Comments Add Comment
सिनेमा मन्थन :

‘यथास्थितिवादी सिनेमाले भिजन नभएको नेता जन्माउँछ’

‘जस्तो दर्शक, उस्तै राजनीतिक प्रणाली निर्माण हुन्छ’

३० कात्तिक, काठमाडौं । मनोज पण्डित थोरै सिनेमा बनाएर धेरै चर्चा कमाउने निर्देशक हुन् । मदन भण्डारी (हत्या ?) मा आधारित ‘दासढुंगा’, भैरबनाथ गणको यातनामा आधारित ‘बधशाला’ र गैंडा तस्करीमा आधारित ‘खाग’ पण्डितबाट निर्देशित सिनेमा हुन् । इतिहासमा आधारित ‘ग्रेटर नेपाल’ उनको डकुमेन्ट्री हो ।

अहिले पण्डित फिल्म निर्माणको साटो ‘सिनेमा मन्थन’ नामक पुस्तक लिएर लेखकका रुपमा बजारमा झुल्किएका छन् ।

चलचित्र बनाउनेमात्र होइन, त्यसभित्र बौद्धिक बहस पनि आवश्यक छ भन्ने डिस्कोर्षका लागि पण्डितले ‘सिनेमा मन्थन’ लेखेका हुन् । यसमा पण्डितले समाजलाई हेर्ने चलचित्रकर्मीको भिन्नै नजर हुन्छ भनेर उनले देखाउन खोजेका छन् । जस्तो फिल्म हेर्यो, त्यस्तै नेतृत्व निर्माण हुने पण्डितको दाबी छ ।

१५६ पृष्ठको सिनेमा मन्थनमा पण्डितले सिनेमा निर्माणका प्राविधिक, सैद्धान्तिक एवं दार्शनिक पक्षहरुलाई केलाएका छन् । साथै, उनले सिनेमाका पात्र र कथावस्तुलाई समाज र राजनीतिसँग सामान्यीकरण गर्ने प्रयास गरेका छन् ।

चलचित्रकर्मी पण्डितसँग नयाँ पुस्तक प्रकाशनको सन्दर्भ पारेर अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

पुस्तकलाई ‘सिनेमा मन्थन’ नाम दिनुभएको छ । सिनेमालाई पुस्तकमार्फत मन्थन गर्नुपर्ने आवश्यकता किन पर्यो ?

सिनेमा मानिसको ज्ञानको उत्पादन हो । चुरो कुरा त, तत्कालीन समाजले मानिसभित्र कस्तो धराणाको निर्माण गर्छ ? मानिससँग कस्तो ज्ञानको उपलब्धता छ, यो कुरा नबुझी सिनेमा निर्माण अपुरो हुन्छ । मसँग सिनेमा निर्माण गर्ने अनुभव हुँदाहँदै पनि आफैंले आफ्नो ज्ञानको आधा के छ हेर्छु । आफूले कसरी सोचिरहेको छु भन्ने थाहा पाउन पनि सोच्नैपर्छ, मन्थन गर्नैपर्छ । सिनेमा निमार्णका स–साना कुरामा सोच्न, विचार गर्न आवश्यक छ भनेर नै किताबको नाम सिनेमा मन्थन (संश्लेषण) दिएको हुँ ।

पाठकले किताबमा मनोज पण्डितकै आत्मलाप बढी पाउँदा, विषयवस्तुमाथि अन्याय गरेको ठहरिँदैन ?

प्रथमतः यो मेरो मनको कुरा होइन । मनमात्र खोतलेको होइन, मस्तिष्क खोतलेको हो । मस्तिष्कमा भएका कुरा खोतल्दा भएको मन्थनलाई लिपिबद्ध गरेको हुँ ।

यहाँ मेरो भावना र मनको आत्मलाप गरिएको छैन । सिनेमासम्बन्धी अध्ययनको सबै परिधि खोज गरिएको छ । अपर्याप्त भएका कुरा खोज्दा त्यसबाट आएका कथ्य, अवधारणा, चिन्तनलाई लेखेको हुँ । म सिनेमालाई मस्तिष्कको उत्पादन मान्दछु । भौतिक रुपमा पर्दामा देखिँदैमा सिनेमा पूर्ण हुँदैन । यसपछाडि केके ज्ञान, सिद्धान्त, चिन्तन लुकेको हुन्छ, त्यो अभिव्यक्त गरेको हुँ ।

सिनेमामाथि फरक धार र विचारको बहसमा होमिँदा, तपाईंले नै बनाएका सिनेमामाथि चाहिँ समीक्षा जरुरी हुँदैन ? अर्थात्, तपाईंकै निर्देशनमा बनेका सिनेमा पनि समस्या त छन् नि ?

यो किताबको पहिलो आवश्यकता नै म आफैंलाई परेको हो । मैले नयाँ कुरा जान्न अध्ययन गर्दा, गम्भीर हुँदा जे पाउँ त्यो डकुमेन्टेसन गरें । लेखेर थन्काउनेमात्र होइन, मेरो अवधारणालाई सार्वजनिक बहसका लागि खुल्ला गरिदिएँ । मसँग भएका संस्लेषणलाई एउटा विधिवत ढंगमा किन नलेख्ने ?

यो पुस्तक मेरै सिनेमाको कमजोरीको उपज हो । हरेक सृजनाको समीक्षा अत्यन्त आवश्यक छ । मेरै सिनेमामाथि गरेको समीक्षा पनि लेखेको छु । यो भएन भनेर आत्मआलोचना गरेको छु । मैले पूर्ण जानेर किताब लेखेको होइन भन्ने कुरा बुझिदिनुपर्छ । मलाई यो किताबले अझ बढी समीक्षा गर्न सहयोग पुर्याओस् । हाम्रा समीक्षाहरूको पूर्वाधार निर्माण गर्नका लागि नै यो किताब लेखेको हुँ ।

‘सिनेमा मन्थन’भित्र व्यवहारिक कुराभन्दा बढी विचार, सिद्धान्त र विश्लेषणका गह्रौं पाठले पाठकलाई अलमल बनाउँदैन ?

मैले भन्दै आएको छु, सिनेमा विचार, सिद्धान्तको उत्पादन हो । घटनाहरूको अभिलेख राख्ने माध्यम सिनेमा होइन । हाम्रा सिनेमा निश्चित सोचको आधारमा बनेको हुन् । सिनेमा राम्रा भएनन् भनेर गाली मात्र गर्ने होइन, किन अर्थपूर्ण सिनेमा भएनन् भन्ने सोचमाथि काम गर्ने हो ।

एउटा चरणमा आएर स्थापित अवधारणालाई टक्कर दिनैपर्ने हुन्छ ।  यस्तो कुराले एकछिन त असहजता उत्पन्न हुन्छ । ऐतिहासिक क्रमवद्धताले मात्रै कुनै समाजको निर्माण  हुँदैन । नायँ समाजको लागि पुरानो सोचलाई भत्काउने प्रयत्न हुनैपर्छ । यसर्थ, यो किताबले सहजता खोज्ने पाठकलाई अप्ठेरो पार्छ । तर, नयाँ सोच आत्मसात गर्नेहरूका लागि यो किताबले कुनै अलमल गर्दैन ।

‘हाम्रो सिनेमा’ विचार पक्षमा सधैं कमजोर भएकाले तपाईंले विचारको पक्षलाई जोड  दिनुभएको हो ?

प्रश्न हाम्रो सिनेमालाई मात्र होइन । हाम्रो समाजको ‘सोच प्रणाली’ नै कमजोर छ ।  मैले यो किताबमा सिनेमाको मन्थन गर्दैगर्दा सोचको प्रणालीमाथि पनि मन्थन गरेको छ । सिनेमा निर्माणको सोचलाई विकास गर्न त्यसको पछाडिको हर्ताकर्ता मानिसको सोच नै हो । आफ्नो सोच्ने क्षमतामा विश्लेषण गर्नको लागि सबै प्रकारका विमर्श आवश्यक हुन्छ ।

जस्तो दर्शकको निर्माण हुन्छ, त्यस्तै राजनीतिक प्रणाली भएको बन्छ । दर्शक त कार्यकर्ता हुन् । तत्कालीन समयमा  उनीहरूले कस्तो सिनेमा हेर्छन् त्यसले समाज र राष्ट्रलाई प्रभावित गर्छ । यसैले सिनेमा केवले मनोरञ्जनको साधनमात्र बनाउने जुन पक्षले गरेको छ, यसलाई भत्काउने जनताको रुप दर्शक नै हुन् । यथास्थितिवादी सिनेमा हेरिरहने हो भने, ‘भिजन’ नभएको नेतृत्व नै जन्मन्छ । विचारिविहीन, क्रियाशीलहीन राजनीतिक नेतृत्वको निर्माण हुन्छ ।

मेरो पुस्तक सिनेमालाई होच्याएर, सिनेमाको बारेमा सोच्नुहुँदैन भनिने पूर्वाग्रही मनोविज्ञानको विपक्षमा उभिन्छ ।

नेपाली सिनेमा सधैं किन संकटमा छ ? यसबारे चाहिँ लेख्नु आवश्यकता हैन र ?

संकटमा  छ भनेर आरोेप लगाइराख्ने हो कि कारण पनि खोज्ने हो ? हामी संकटमा छौं भनेर एक युग नै खाली हात बसिदिन्छौं । तर  हरेक संकटको कारण सोचमा हुन्छ । सिनेमा निर्माणको सोच (अवधारणा, सिद्धान्त, प्रणाली) माथि यही भएर लेख्नुपरेको हो । सिनेमा मन्थन गर्नुपरेको कारण नै नेपाली सिनेमा कमजोर भएर त हो ।

सिनेमाको समस्या टालटुल गरेर ठीक हुने होइन । टेप लगाएर सिनेमाको छिद्र मेटिँदैन । हाम्रो चिन्तन प्रणाली सुधार नगरीकन सिनेमा सधैं संकटमा पर्छ । म पनि यो संकटको केन्द्रमा छु । किन यो संकट आयो, खुल्ला विमर्श आवश्यक छ ।

विश्वका राम्रो सिनेमाले अधिकांश मान्छे नराम्रो र कुरुप हुन्छ भनेको छ । अब प्रश्न के हो भने, हामी कत्तिको कुरुप छौं त ? यसर्थ सबै मानिसले आफूलाई सुधार गर्न आवश्यक छ

इतिहास र सिनेमा र समाज अन्तरसम्बन्धित हुने कुरा सही हो भने, कसरी अन्तरसम्बन्धित हुन्छन् ?

समाजसँग मात्र होइन, जीवनका बहुआयामसँग सिनेमा जोडिएको छ । दर्शन, राजनीति, इतिहास, समाज, संस्कृति, धर्मसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।

अन्तरसम्बन्धको मियो भनेको मानिस हो । मानिसमाथि अध्ययन गर्नु आवश्यक छ । मानिसको मूल तत्त्व अर्थात् उसको सोचमाथि अध्ययन गर्नुपर्छ । मानिसले आवश्यकता परेर नै  सिनेमा बनाएको हो । यसैले मानिसलाई आफूले के गर्दैछु, किन गर्दैछु भन्ने थाहा हुन जरुरी छ । सिनेमा बन्न थालेको सय वर्ष भइसक्यो । त्यसअघि कथा, नाटक  बनाउँथ्या मान्छेले । मान्छेको सभ्यताले सिनेमा किन बनायो, यहीँदेखि सिनेमा मन्थन गर्नुपर्ने हुन्छ ।

ज्ञानले मात्र सिनेमाको स्तर–उन्नति (विशिष्टता) हुन्छ वा मौलिक सिर्जना महत्त्वपूर्ण हुन्छ ?

सिर्जना भनेकै ज्ञानबाट आउँछ । मौलिकता ज्ञानको अभिव्यक्तिबाटै आउने कुरा हो । हामीले सिनेमालाई ज्ञानभन्दा पर छुट्याएर हेर्ने काम गर्यौं, त्यहीँ गम्भीर गल्ती भइसकेको छ । हामीसँग जस्तो सिनेमा छ, त्यो हाम्रो समाजको ज्ञानको सीमितता हो । जुन समाजले बौद्धिकताको अभ्यास गरेको, विज्ञानको खोज गरेको छ, त्यो समाजले उत्पादन गर्ने सिनेमा र नेपाली सिनेमा त  निकै फरक छ ।

फेरि, साहित्यकारचाहिँ बौद्धिक हुने, सिनेकर्मी चाहिँ बौद्धिक नहुने ? एउटा निबन्धकार बौद्धिक मानिने हाम्रो समाजले सिनेमासँग ठूलो पूर्वाग्रह राखेको छ ।

पूर्वाग्रह मात्रै भनिरहनुभएको छ । समाजले कसरी पूर्वाग्रह राख्यो ?

सिनेमा मेकर पनि त बौद्धिक सम्पत्ति हुन् । सिनेमा बहसको केन्द्रमा एउटा स्रष्टाको बौद्धिकताको विश्लेषण हुन्छ नि ।  सिनेमा भन्नेबित्तिकै ज्ञान, विचार बौद्धिकताभन्दा  बाहिर राखेर हेरिएको छ । यसले मलाई पीडाबोध गराउँछ ।

म सिनेमा अत्यन्त बौद्धिक उत्पादन हो भन्ने मान्छु । हामीले एउटा सिनेमा निर्माण गर्नलाई जुन तहसम्मको खोज, चिन्तन गर्छौं त्यसको मूल्यांकन हुने संस्कृति बन्नुपर्छ । सिनेमामाथि यो समाजले सौतेनी व्यवहार गरेको छ । मेरो किताबले यस्तो सोचको समाजसँग टकराव गर्छ । यो सबै जडतासँग लडाइँ गर्न तयार छु म ।

उसोभए, सिनेमाको नजरबाट अबको समाजलाई कसरी हेर्नुपर्छ त !

विश्वका राम्रो सिनेमाले अधिकांश मान्छे नराम्रो र कुरुप हुन्छ भनेको छ । अब प्रश्न के हो भने, हामी कत्तिको कुरुप छौं त ? यसर्थ सबै मानिसले आफूलाई सुधार गर्न आवश्यक छ । मानिस ढोंगी छ । ढोंगमै रमाइरहेका छ । यसमाथि प्रश्न गर्नै आँट गर्नुपर्छ ।

यसर्थ राम्रा सिनेमाले मानिसको मनोविज्ञानमाथि अझै बढी प्रश्न गर्नेछ । यसपछि मात्र समाजले सिनेमाको बौद्धिक अभ्यास, चिन्तनलाई आफ्नै सम्पत्ति मानेर हेर्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment