Comments Add Comment

‘आत्मविश्वास नभएकाहरुले पूर्व अध्यक्षहरुको फोटो दुरुपयोग गरे’

११ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र जानेमानेकी नेतृ साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठ उद्योग–वाणिज्य क्षेत्रको राजनीतिमा छन् । तीनपटक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य र एकपटक वस्तुगत उपाध्यक्ष भएका उनी यसपटक वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्र ढकालको प्यानलबाट दोस्रोपटक वस्तुगत उपाध्यक्ष बन्न चुनावी मैदानमा छन् । उनीसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानी :

वस्तुगत उपाध्यक्षका उम्मेदवारको रुपमा तपाईंका चुनावी एजेण्डा के हुन् ?

उद्योगी व्यापारीको राजनीतिक दलहरुको जस्तो खास एजेण्डा हुँदैनन् । हामीले निजी क्षेत्रको भूमिका थप बलियो बनाउने हो । मुलुकमा निजी क्षेत्रको भूमिका कहाँ, कति हुनुपर्छ ? त्यो हेर्ने, खोज्ने हो ।

अहिलेसम्म निजी क्षेत्रलाई हेयको दृष्टिले हेरिएको छ । हामीले त्यो हटाउँदै राष्ट्रलाई नै फाइदा हुने उद्योग–व्यापार सम्बन्धी नीति निर्माण गर्ने भूमिका खेल्ने हो । यसमा मेरो भूमिका सशक्त हुनेछ ।

पहिलो कार्यकालमा सक्नु भएन र दोस्रो पटक उम्मेदवार बन्नु भएको हो ?

यो कार्यकालको मात्र कुरा होइन । यो फेरि आजको आजै, एकै पटक हुने होइन निरन्तर भइरहने कुरा हो । यो क्रमिक रुपले अगाडि बढ्छ ।

केही सयमदेखि म देखिरहेको छु, नयाँ नयाँ सचिवज्यू, कर्मचारीहरुले हाम्रो समस्याहरु बुझ्न थाल्नुभएको छ । शतप्रतिशत समस्या समाधान हुन त समय लाग्छ नै । समस्या समाधान हुन्छन् भन्ने प्रतिक्षामा छौं । निजी क्षेत्र मैत्री नीति बन्छ भन्ने हामीलाई विश्वास छ ।

तीन कार्यकाल कार्यसमितिमा अनि एक कार्यकाल उपाध्यक्ष बनिसक्नु भएका तपाईं वरिष्ठ उपाध्यक्षमा लड्ने तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा बाहिर आएको थियो । पछि चन्द्र ढकालको प्यानलबाट सोही पदमा दोहोरिन चाहानुभयो । कारण चाहिँ के हो ?

यस विषयमा म बोलेको थिइन । मेरो इच्छा र साथीहरुको चाहना भने थियो नै । जहाँसम्म ढकाल नै किन रोजेको भन्ने कुरा छ, उहाँ र मेरो विगत एउटै छ । हामी दुवैले मासिक ४–५ सय रुपैयाँको जागिर खाएर सुरु गरेका हौं । वर्तमान अवस्था भने धेरै फरक छ । व्यापार–व्यवसायमा उहाँ धेरै माथि पुगिसक्नु भएको छ । रपनि, उहाँले धरातलको कुरा बुझ्नु हुन्छ । म पनि बुझ्छु । हामी साना, ठूला सबैको बुझ्छौं ।

अर्को उहाँको स्वभाव मृदु छ । नेपाली उखानमा भनिन्छ नि, आँखामा राख्दा पनि नबिझाउने । हो, उहाँ त्यस्तै हुनुहुन्छ । महासंघको नेतृत्व यस्तै व्यक्तिले गर्नुपर्छ । म त कुरौंला नि केही समय । भोलि आउँदै नआए पनि फरक नपर्ला । तर, २५ वर्षमा चमत्कार गरेका व्यक्तिले महासंघमा पनि चमत्कार गर्छ ।

राजनीतिक घरनाको व्यक्ति भए पनि तपाईं राजनीतिबाट टाढै हुनुहुन्छ । महासंघको राजनीतिमा भने तपाईंको यति धेरै सक्रियता किन ?

पहिलो कुरा त महासंघमा राजनीति नै हुँदैन । चुनाव अघि मन मिल्नेहरु एकातिर हुन्छौं । अर्को पक्षमा पनि मन मिल्ने साथीहरु नै हुन्छन् । चुनाव सकिएपछि त्यो पक्ष–विपक्ष पनि खत्तम हुन्छ । सबै एक भइहाल्छौं ।

महासंघमा वाद वा विचारको राजनीति हुँदैन । हामी सबैको बिचार एउटै हुन्छ– कसरी देशको आर्थिक स्थिति सुधार्ने ? अर्थतन्त्रलाई कसरी चलायमान बनाइराख्ने ? कसरी मुलुकको आर्थिक वृद्धिदर बढाउने ?

मेरो बुवाआमाले जीवनभर राजनीति गर्नुभयो । एकाघरका तीनै जना राजनीतिमा हुनुपर्छ भन्ने मलाई लागेन । मेरो महान आमाबुवाले नेपालमा राजनीतिक चेतना फैलानु भयो, राजनीतिक अधिकार स्थापित गराउनु भयो ।

मलाई चाहिँ २५–३० वर्ष अगाडि नै अब आर्थिक क्षेत्रको विषयमा सोच्नुपर्छ भन्ने लाग्यो । त्यसबेला आर्थिक विषयहरु कमै उठ्थ्यो । पञ्चालत कालमा आर्थिक बिकासको कुरा कसैले गरेनन् । बहुदल आएपछि अर्थतन्त्रका कुरा गर्न सहज भयो ।

मलाई लाग्थ्यो, आर्थिक प्रगति नगरेसम्म हामी उन्नत देश बन्न सक्दैनौं । यसकारण बुद्धिविवेकले भ्याएसम्म यहि क्षेत्रमा खटेँ । मलाई राजनीति गर्ने मन नै भएन । अब त झन हुने कुरै भएन । उमेर ६० पनि कटिसक्यो अब उता जाँदा वर्षौदेखि दुःख गरेका साथीहरुको भाग खोस्न गए जस्तो हुन्छ । म त सकुञ्जेल, रहुञ्जेल आर्थिक क्षेत्र कै बिकासमा लाग्ने हो । पद मिलोस् या नमिलोस् ।

भनेपछि, चुनाव हारे पनि महासंघमा तपाईंको सक्रियता रहन्छ ?

यो शब्द अहिले बोली नहाल्नुस् । ‘नजिते पनि’ भन्ने शब्दावली अहिले प्रयोग नै गर्नु हुँदैन । चुनाव त कन्फर्म नै जित्छु नि ।

चुनावी नतिजाको आकलन कसरी गर्नुभएको छ ?

ठ्याक्कै यही हुन्छ भनेर आकलन नगरेपनि आफू निर्वाचित हुन्छु भन्ने विश्वास छ । साथीहरुसँग सोध्दा, बुझ्दा मैले यही पाएको छु । कोरोनाका कारण धेरै साथीहरुसँग प्रत्यक्ष भेट्न मुस्किल परिरहेको छ, तर फोन, मेसेज, भर्चुअल माध्यमबाट यस्तै सन्देशहरु आइरहेको छ । दिन–रात यसैमा लागेको छु । र, यति पक्का हो मेरो जित सुनिश्चित छ ।

तपाईंको कडा स्वभावको असर चुनावी परिणाममा पर्ला भन्ने लाग्दैन ?

मेरो स्वभावका विषयमा बाहिर आएका कुराहरु नै गलत हुन् । म कडा स्वभावको होइन स्पष्ट वक्ता हुँ । कडा स्वभाव भए महासंघमा चारपटक चुनाव जित्ने थिइन । स्पष्ट विचार राख्ने मान्छेलाई कडा स्वभावको भन्न मिल्दैन ।

महासंघको आगामी नेतृत्वले गर्नु पर्ने मुख्य काम के–के हुन् ?

कोभिडबाट तहसनहस अर्थतन्त्र उकास्न अबको नेतृत्वको भूमिका हुनुपर्छ । यसका लागि सरकारसँग समन्वय गर्न सक्नुपर्छ । यसका निम्ति हामीले नै चुनाव जित्नपर्छ । चन्द्रजी र म मिल्ने हो भने सरकारसँग पहल गर्न सक्छौं । विपक्षी साथीहरुले यो काम गर्नसक्नु हुन्छ जस्तो मलाई लाग्दैन ।

सरकारले ५० अर्बको सुविधा दिने कार्यविधि भर्खरै पारित गरेको छ । यसमा पनि हामी दुवैको जनाको भूमिका थियो । डेढ खर्बको राहत ल्याउने हो भने अर्थतन्त्रलाई मल्हम लगाउन सहज हुन्छ । असर परेका धेरै क्षेत्र छन् ।

सबैभन्दा धेरै पर्यटनमा परेको छ । निर्माण, यातायात, कृषि लगायत क्षेत्रमा कोभिडको असर परेको छ । कृषि हामीले सुधार्न सकिने क्षेत्र हो । सरकारले यसमा धेरै ध्यान दिन सकिरहेको छैन ।

हुन त सरकारलाई पनि गाह्रो होला, तर दिन सक्ने राहत प्याकेज पनि दिएन । सरकारसँग पैसा कम होला । हामीले कम तिरेपछि सरकारसँग धेरै पैसा हुने कुरा भएन । तर, गर्न सक्ने जति गरेको छैन ।

एउटा अनुरोध के गर्न चाहान्छु भने हामी सरकारको एउटा सेफ्टी भल्ट हौं । हामी बर्षेनी खर्बौ कर बुझाउँछौं । करदातालाई सुकेनास लागेपछि कसरी चल्छन् ? उनीहरु अप्ठेरोमा परे कसरी कर तिर्छन र हामीले कसरी सरकार चलाउनु भनेर सरकारले सोच्नपर्छ । सरकारले करदातालाई स्वस्थ बनाउनपर्छ । हामीले मागेको यही हो ।

चुनावपछि एक ढिक्का भइहाल्ने कुरा गर्नु भयो । भावी अध्यक्ष फरक प्यानलमा हुनुहुन्छ । कसरी हुने एक ढिक्का ?

यो प्यानल भन्ने कुरा १३ गते सकिन्छ । तपाईंले जस्तै धेरैले यो कुरा सोध्नु हुन्छ । शेखरजीले विधानको मर्म विपरित एकातिर लागेर गलत गर्नुभयो । तर त्यसको लागि हामी उहाँलाई नराम्रो केही भन्दैनौं । उहाँले गर्नु भएका राम्रा कामको सधै प्रशंसा गछौँ । नराम्रो कामलाई त सबैले नराम्रो भनिहाल्छन् ।

हाम्रो भावी अध्यक्ष उहाँ नै हो, मिलेरै काम गर्छौँ । विरोधका लागि विरोध गर्न हामी महासंघमा जाँदैनौं । महासंघ फुलोस्, फलोस् भन्ने हाम्रो सोच छ ।

अहिले केहि साथीहरु व्यक्तिको पछाडि लागेर अपशब्द पनि बोलिरहनु भएको छ । यो राम्रो होइन । चुनाव कोहि लड्छ भने आफ्नो क्षमताले लड्ने हो । अरुको फोटो देखाएर चुनाव लड्ने होइन । फलानोको समर्थन मलाई छ भनेर पूर्व अध्यक्षहरुको फोटो प्रयोग गर्नु भनेको नालायकी हो । यसले उहाँहरुमा आत्माविश्वास नभएको प्रष्ट देखाउछ ।

पूर्व अध्यक्षहरुप्रति सम्मान नै गर्ने हो । उहाँहरुमध्ये कोही मेरो पक्षमा पनि हुनुहुन्छ, तर म फोटो राखेर भोट माग्दिन । म उहाँहरुलाई विवादित बनाउन चाहन्न ।

विधान संशोधनको विवाददेखि नै पूर्व अध्यक्षहरु विभाजित हुनुहुन्थ्यो । त्यसको बाछिटा अहिले चुनावमा पनि देखियो होइन ?

बगिसकेको पानीबारे धेरै छलफल गर्नुको अर्थ हुँदैन । विधान संशोधनको माग हाउसले गरेको थियो, कुनै व्यक्तिले होइन । हाउसले नै विधान संशोधन समिति बनाएको हो । त्यसमा म एउटा सामान्य सदस्यले विचार राखिराख्नु पर्छ जस्तो लाग्दैन । खैर, त्यो भएन ठिकै छ । हामीले मेलमिलापको लागि त्यो नभएको भन्ने सोच्यौं । त्यसको बर्खिलाप गरेर अहिले साथीहरुले गलत गर्नुभयो ।

विधान संशोधन गर्नुपर्छ भनेर हामीसँगै लाग्नेमा किशोरजी पनि हुनुहुन्थ्यो । त्यसैले अहिलेको चुनावमा विधान संशोधनको कुरा जोड्न हुँदैन । यसो भन्दै गर्दा मैले के सूचित गर्नुपर्छ भने विधान संशोधन हुनैपर्ने थियो । तर कुन–कुन बुँदामा हुनुपर्छ भन्ने महत्वपूर्ण कुरा हो ।

हाम्रो विधानमा धेरै कुराहरु मिलेका छैनन्, जसलाई पहिल्यै मिलाउनु पथ्यर्ढो । यो विधान धेरै पटक प्लास्टर गरिसकेको विधान हो । यसमा संशोधन आवश्यक छ । ढिलो चाडो त्यो हुन्छ नै ।

अर्को उपाध्यक्ष थप्नेगरी पनि संशोधन हुनुपर्छ भन्ने थियो होइन ?

मुख्य कुरा प्राविधिक नै हो । फेरि यो मात्रै विषय भन्न खोजेको होइन । त्यसबेला ३५–३६ वटा बुँदा संशोधन हुनुपर्छ भन्ने कुरा उठेको हो । उपाध्यक्ष थप्ने, वस्तुगतको मतभार बढाउने जस्ता विषयहरु थिए ।

भोलिका दिनमा जिल्लालाई दुई उपाध्यक्ष दिने, वस्तु्गतको मतभार बढाउन पर्ने भन्ने कुरामा मेरो विरोध हुँदैन । माथिको बुँदालाई तलको बुँदाले काट्ने जस्ता समस्याहरु पनि संशोधन गर्नैपर्छ ।

यस्तो समस्या छ । १३ गतेपछि एक ढिक्का हुन कसरी सम्भव होला त ?

यसअघिका निर्वाचनहरु हेर्नुस् । पहिले पनि चुनाव भएकै हुन् । यसअघि शेखरजीसँग किशोरजी हार्नु भयो । अहिले उहाँहरु सँगै हुनुहुन्छ । यो आश्चर्यको बात होइन ।

महासंघमा कुनै वादले होइन, व्यक्तिगत विचारले काम गर्छ । सबैको मनभित्र वाद होला, कुनै आस्था होला, तर कसैले म यताको भनेर देखाइराख्नु पर्दैन । यहाँ व्यक्तिगत विचार र साथीभाइबीचको सामप्यिताले काम गर्छ । चुनाव पछि हामी एक नै हुन्छौं ।

दुई प्यानलबीच सामान्य चुनावी प्रतिष्पर्धा मात्र नभएर ठूलै मतभेद भएजस्तो देखिन्छ नि ?

शेखरजीसँग हाम्रो त्यस्तो केहि मत भिन्नता छैन । उहाँ विधानको मर्म विपरित जानुभयो । अन्य ठूलो मतभेद केही छैन । हामी चुनाव पछि एक हुन्छौं ।

सर्वसम्मतिको सम्भावना सकिएको हो ?

सहमति जस्तो मिठो कुरा संसारमा अरु के होला र ? मह धेरै मिठो हुन्छ, तर त्यो काड्न गाह्रो हुन्छ । सहमति भन्ने कुरा यस्तै हो ।

भनेपछि सहमतिको सम्भावना अब छैन ?

सम्भावना छैन भन्दा मलाई सहमति विरोधी भन्लान् । छ भनौं भने म त्यो देख्दिन । तपाईं आफैं मिलाएर बुझ्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment