Comments Add Comment

पब्लिक भर्सेस प्रमोटर सेयर : कहीँ नभएको अभ्यास नेपालमा

२६ मंसिर, काठमाडौं । एउटा उखान छ- कहीँ नभएको जात्रा हाँडी गाउँमा । आजको नेपाली वित्तीय क्षेत्रलाई सम्झेर हिजै यो उखान बनेको प्रतित हुन्छ ।

नेपालका बैंक तथा वित्तीय क्षेत्रका साथै बिमा क्षेत्रमा पनि लगानीकर्ताहरुलाई प्रमोटर (संस्थापक) र अर्को पब्लिक (सर्वसाधारण) समूह भनेर दुई समूहमा विभाजन गरिएको छ ।

विश्वका अन्य देशमा नभएको अभ्यास नेपालले गरेको छ । नेपालमै पनि बैंक, बीमा बाहेकका क्षेत्रमा यस्तो अभ्यास छैन । अर्थात कहीँ नभएको जात्रा नेपाली वित्तीय क्षेत्रमा छ ।

अहिले बैंकहरुमा छुट्टाछुट्टै समूहबाट सञ्चालक चुनिने गरेका छन् । जस्तो- एभरेष्ट बैंकको ७ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष बीके श्रेष्ठसहित ४ जना प्रोमोटर सेयर होल्डरका तर्फका छन् भने २ जना पब्लिक (सर्वसाधारण) समूहबाट । विज्ञ सञ्चालकका रुपमा अर्का एक जना मनोनित भएका छन् ।

यसरी लगानीकर्तालाई दुई समूहमा विभाजन गर्दाको असर सेयर बजारसम्म पुगेको छ । सेयर बजारमा दुईवटा नामबाट एउटै बैंकको छुट्टाछुटै कारोबार हुन्छ । कारोबारमात्रै होइन, सेयर मूल्यमा समेत यि दुई समूहको असर छ ।

एभरेष्ट बैंकको सेयर मूल्य सर्वसाधारण समूहको प्रतिकित्ता ६८६ रुपैयाँ छ भने संस्थापक समूहको प्रतिकित्ता १४५ रुपैयाँमा । यस्तो अभ्यास अन्य मुलुकमा नहुने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ता भनेपछि लगानीकर्ता नै हुन्छन्, अन्य देशमा यसरी पब्लिक र प्रमोटर  छुट्याइएको हुँदैन ।’

पुँजी बजारमा कारोबार पनि एकै नामबाट हुने उनी बताउछन् । तर केन्द्रीय बैंकले संस्थापक र पब्लिक भनेर दुइ भागमा छुट्याएको कारण नेप्सेमा पनि दुइ वटा स्टक नामबाटै कारोबार हुने प्रवक्ता पराजुलीले बताए ।

संस्थापक र सर्वसाधारण सेयर मूल्यबीचको खाडल

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएका अन्य कम्पनीको तुलनामा ‘क’ वर्गका बैंकहरुको सेयर निकै कमजोर छ । ‘घ’ वर्गका लघुवित्तहरुको सेयर मूल्यको तुलनामा कमर्सीयल बैंकको सेयर मूल्य एकदमै कम छ ।

अझ वाणिज्य बैंकको संस्थापक सेयरको मूल्य त यतिसम्म कमजोर छ की, साधारण सेयर (आईपीओ) कै मूल्यमा केही बैंकहरुको सेयर कारोबार नेप्सेमा भइरहेको छ । अझ यि दुई समूहका सेयर मूल्यको अन्तरमा भने ठूलो खाडल छ ।

विदेशी लगानी रहेको नेपाल एसबीआई बैंकको संस्थापक समूहको सेयर मूल्य धेरै छ भने अन्य बैंकको सर्वसाधारण समूहको सेयर मूल्य बढी छ । पछिल्लो कारोबार हेर्ने हो भने अहिले सेयर मूल्य सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको छ ।

एसबीआई बैंकको संस्थापक समूहतर्फको सेयर मूल्य १ हजार ४२० रुपैयाँ छ । नेप्सेमा कारोबार हुने नेपालका सबै वाणिज्य बैंक मध्येको यो नै धेरै हो । सर्वसाधारण समूहको सेयर मूल्य भने ४२० रुपैयाँ प्रतिकित्ता मात्र छ ।

सेयर मूल्यबीचको अन्तरमा अन्य बैंकहरुको अवस्था पनि उस्तै छ । सर्वसाधारण समूहतर्फको सबैभन्दा बढी सेयर मूल्य भएको नबिल बैंकको संस्थापक समूहको सेयर मूल्यमा एसबीआई भन्दा कम छ । नविलको संस्थापक सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ छ भने सर्वसाधारण समूहको सेयरमूल्य प्रतिकित्ता ११२० रुपैयाँ ।

एभरेष्ट बैंकको पनि संस्थापक र सर्वसाधारण समूहको सेयर मूल्यमा ठूलो फरक छ । एभरेष्टको सर्वसाधारण सेयर प्रतिकित्ता ६८६ रुपैयाँ छ भने संस्थापक प्रतिकित्ता १४५ रुपैयाँमात्र ।

हिमालयन बैंकको पनि सर्वसाधारण सेयर मूल्य प्रतिकित्ता ६५३ रुपैयाँ हुँदा संस्थापक ३०० रुपैयाँ मात्र छ । त्यस्तै, एनआइसी एसिया बैंकको सर्वसाधारणको ६१६ रुपैयाँ छ भने संस्थापकको ३३५ रुपैयाँ  ।

‘संस्थागत सुशासन हुने हो भने आवश्यक पर्दैन’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका सेयर बजारविज्ञ अम्बिका प्रसाद पौडेल संस्थागत सुशासन र नियमन राम्रो भए लगानीकर्ताहरुलाई संस्थापक र सर्वसाधारण भनेर छुट्याउनु नपर्ने बताउँछन् । तर नेपाली पुँजी बजार भर्खरै विकास हुने क्रममा रहेका कारण यसको आवश्यकता महशुस गरिएको उनले बताए ।

लगानीकर्ताहरुलाई दुई समूहमा बाड्ने नीति विश्वका धेरै देशमा नभएको उनी बताउँछन् । नेपालकै पनि जलविद्युत् लगायतका क्षेत्रमा यो व्यवस्था छैन ।

नियामक निकाय दह्रो भएर संस्थागत सुशासन कायम भएपछि यो व्यवस्था हटाउनै पर्ने पौडेलको भनाइ छ । अहिले तत्कालै भने पुँजी बजारको विकास हुने क्रममा रहेका कारण केही समय यो नीति ठिकै हुने उनले बताए ।

‘धितोपत्र सम्बन्धी नियम कानून बलियो भइदियो भने यो आवश्यक पर्दैन’ उनी भन्छन्, ‘नियमन बलियो नहुने, संस्थापक र सर्वसाधारण पनि नहुने हो भने त्यो संस्थाको स्वामित्व कसको हुने ? प्रश्न रहन्छ ।’

नियामक दह्रो नहुँदा र संस्थागत सुशासन कम हुँदाको अवस्थामा सेयर स्वामित्व एकै समूह रहने हो भने अविभावकविहीनता जस्तो भइदिने उनको आशंका छ ।

‘दुई समूहमा नेतृत्व सहज भएको छ’

अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ लगानीकर्ताहरु दुई समूहमा हुँदा नीति निर्माण लगायतका काममा नेतृत्व लिन सहज भएको बताउँछन् । सर्वसाधारणमा गएको सेयर १०/१० कित्ता छरिँदा हजारौं सेयर होल्डर हुने भएकाले पनि संस्थापक छुट्टै हुँदा संस्थाको जिम्मेवारी लिन संस्थापक समूहले भूमिका खेल्ने गरेको श्रेष्ठ बताउँछन् ।

लगानीकर्ताको विभाजनबारे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठको धारणा :

पब्लिक लिमिटेड कम्पनी भन्ने वित्तिकै त्यो स्थापना गर्ने, रेखदेख गर्ने प्रमोटर अर्थात संस्थापक समूह हुन्छ । संस्था स्थापना गरेर सञ्चालनमा आइसकेपछि साधारण सेयर बिक्री गर्न पाउने व्यवस्था छ । त्यो सेयर सर्वसाधारणले किन्न पाउने भए । सर्वसाधारणले किनेको सेयरलाई ‘सर्वसाधारण समूह’मा विभाजन गरिएको छ ।

मलाई संस्थाको संस्थापक अलि फरक हुनुपर्छ भन्ने लाग्छ । नेपालमा सेयर बजारमा कारोबार थालिएसँगै यसरी दुई भागमा विभाजन भएजस्तो लाग्छ । वित्तीय क्षेत्रमा यस्तो छ । पव्लिकमा जाने बेला खुला रुपमा सेयर बिक्री गर्दा धेरै ठाउँमा छरिन्छ । धेरैतिर सेयर बाडिँदा संस्थाको मूख्य जिम्मेवारी कसले लिने ?

राष्ट्र बैंकले संस्थापक सेयर बिक्रीमा कडाइ गरेको छ । पछिल्लो समय संस्थापकको हिस्सा ७० प्रतिशतबाट घटाएर कम्तिमा ५१ प्रतिशत हुनु पर्ने बनाएको छ । अर्थात अलिकति भए पनि संस्थापक कै हिस्सा धेरै हुन्छ । जसले नीति निर्माणमा सहयोग पुर्‍याउँछ ।

सर्वसाधारणमा गएको सेयर १०/१० कित्ता सबैमा छरिएको हुन्छ । यसले नीति बनाउने लगायत काममा कसले नेतृत्व लिने भन्ने द्विविधा हुनसक्छ । सहज होस् भनेर नै दुई समूह आवश्यक देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment