Comments Add Comment

भारतमा किन विवादित बन्यो कोरोना खोपलाई अनुमतिको निर्णय ?

काठमाडौं । भारतको ड्रग जनरल अफ इन्डिया (डीसीजीआई)ले आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुई कोरोना खोप आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतमा आपतकालीन प्रयोगको अनुमति पाएका दुई खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन हुन् ।

कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । यो खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा उत्पादन गरेको हो ।

कोभ्याक्सिन भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)सँग मिलेर विकास गरेको खोप हो । भारतले दुबै कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएपनि राजनीतिक दल र स्वास्थ्यकर्मीहरुले भने यसमा प्रश्न उठाएका छन् ।

आशंका के छ ?

आइतबार सरकारले दुई कोरोना खोपलाई अनुमति दिएसँगै अन्तिम चरणको नतिजा सार्वजनिक हुनुपूर्व नै कसरी अनुमति दिइयो ? भन्ने आशंका जानकारहरुले गरेका छन् । तेस्रो चरणको परीक्षणमा मानिसहरुमा खोप कत्तिको प्रभावकारी छ भन्ने अनुसन्धान गरिन्छ ।

विश्वभर अहिले तीन कोरोना खोप फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका र मोडर्नाको चर्चा छ । खोपको प्रभावकारिता फरक–फरक छ । अक्सफोर्डको खोप ७० प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । भारतमा भने कोभ्याक्सिनको र कोभिसिल्ड कति प्रतिशत प्रभावकारी छ भन्ने तथ्यांक अझैसम्म पनि सार्वजनिक गरिएको छैन ।

अक्सफोर्ड युनिभर्सिटीको खोप भएकाले केही हदसम्म मानिसहरु कोभिसिल्डप्रति केही विश्वस्त देखिएका छन् । तर, कोभ्याक्सिनमाथि भने धेरैले आशंका व्यक्त गरेका छन् । भारतमा कोभिसिल्ड खोपको अन्तिम चरणको परीक्षण एक हजार ६ सय मानिसहरुमा गरिएको थियो । यो परीक्षणको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन ।

कोभ्याक्सिन खोपको पनि अहिले तेस्रो चरणको परीक्षणको क्रममा छ । यो खोपको पहिलो र दोस्रो चरणमा आठ सय मानिस सहयोगी भएका थिए । तेस्रो चरणमा भने २२ हजार पाँच सय मानिसहरुमा यो खोपको परीक्षण गरिने कम्पनीले बताएको छ । यद्यपि यसको नतिजा भने अझै सार्वजनिक भएको छैन ।

कसले उठाइरहेका छन् प्रश्न ?

कोभ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिएपछि भारतको विपक्षी कांग्रेसका नेता शशि थरुरले ट्वीट गर्दै तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै अभ्ययन नै नगरी अनुमति दिइनु खतरानक हुन सक्ने चेतावनी दिएका छन् ।

परीक्षणको नतिजा नआउँदासम्म सार्वजनिकरुपमा यो खोपको प्रयोग गरिनु नहुने उनको भनाइ छ । अक्सफोर्डको खोपबाट भने अहिले खोप कार्यक्रम सुरु गर्न सकिने उनले बताए । उनको ट्वीटपछि कांग्रेसका केही शीर्ष नेताहरुले पनि सरकारले अनुमति दिएको खोपमा मानिसहरुको स्वास्थ्य सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।

मुम्बईका संक्रामक रोगका शोधकर्ता डाक्टर स्वप्निल पारिख डाक्टरहरु अहिले समस्यामा रहेको बताउँछन् । प्रशासन खोपबारे उत्पन्न हुन सक्ने समस्यालाई पाखा लगाउँदै छिटोभन्दा छिटो खोपलाई अनुमति दिने दौडमा रहेको उनको भनाइ छ । त्यसको मार डाक्टरहरुमा परेको स्वप्निलको भनाइ छ । उनले पारदर्शी नभई दिइएको अनुमतिले मानिसमा खोपप्रतिको विश्वास हट्न सक्ने आशंका व्यक्त गरे ।

विपक्षी र स्वास्थ्यकर्मीहरुले खोपलाई अनुमति दिइएको विषयमा प्रश्न उठाएसँगै भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले यो विषयलाई राजनीतीकरण गरिएको भन्दै आपत्ति जनाएका छन् उनले यो खोपलाई अनुमति दिने समयमा आवश्यक वैज्ञानिक मापदण्ड पालना गरिएको दाबी गरेका छन् । यद्यपि उनले तेस्रो चरणको परीक्षणको नतिजा भने दिएका छैनन् ।

भारत बायोटेक के भन्छ ?

कोभ्याक्सिन खोप विकास गरेको भारत बायोटेकका अध्यक्ष कृष्ण इल्लाले एक विज्ञप्ति जारी गर्दै सबैभन्दा धेरै आवश्यकता भएका मानिसहरुलाई कोरोना खोप उपलब्ध गराउनु रहेको बताएका छन् । कोभ्याक्सिन खोपले सुरक्षाको अद्भूत नतिजा दिएको उनको दाबी छ । कम्पनीले र डीसीजीआईले भने यो खोप प्रभावकारी भएको कुनै नतिजा सार्वजनिक गरेका छैनन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा एक स्रोतले भने यो खोप ६० प्रतिशतभन्दा धेरै प्रभावकारी भएको बताएको छ ।

भारतमा कोरोना खोपलाई राष्ट्रवादको नारा बनाइएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप पनि भारतीय कम्पनीले निर्माण गरेको र कोभ्याक्सिन घरेलु कम्पनीले निर्माण गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसले आत्मनिर्भर भारतको सपनालाई देखाएको बताएका छन् । यद्यपि विशेषज्ञहरुले भने चीन र रुसले जस्तै भारतले पनि तेस्रो चरणको परीक्षण पूरा गर्नुपूर्व खोपलाई अनुमति दिएको भन्दै यो खतरानक हुन सक्ने बताएका छन् । साथै यसले समग्र खोपको विश्वसनीयता नै प्रश्न उठ्न सक्ने उनीहरुको भनाइ छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले भने खोपको अनुमति दिएको विषयमा आशंका गरेको भन्दै विपक्षीहरुलाई भारतीय हुनुमा गर्व नरहेको आरोप लगाएका छन् ।

भारतमा कोरोान खोपलाई अनुमति मिलेसँगै सबैभन्दा पहिला स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीहरुलाई खोप लगाइनेछ । आगामी जुलाईसम्म ३० करोड मानिसलाई कोरोना खोप लगाउने भारतको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment