Comments Add Comment

यात्रा : मजेस्टिक मकालु

यादहरु संगाल, केवल पाइलाका डोबहरु छाडिदेउ ।’ चिफ सिएटल

यात्राले त्यस्ता क्षणहरु भोग्ने मौका दिन्छ, जुन जीवनभर संगालेर राख्न सकियोस् । यात्राका क्रममा देखेका, भोगेका, बुझेका कुराहरुले सधैका लागि रोमाञ्चक अनुभूति संग्रहित गरिदिन्छ । मकालु–बरुण क्षेत्रको यात्रा यस्तै एक रोमाञ्चक र स्मरणिय अनुभव थियो । कहिले गाडी त कहिले पदयात्रा हुँदै लेकाली बाटोहरु छिचोल्दा जीवनको अर्को अध्याय सुरु गरेजस्तै भएको थियो ।

लेकाली गोरेटो छिचोल्दै

यो यात्राको थालनी इटहरी, धरान वा धनकुटाबाट गर्न सकिन्छ । यी प्रस्थान विन्दुबाट नुमसम्म पुग्न केही आरमदायक लाग्न सक्छ । यसकारण कि, त्यहाँसम्म गाडीमा यात्रा गर्न सकिन्छ । नुमबाट ओरालो लागेपछि भेटिन्छ, अरुण नदी । अरुण नदी पार गरेर करिब ७ सय मिटरको उचाईमा पैदल यात्रा सुरु हुन्छ ।

तासी गाउँको आथित्य

लगातारको हिँडाइपछि पुगिन्छ, सेदुवा । सेदुवामा थकित ज्यान बिसाउने र खाना खाने काम हुन्छ । भरपेट खाना खाएपछि हाम्रो यात्रा जारी रहन्छ । र, हामी तासी गाउँ पुग्छौं । यो मनोहर गाउँ २१ सय मिटरको उचाईमा छ ।

यस्तो लाग्छ, तासी गाउँ अतिथि सत्कारका लागि हरदम तयार छ । आफ्ना पाहुनाहरुलाई हार्दिकताका साथ स्वागत गरेर तासी गाउँले मन पगाल्छ । लेकको स्वादिलो खाना र मिजासिलो आतिथ्यले हामीलाई गदगद् बनाउँछ । पर्यटकमैत्री यो गाउँले आवश्यक परेमा पथ–प्रदर्शक र त्यसभन्दा माथिको यात्राका लागि खानपान एवं बसोबासको प्रबन्ध गरिदिने रहेछ ।

हामी तासी गाउँलाई हृदयभरी संगल्दै अगाडि बढ्छौं । दोस्रो दिनको यो यात्रा खोङ्मासम्मको हो । यो बाटो निकै उकालो छ । यद्यपि ढुंगा छापेर कलात्मक बाटो बनाइएको छ । खोङ्मामा पुगेपछि साइली दिदीको भान्सामा पाक्ने मीठो खान्कीले सबै थकान भुलाइदिन्छ ।

रुपवती जलकुण्ड

तेस्रो दिनको यात्रा भने केही विशेष हुन्छ । किनभने बाटोमा मनमोहक दुई जलकुण्ड भेटिन्छ । पहिले सानो पाखेरी अनि अर्को केही ठूलो । ४२ सय मिटरको उचाईमा पानीले टिलपिल पोखरी देख्दा मन नअघाउने । जति हे¥यो, उति हेरिरहुँ लाग्ने । यस्तो रुपवती जलकुण्ड, जसलाई छाड्नै मन लाग्दैन ।

पोखरी र सेप्तेन ला पासलाई छाडेर अगाडि बढेपछि बाटो ओरालो लाग्छ, बरुण नदीलाई भेट्न । त्यसपछि बरुण नदीसँगै तीन घण्टा हिँडेपछि याङ्ले खर्कमा पुगिन्छ । आजको हाम्रो बिसौनी यही हो ।

भोलिपल्ट याङ्ले खर्क बाट भने पवित्र धर्मिक तिर्थ शिवधारा उक्लिन्छौं । धार्मिक विश्वास के छ भने, यहाँ निसन्तानले सन्तानको कामना गरे सो पुरा हुन्छ ।

करिब छ घण्टामा याङ्गले खर्क झरेर सोही दिन लाङ्गमाले (लगभग ४५०० मीटर) सम्मको यात्रा तय हुन्छ । बाटोमा देखिने अद्भुत पहाड र चुचुराहरु ले थकान बिर्साउने मात्र हैन, त्यही चरिरहेका चौरी झै त्यही नै बास बसौं जस्तो हुन्छ । लाङ्गमालेमा बास बसेर बिहानै उठ्दा सुनौला घामका किरणले चुमिरहेका हिमालहरुले आफुलाइ वरिपरि बाट घेरेको हुन्छ ।

मकालुको माया

अन्तिम दिन अर्थात आधार शिविर (४८०० मीटर) पुग्ने दिन । बाटोमा सेता हिम चुचुरा ले स्वागत गरिनै रहन्छन् । बाटोमा पर्ने हिमताल हेर्दै झन्डै ४ घण्टामा पुग्छौं हामी मकालु आधार शिविर, जहाँ हामीलाई अंगाल्न उभिएको मकालु हिमालले हामीलाई परै बाट आत्मियताले स्वागत गर्छ । मकालुको फेदैमा रहेको बरुण नदीको उद्गम ताल र वरपरका साना साना पोखरी अनी भ्यू पोइन्ट बाट देखिने सगरमाथा लगायतका हिमशृंङ्गखलाहरु आधार शिविर का बिशेष आकर्षण हुन । बाटो भरि नै क्यापिङ्गका लागी प्रशस्त चौर तथा खुल्ला स्थान पनि छन् ।

मकाल बरुण क्षेत्रको यात्राले वास्तवमै जीवनभरका लागि सुनौलो अनुभूति संगाल्ने मौका दिन्छ । प्राकृतिक सौन्दर्य अद्भूत छ, खान बस्न होटल सन्चालनमा छन्, बाटो सुबिधाजनक छ, गाउँलेहरु आत्मिय छन्, खर्च सामान्य छ,  पदयात्राका लागि कम्प्लिट प्याकेज हो मकालु बरुण क्षेत्र ।

मकालु हिमाल आधार शिविर  रहेको मकाल बरुण राष्ट्रिय निकुन्ज पूर्वी नेपालको रमणिय जिल्ला संखुवासभा अवस्थित छ । प्रचारप्रसारका अभावले नेपालका अन्य आधार शिविर जस्तो प्रसिद्घ नरहे पनि प्राकृतिक रमणिय छटा र मनोरम दृष्यका लागि कन्जुस्याइ भने गर्दैन मकालु बरुण क्षेत्र । बिगतमा प्राय बिदेशी पर्यटक मात्रा आउने भएता पनि  अहिले आन्तरिक पर्यटक पनि उत्तिकै आउँछन् । अझ यस २०२० सालमा १००० जना भन्दा बढी आन्तरिक पर्यटकले यो क्षेत्र भ्रमण गरिसकेको छन् स्थानियहरु सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment