+
+

काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्न नदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १८:०२

१ पुस, काठमाडौं । कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।

छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसम समेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए ।
‘अहिले जाडो मौसम छ, यो समयमा विदा पनि हुन्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्रमा ५० हजारको एन्टीजेन टेष्ट गर्ने भनेको छ । यो बीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन उपयुक्त हुने देखियो ।’

बालबालिकाले स्वास्थ्य मापदण्ड आफैं पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करिब ५० हजारको एन्टिजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिए ।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकाले कोभिड फैलिएको देखिएपनि सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने बताए ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए ।

‘आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उनले भने, ‘यो विचमा हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइरहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौं । अहिले तत्काल चाँहि विद्यालय खोल्न अनुमति दिँदैनाैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?