि । कहिले दाङ त कहिले काठमाडौं बस्दा चासो भएन अहिले गाउँ सम्झेर आएको छु केही दिनका लागि ।

गाउँमा मलाई कसैले चिन्न सकेनन् । चिन्नु पनि कसरी, आफू बीचमा एकदिन यहाँ आएको होइन ! तैपनि मलाई लाग्यो, ‘आहा ! यहाँका आकाश छोएका पहाड, पहाडको काखमा स्यार्पु दह । दहको छेउमा मेरो गाउँ । मेरो साल गाडिएको ठाउँ, मेरो अस्तित्व भेट्न सकिने गाउँ । चट्टानै चट्टान भएको पाखो । ढुङ्गैढुङ्गा भएका बारीका पाटाहरू मेरो हो !’

हुन त म एकदिन आएको मान्छेलाई यो ठाउँ मन परेको । सधैं बस्नेको सास्ती अर्कै छ । यसैले सौन्दर्यको पनि अवस्था–विशेषमा मानक फेरिने कुरा सत्य रहेछ ।

हुन त यस्ता ठाउँहरू थुप्रै छन् यो मुलुकमा । यो एउटा प्रतिनिधि ठाउँ मात्र हो । अभावका मुस्लाहरू अझै उस्तै छन् यहाँ । बुबा–आमाले सुनाएका कुरा यहाँ आउँदा साँचो हो भन्ने लाग्यो । यद्यपि, गाउँको संस्कृति केही फेरिएको छ । फेसबुक आएको छ । प्रत्येक घरबाट मान्छे विदेश पुगेका छन् । तर हराइसक्यो पटुका र गुन्यु । मकैको कुन्यु । अनि खरले छाएका साना–साना घरहरू ।

जान्ने भएपछि जन्मठाउँ पहिलोपल्ट पुग्दा मलाई लाग्यो– एउटा छुट्टै संसार हो यो गाउँ । यहाँका हजारौं कथा उत्खनन् हुन बाँकी छ । खानी हा यो दुःखको, जसको गर्भमा लुकेका छन् थुप्रै ग्रामीण जीवनका अवशेषहरू !

मैले गाउँलाई निनिर्मेष हेरिरहें‍…। आकाशलाई काँधमा राखेजस्ता अजंगका पहाडहरू । तिनै पहाडको छाया तैरिरहेको शान्त स्यार्पु दह !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment