Comments Add Comment

इथियोपिया टिग्रे संकट : प्रधानमन्त्रीले भने युद्ध अन्तिम चरणमा

३ मंसिर, काठमाडौं । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले टिग्रे प्रान्तमा विद्रोहीविरुद्धको लडाइँ अहिले अन्तिम चरणमा पुगेको बताएका छन् । उनले विद्रोहीलाई आत्मसमर्पणको लागि दिएको तीन दिनको म्याद सकिएसँगै अब अन्तिम चरणको युद्ध सुरु गरिने प्रधानमन्त्रीले बताएका हुन् । सरकारी सेना र टिग्रेका स्थानीय सेनाको बीचमा पछिल्लो दुई सातादेखि जारी युद्धमा परी अहिलेसम्म एकसयभन्दा धेरैको मृत्यु भइसकेको छ । साथै युद्धको कारण अहिलेसम्म करिब २७ हजार मानिस भागेर सुडान पुगेका छन् ।

संयुक्त राष्ट्रसंघले यो क्षेत्रमा मानवीय संकट सुरु भइरहेको बताएको छ । अहिले टिग्रेमा सञ्चारका सबै सेवा बन्द गरिएकाले त्यहाँ के भइरहेको छ भन्ने कुराको जानकारी भने पाउन सकिएको छैन । गत ४ नोभेम्बरदेखि इथियोपियाको सरकार र टिग्रेका विद्रोहीबीच युद्ध सुरु भएको छ । केन्द्रीय सरकारले टिग्रे पिपुल्स लिबेरेसन फ्रन्ट (टीपीएलएफ)माथि सेनाको क्याम्पमा आक्रमण गरेर हतियार लुटेको आरोप लगाएको छ । टीपीएलएफ इथियोपियाको राजनीतिक दल हो । टिग्रेमा यो पार्टीको नियन्त्रण छ । केन्द्र सरकारले यो पार्टीमाथि अवैध निर्वाचन गराएको आरोप समेत लगाएको छ ।

यद्यपि टीपीएलएफले भने प्रधानमन्त्री अबियको सरकार अवैध रहेको बताएको छ । यो सरकारसँग पर्याप्त बहुमत नभएकाले यो सरकार अवैध रहेको बताएको छ । यसअघि प्रधानमन्त्री अहमदले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण आम निर्वाचनलाई पर सार्ने निर्णय गरेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment