Comments Add Comment
पुस्तक समीक्षा :

धराबासीका कथा : लिभिङ टुगेदरदेखि पानीको भुटुनसम्म

११ पुस, काठमाडौं । उपन्यास, निबन्ध र कथामा ख्याती कमाएका कृष्ण धराबासी यस वर्ष कथासंग्रह ‘वर्तमान’ लिएर पाठक माझ आएका छन् । केही नयाँ, केही पूर्वप्रकाशित र आफ्नो पहिलो कथासमेत गरेर उनले संग्रहमा १२ थान कथाहरू समावेश गरेका छन् ।

आठ वर्षपछि प्रकाशित उनको यो तेस्रो कथासंग्रहका १२ कथामध्ये ४ वटा नेपाली परिवेशका छन् भने अन्य अमेरिकासँग जोडिएका छन् । तीमध्ये कुनैमा नेपालबाट अमेरिका पुगेकाहरूको विषय छ त कुनैमा अमेरिकी नागरिककै कथावस्तु छ ।

पछिल्ला वर्षहरूमा अमेरिका बसाई बढाएका धराबासीले अमेरिकी नागरिक र आप्रवासी नागरिकहरूको जीवन शैली र मनोविज्ञानको चित्रण गरेका छन् । यसमा पनि अमेरिका जाने नेपालीका विषय बढी आएका छन् ।

कथा संग्रहमा ‘लिभिङ टुगेदर’ शीर्षकको कथा सबैभन्दा लामो (८० पृष्ठ)को छ भने अरू छोटा आकारका छन् । यो लामो कथामा धराबासीले अमेरिकाप्रति नेपालीहरूको अति आशक्ति र त्यसले पारेका समस्याको चित्रण गरेका छन् । अमेरिका जाने बाटो खोल्न डीभी परेको व्यक्तिसंग आफ्नी श्रीमतीको विहे गरी पठाएकोमा त्यहाँ पुगिसकेपछि पात्रहरूको जीवनले लिएको अर्कै मोडले कथा रोमाञ्चक बनेको छ । अमेरिका जान नेपालीहरू कस्तो, कस्तो कृत्य गर्छन् र समाजले त्यस्ता विषय कसरी पचाउँछ भन्ने चित्रण धराबासीले गरेका छन् ।

‘जो प्रेम थिएन’ र ‘मर्नु भन्दा पहिले बाँच्नुपर्छ’ शीर्षकका दुईटा कथा एउटैजस्तो लाग्छ । दुबै कथाका पात्र एउटै छन् । कोरोना भाइरस संक्रमित अमेरिकी नर्सको मनोविज्ञान यस कथामा चित्रण गर्न खोजिएको छ । कोरोना लागेपछि होम आइसोलेसनमा बसेकी नर्सले जीवनप्रतिको आशा गुमाइसकेको अवस्थाको मनोदशा यसमा छ ।

विश्वकै धनी देशमा पनि स्वास्थ्य उपचार प्रणालीमा रहेका कमजोरी, अस्पतालमा राम्रो उपचार नपाएर ज्यान गुमाउनुपरेको अवस्था, दाहसंस्कारसमेत हुन नसकेका जस्ता विषय अघिल्लो कथामा आएको छ । उही लाग्ने पछिल्लो कथामा चाहिँ कोरोना भाइरस ठीक भएपछि जीवनप्रतिको आशा व्यक्त भएको छ ।

यस कथाको पात्रमार्फत कथाकारले सामान्य अमेरिकी महिलाको भोगाइ देखाउन खोजेका छन् । लिभिङ टुगेदरका पार्टनरले विधिवत बिहे गर्न नमानेको, सन्तान जन्माउने चाहना पूरा नगरेको, सन्तान जन्मिएपनि बाबुको माया नपाउने अवस्था बनेको चित्रण यसमा छ ।

धराबासीको कथामा अमेरिकी समाजमा सामान्य मानिने लिभिङ टुगेदर र सम्बन्धविच्छेदले व्यक्तिमा पारेको असर केलाउन खोजिएको छ । कथामा सम्बन्ध नै तोडिन पुगेका व्यक्तिको मनोदशा देखाईएको छ । औपचारिक सम्बन्ध वा सम्बन्धहरू तोडिँदा बुढेसकालमा एक्लै परेको, सम्पत्ति भए पनि मानसिक सुख नपाएको जस्ता विषय उनले कथामा उठाएका छन् ।

सामान्य मनमुटावमा नै डिभोर्स (सम्बन्ध विच्छेद) गरेकाहरूले अर्को पार्टनर नपाउँदा पुरानै पार्टनरको आशा गर्ने तर बिहे गर्न नसक्ने मनोदशा ‘क्रिसिया’ कथामा छ ।

धराबासीले नेपालबाट तेस्रो मुलुक पुनर्बास गएका नेपाली मूलका भुटानी शरणार्थीको मनोदशा पनि देखाएका छन् । उमेरदारहरूले पुनर्बास रोजे पनि वृद्धवृद्वाहरू विरानो देशमा जान नचाहे पनि साहाराविहीन बनेपछि विदेशीन वाध्य बनेको, अरूकोमा आश्रति हुन परेकाहरूको पीडा ‘अनाम तथ्यहरू’ शीर्षकको कथामा अभिव्यक्त छ ।

‘आँखा’ कथामा कथाकारले अपांगता भएका व्यक्तिको मनोदशाको निकै राम्रो चित्रण गरेका छन् । दृष्टिविहीन बालकलाई परिवार र समाजले गर्ने व्यवहार र उसको मानसिक स्थितिलाई कथामा मसिनो गरी केलाइएको छ ।

अपांगता भएका व्यक्तिलाई केही पनि गर्न नसक्ने विचरा पात्र मान्ने, सानो काम पनि सक्दैन भन्ने, अविश्वास गर्ने, उसको भावनामा ठेस पुर्‍याउने गरिएको हाम्रै समाजका घटना धराबासीले टिपेका छन् । अभिभावकको सानो कमजोरी र हेलचेक्र्याइँले दृष्टि गुमाउन पुगेका बालकको भावनामा परिवारकै सदस्य र छिमेकीले पाइला पाइलामा ठेस पुर्याएको स्थिति कथामा छ । संग्रहको बलियो कथामा यो पनि पर्छ ।

ऐतिहासिक पात्र भीमसेन थापाको मृत्युबारे एउटा कथा यस संग्रहमा समावेश छ । शक्तिशाली व्यक्तिको अवशान कतिसम्म दारूण हुन सक्छ भन्ने उल्लेख गरेर कथाकारले आफू शक्तिमा हुँदा देखाउने उन्माद र विरोधीले सत्तामा पुगेपछि बदला लिने नेपाली इतिहासको कुरूप चरित्र उजागर गरेका छन् ।

अर्को कथा ‘पानीको भुटुन’ मा उमेर छँदा पार्टनर फेरि-फेरि समय बिताएका युवक बुढेसकालमा न्यानो सम्बन्धको खोजीमा भौतारिएको चित्रण छ । कथाकारले युवा वयमा अमेरिका पुगेका दक्षिण एसियाली आप्रवासीको माध्यमबाट फरक संस्कृति र भूगोलमा अनुकुलन हुन कति अप्ठेरो पर्छ र त्यसले मानसिक रूपमा कति असर पार्छ भनेर देखाएका छन् ।

‘जिन्दगी संवेदनशून्य मलामीहरूको लस्कर’ शीर्षकको कथामा दक्षिण भारतीय वृद्धको दुखद अवशानको चित्र उतारिएको छ ।
संग्रहमा परेको लेखकको पहिलो कथा ‘गुनासो’मा उनी ‘राष्ट्रवादी’ देखिएका छन् । कथाका पात्र बनाइएका दौरा, सुरूवाल टोपीजस्ता नेपाली पोशाक आफु अवहेलित भएको गुनासो गर्छन् । पञ्चायती व्यवस्थाले पहाडमा प्रचलित पहिरनलाई नेपाली राष्ट्रियताको प्रतीक बनाएको थियो । उनको यो कथा त्यही भावनाको उपज लाग्छ ।

धराबासीले आफ्नो त्यो कथा पनि समावेश गर्ने लोभ किन गरे भन्ने चाहिँ बुझ्न कठिन छ । आफूलाई ‘राष्ट्रवादी’ देखाउन नभएर आफ्नो लेखनको स्तर कहाँबाट कहाँ पुग्यो भन्ने बुझाउन यो कथा समेटेको सामान्य अनुमान गर्न भने सकिन्छ ।

धराबासीले अमेरिकी जनजीवन र संस्कृतिलाई एक आम नेपालीको आँखाबाट हेरेका छन् । उनले धेरैजसनो कथामा भौतिक सुखसुविधा भएपनि मानिसहरूले आत्मिक सन्तुष्टि नपाएको, पारिवारिक स्नेहबाट वञ्चित भएको, सम्बन्धहरू कृत्रिम बनेको जस्ता पक्षहरू उधिनेका छन् । त्यस्तै, जन्मभूमि सम्झदै अमेरिकामा हराएका आप्रवासीहरू र जीवनको खुशी खोज्न पूर्वीय संस्कृतितिर आकषिर्त अमेरिकीहरूको मनोदशा चित्रण गरेका छन् ।

धेरैजसो कथामा धराबासी आफैं पात्र बनेका छन् । अमेरिकी नागरिक र अमेरिकामा रहेका नेपालीहरूले लेखक धराबासीलाई सुनाएका आफ्ना भोगाई र पीडाका अनुभूति नै कथाको रूपमा प्रस्तुत गरिएको छ ।

धराबासीले कथामार्फत अमेरिकाको संस्कृति, जनजीवन र मानवीय सम्बन्धहरूको नकारात्मक पाटो उजागर गरेका छन् । अमेरिका गएर धन-दौलत आर्जन र मानसिक सन्तुष्टि पनि आर्जन गरेका पात्र उनले भेटेका छैनन् । भेटेको भए त्यस्ता कथा उनको अर्को संग्रहमा पक्कै आउलान् ।

पुस्तक : वर्तमान

विधा : कथा -आख्यान)

लेखक : कृष्ण धराबासी

प्रकाशक : पैरवी बुक हाउस

मूल्य : ३९५ रूपैयाँ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment